प्रहरीले छापा मार्नुअघि जनआस्थाले लेखेको थियो पूर्व डिआइजीको बदमासी

प्रहरीले छापा मार्नुअघि जनआस्थाले लेखेको थियो पूर्व डिआइजीको बदमासी
सुन्नुहोस्

प्रहरीले पूर्व प्रहरी डिआइजी छविलाल जोशीको घरमा छापा मारेको छ । जिल्ला प्रहरी कार्यालय कास्कीको अनुरोधमा जिल्ला प्रहरी कार्यालय काठमाडौंले हिजो निजको घर छापा मारेर सहकारीका सबै फाइल, रजिष्टर, कम्प्युटर सफ्टवेयर, हार्डड्राइभ नियन्त्रणमा लिएको जनाइएको छ । 

पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाबाट गैरकानुनी रूपमा ऋण लिएर अपचलन गरेको सम्बन्धमा अनुसन्धान गर्न प्रहरीले जोशीको शंखमूलस्थित घरमा छापा मारेको हो । गोर्खा मिडिया नेटवर्क (ग्यालेक्सी टेलिभिजन ४ के) का संस्थापक जोशी सहकारीको रकम अपचलन गरेर बेपत्ता भएका जीबी राई र रवि लामिछानेका प्रमुख साझेदार हुन् । उनीहरुले अहिलेका राष्ट्रिय स्वतन्त्र पार्टी सभापति रवि लामिछानेलाई अघि सारेर उक्त टेलिभिजन स्थापना गरेका थिए । 

कम्पनी रजिस्ट्रार कार्यालयका अनुसार टेलिभिजनमा ५० प्रतिशत सेयरसहित राई अध्यक्ष, ३५ प्रतिशत सेयर भएका जोशी उपाध्यक्ष र "पसिनाको मूल्य" १५ प्रतिशत सेयर हाल्ने लामिछाने प्रबन्ध निर्देशक थिए । जोशीले ४ करोड २० लाख रुपैयाँको सेयर २०७८ असोज २३ मा राईलाई बिक्री गरेको देखाइएको छ ।

रवि र जिबीसँग आर्थिक लेनदेन गरेका जोशीबारे जनआस्थाले माघ दोस्रो साता जनआस्था साप्ताहिक र अनआस्था डट कममा प्रमाणसहित समाचार प्रकाशित गरेको थियो । ‘रविका पार्टनरको खातामा रातारात १७ करोड,अनि किन चाहियो तलब, केलाई लिन पर्यो भत्ता’ शीर्षकमा प्रकाशित समाचारमा जोशीले कीर्तिपुरको सहकारी दर्शन बचत तथा ऋण सहकारी संस्था लिमिटेडको रकम अपचलन गरेको र रविसँग करोडौं कारोबारको कनेक्सन बारे उल्लेख छ ।

उक्त समाचारमा लेखिएको छ :

रवि लामिछानेले आफ्नो नाममा काटिएको पौने दुई करोडको चेक खातामा जम्मा नभएको जिकिर गरेपछि उक्त लफडा फर्जी भौचर र सम्पत्ति शुद्धीकरणतर्फ मोडिएको छ ।

ग्यालेक्सी टेलिभिजनबाट बाहिरिँदा लिइएको ‘पसिनाको मूल्य’ बापतको रकमउपर औपचारिक कारोबार नभएको दाबी उनले दोहोर्याए पनि कम्पनी रजिष्ट्रार कार्यालयले भने सेयर किनबेच हुँदा अनिवार्य रूपमा बैंकिङ कारोबार गर्नुपर्ने कानुनी व्यवस्था रहेको जनाएको छ ।

तत्कालको समस्या टार्न रविले भनेकै मितिमा पैसा दाखिला नभएको कागज ग्लोबल बैंकले बनाइदिए पनि त्यसपछि त उनी पैसा नलिई बसेनन् होला ! यसो हुँदा आफ्नो खाताको वर्षभरिको विवरण सार्वजनिक गर्ने दायित्व उनकै हो । नगद कारोबार भएको हो भने त्यसबारे बताउने पनि उनले हो । कतै जिबी राईसँग जोडिदिने ग्यालेक्सी टिभीका उपाध्यक्ष छविलाल जोशीको त्यसै अवधिको अकल्पनीय र अस्वाभाविक आम्दानीमा त रविको हिस्सा छैन ? त्यो पनि सोचनीय विषय हुँदै हो । 

चितवन, पोखरा र काठमाडौंको सहकारी संस्थाका करोडौं रूपैयाँ हिनामिनामा उनीलगायतको नाम जोडिँदै आएको छ । तर, लामिछानेले ती आरोपलाई अन्यथा भन्दै पीडितको पक्षमा लागिपर्ने बताउन छाडेका छैनन् । यसबीच ग्यालेक्सी टेलिभिजनका अन्य साझेदार जिबी राई र पूर्वडिआइजी छविलाल जोशीका शंकास्पद कारोबारले रविलाई पनि तान्ने सम्भावना बढाएको छ । 

यही मेसोमा ग्यालेक्सीका साझेदार जोशीमाथि काठमाडौं, कीर्तिपुरको दर्शन बचत तथा ऋण सहकारी संस्था लिमिटेडको रकम अपचलन गरेको आरोप लागेको छ । यहाँको रकम पनि जिबी, रविसँग मिलेर टिभी चलाउँदा ग्यालेक्सीलगायत संस्थामा अधिकतम प्रयोग भएको हुन सक्ने प्रहरीको अनुमान छ । जोशीको पछिल्लो तीन वर्षको अस्वाभाविक र शंकास्पद १७ करोड रकम कारोबारको फेहरिस्त जनआस्थाले जुटाएको छ ।

प्राप्त विवरणअनुसार पछिल्लो समय चर्चामा आएको रवि लामिछानेको एक करोड ८० लाख रूपैयाँ बराबरको सेयर किनबेचको कनेक्सन जोशीको खातामा ट्रान्जेक्सनसँग हुन सक्ने अनुसन्धानमा संलग्न सरकारी अधिकारीहरूको बुझाइ छ । फर्जी कागजात र विवरण जुटाएर ग्यालेक्सीको सेयर किनबेच गरिएको घटनालाई जोशीको व्यक्तिगत बचत खाताबाट भएका करोडौंका शंकास्पद कारोबारसँग भिडाउनुपर्ने विज्ञहरू बताउँछन् । पत्रकार सम्मेलनमा लामिछानेले उक्त रकम आफ्नो बैंक खातामा जम्मा नभएको बताएका थिए । तर, उनले कम्पनी रजिष्ट्रार कार्यालयमा बुझाएको नोटरी प्रमाणित घरायसी तमसुकलाई हेर्दा उक्त कारोबार चेक, बैंक खाताभन्दा नगदमा भएको आशंकालाई बल मिलेको छ ।

अर्कोतर्फ लामिछाने र राईसँग जोडिएका पूर्वडिआइजी छविलालका केही कारोबारले शंका उब्जाइदिएको छ । जोशीको कारोबार अस्वाभाविक रहेको भन्दै यसअघि विनोद चौधरीको नबिल बैंकले राष्ट्र बैंकस्थित वित्तीय जानकारी इकाइलाई जानकारी गराएको थियो । ‘निजको व्यक्तिगत बचत खातामा अस्वाभाविक र शंकास्पद कारोबार देखिएपछि हामीले जानकारी गराएका हौं,’ नबिल स्रोत भन्छ, ‘त्यस्ता कारोबारसँगको कनेक्सन हेर्ने र विश्लेषण गर्ने जिम्मा हाम्रो होइन । सम्पत्ति शुद्धीकरण, एफआईयु र प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको हो ।’
 

टिप्पणीहरू