रेमिट्यान्स पाएर यता दङ्ग, मरुभूमिमा हाड घोटेर फर्कंदा सबै भताभुङ्ग

रेमिट्यान्स पाएर यता दङ्ग, मरुभूमिमा हाड घोटेर फर्कंदा सबै भताभुङ्ग
सुन्नुहोस्

विदेशी मुद्रा आर्जन गर्ने प्रमुख स्रोतको रुपमा वैदेशिक रोजगारीलाई देखाएर वर्षेनी यति रेमिट्यान्स भित्रियो, उति रेमिट्यान्स भित्रियो भनेर गर्व गर्ने कि मुलुकमै बढीभन्दा बढी रोजगारीको अवसर सिर्जना गरी देशको जनशक्तिलाई स्वदेशमै परिचालन गर्ने ? भनिन्छ, मान्छेको पहिलो सुख निरोगी काया, दोस्रो सुख परिवारमा माया र तेस्रो सुख स्वदेशको बास हो ।

नेपाली जनता आफ्नो घरपरिवार छाडेर परदेशमा अर्काको सेवा गर्न जान सँधै बाध्य भइरहनुपर्ने रु मुलुकमा तीन–तीन वटा सरकार भएरपनि जनताले स्वदेशमै बसेर इलम गरी सुखको सास फेर्न कहिल्यै नपाउने भए कठै !

 
चुनावताका सबै–सबै राजनीतिक दल तथा नेताहरुको प्रमुख एजेन्डा बन्छ– वैदेशिक रोजगारीको अन्त्य । रवि लामिछानेले पनि ‘अब कोही नेपाली श्रम गर्न विदेश जानुपर्दैन’ भनी चुनावको बेला निकै फलाकेका थिए । गफाडीको गफै भयो । कोभिडको समयमा केही घटेको भएपनि वैदेशिक रोजगारीमा जानेहरुको आँकडा पछिल्लो समय फेरि दिनप्रतिदिन बढ्दो नै छ ।

अघिल्ला ६ महिनामा सात खर्ब ३३ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको समाचार आयो । तर विप्रेषणको नाममा हामीलाई रमाउन आवश्यक छैन । वैदेशिक रोजगारीको कारण पैसा मात्र आएको छैन, नेपालीको घर–घरमा विकराल समस्या बढ्दो छ ।

वर्षेनी लाखौं युवा रोजगारीका लागि विदेशिने गरेका छन्, तीमध्ये कैयौंको लास आउँछ बाकसमा । जोखिमपूर्ण श्रम गर्दागर्दै अंगभंग भएर फर्किन्छन् कति । वैदेशिक रोजगारीको क्रममा गत आवमा मात्रै एक हजार ६२ जना नेपालीको ज्यान गएको र ३३५ जना अंगभंग भएर फर्किएको सरकारी तथ्यांक छ ।

कोही सम्पर्कविहीन हुन पुग्छन्, कोही विदेशकै जेलमा सडेका पनि छन् । यहाँबाट भनिएको काम र तलब नपाएपछि कतिपयले विदेशमै आत्महत्या समेत गरेका छन् । विदेशमा हुने शारीरिक, मानसिक तथा यौन शोषणको कथा त झन् बेग्लै छ । वैदेशिक रोजगारीमा जानेहरुको पारिवारिक सम्बन्ध यता डाँवाडोल भइरहेछ । श्रीमान् विदेशिएकाहरुको श्रीमती परपुरुषसित लाग्ने, श्रीमती विदेशिएका छन् भने श्रीमान् पनि अरु महिलासितै लहसिने गरेका घटना कति छन् कति १ 

श्रीमान् विदेशिएपछि एक्लोपनले सताएर डिप्रेसन तथा मानसिक रोगको शिकार भएका महिला ठाउँ–ठाउँमा भेटिन्छन् । अभिभावकत्व राम्रो नभएपछि छोराछोरी पनि बिग्रने नै भए । भरतपुर–२५ की राधा खाती परियारले श्रीमान् विदेशिएपछि आफू डिप्रेसनमा पुगेको बताइन् । उनका श्रीमान् दुई लाख रुपैयाँ ऋण गरेर खाडी मुलुक गएका थिए । एजेन्टले एउटा काम भनेको थियो, अर्के काम पर्यो । विदेशमा जोखिमपूर्ण काम गर्दागर्दै प्रेसरले हानेर उनका पति एकहर नचल्ने भएर फर्किए । भरतपुर–१७ की चन्द्रमाया दुरालाई पनि श्रीमान् विदेशिएपछि मानसिक रोगले झण्डै सिध्याएन । 

वैदेशिक रोजगारीको नाममा ठगी उस्तै व्यापक छ । चितवनमा एकजना पत्रकार नै यस्तो ठगीधन्दामा लागेको पाइएको छ, यो मामिला सिडिओ कार्यालयमै पुगेको बुझिन्छ । चितवनमा गत वर्ष वैदेशिक रोजगारीको नाममा भएको १३६ वटा ठगीको मुद्दा आएकोमा ६६ प्रतिशत विदेश पठाइदिन्छु भन्दै रकम असुलिएकै मामिला थियो । 

साँच्चै नेपालमा वैदेशिक रोजगारीको स्थिति अत्यन्त भयावह छ । पछिल्लो छ महिनाको अवधिमा चितवनबाट १४ हजार ९७ जनाले पासपोर्ट बनाएको तथ्यांक छ । गत वर्षमात्रै चितवनबाट १५ हजार हाराहारीमा श्रम स्वीकृति लिइएको थियो । नेपालबाट वैदेशिक रोजगारीमा जानेहरु सबैभन्दा बढी धनुषाका छन् । त्यसपछि चितवनबाटै हो धेरै मान्छे विदेशिएको ।

चितवनको पनि धेरै त भरतपुरबाट वैदेशिक रोजगारीमा गएका छन् । भरतपुरमा ९६ हजार घरधुरी रहेको बताइन्छ, जसमध्ये ३३ हजार घरधुरीका मानिस विदेशमा रगत–पसिना बगाउँदैछन् । रोजगारी सिर्जना भन्दा पनि हाम्रा स्थानीय सरकारहरुको बढी ध्यान बाटोघाटो तथा भौतिक प्रगतिमा केन्द्रित देखिन्छ । बच्चा भुलाउन सानो ललीपप दिएजस्तो जनता भुलाउन ल्याइएको सय दिनको प्रधानमन्त्री रोजगार कार्यक्रमको त झन् औचित्य नै भएन । 

नेपालबाट श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा जानेको संख्या ७१ लाख नाघिसकेको छ । त्योबाहेक श्रम स्वीकृति नलिई, अवैध बाटोबाट जानेहरु पनि थुप्रै छन् । हाल दैनिक सरदर २२ सय नेपाली वैदेशिक रोजगारीमा गइरहेको तथ्यांक छ ।

दिनदिनै विदेशिनेको लर्काले एयरपोर्ट भरिभराउ भइरहँदा यता गाउँघर खालि छ । जग्गा जमिन बाँझो छ । देशमा काम गर्ने जनशक्ति नै बाहिरिएपछि कृषि उत्पादन समेत विदेशबाट आयात गरेर खानु परिरहेको अत्यन्त नाजुक अवस्था छ । अध्ययनका लागि जानेहरुबाट एक महिनामै पौने ११ अर्ब रुपैयाँ बाहिरिएको पनि हामी पाउँछौं । 

 

टिप्पणीहरू