कतिसम्म डरलाग्दो छ नेपालमा भित्रभित्रै कारोबार
बिचौलियाको रूपमा प्रख्यात दिपक भट्ट र शंकर अग्रवालले विभिन्न कम्पनीमा गरिएको अवैध लगानीको स्रोत लुकाउन तीन तहमा फरक कारोबार गरेको विवरण फेला परेको छ । ती रकम भट्टले सोझै नलिएर बीचमा कम्पनीको खातामा जम्मा गरी हिमालयन रि–इन्स्योरेन्स कम्पनी, नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी र गार्जियन माइक्रो लाइफ इन्स्योरेन्समा लगानी गरेका हुन् । शंकरले त्यति धेरै रकम जगदम्बा स्टिल्स कम्पनीको उद्योग प्रयोजनार्थ हिमालयन बैंकबाट लिइएको ओभरड्राफ्ट कर्जा सुविधाको चल्ती खाताबाट ट्रान्सफर गरेको र त्यसमध्ये अढाई करोड आफ्नो व्यक्तिगत खाताबाट दिएको देखिन्छ ।
राष्ट्र बैंकको निर्देशनअनुसार व्यावसायिक कम्पनीको व्यवसाय विस्तारका नाममा स्वीकृत ओभरड्राफ्ट खाताबाट व्यक्तिलाई सापटी वा कर्जा दिन पाइँदैन । तर, शंकर र भट्टबाट उक्त नियमको ठाडै उल्लंघन भएको पाइएकोे छ । प्रधानमन्त्री कार्यालय मातहत रहेको कारण सम्पत्ति शुद्धीकरण विभागले भट्ट र अग्रवालको शंकास्पद कारोबारमाथि डेढ वर्षदेखि चुइँक्क बोलेको छैन । भलै हिमालयन बैंक र तत्कालीन कुमारी बैंक स्रोतले उनीहरूको शंकास्पद कारोबारबारे राष्ट्र बैंकलाई बेलैमा जानकारी गराइएको दाबी गरेका छन् । इन्फिनिटी होल्डिङ्स प्रालिका मालिक दिपकले जगदम्बा स्टिल्स कम्पनीका मालिक अग्रवालको ओभरड्राफ्ट खाताबाट गरेको ६७ करोड ५० लाख रूपैयाँको स्रोत र कारोबार स्वतः शंकास्पद देखिन्छ । प्राप्त विवरणअनुसार शंकरले हिमालयन बैंकस्थित चल्ती खाताबाट दुई पटक गरी ११ करोड ५० लाख रूपैयाँ दिएका छन् । त्यस्तै कुमारी बैंकस्थित व्यक्तिगत नागरिक बचत खाताबाट अग्रवालले २ करोड ५० लाख रूपैयाँ रकमान्तर गरेपछि भट्टले ती रकम क्रमशः नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी र गार्जियन माइक्रो लाइफ इन्स्योरेन्स कम्पनीमा लगानी गरेको कागजात छ । त्यस्तै ४५ करोड रूपैयाँ जगदम्बा स्टिल्सको चल्ती खाताबाट सोझै दिपक भट्टलाई दिइएको छ । यसक्रममा भट्टले ४५ करोड पहिले आफ्नो स्वामित्वको इन्फिनिटी होल्डिङ्सको खातामा ट्रान्सफर गराएका थिए । सोही खाताको उक्त रकम इन्फिनिटीको तर्फबाट हिमालय रिइन्स्योरेन्स कम्पनीमा संस्थापक सेयर लगानीकर्ताको आवरणमा प्रयोग गरेको पाइएको छ ।
यसरी ६७ करोड ५० लाखको कारोबार विभिन्न तहमा रकमान्तर गर्नु र रहस्यमय तरिकाले एउटै दिन फिर्ता गर्नुको कारणबारे सहजै अनुमान लगाउन सकिन्छ । पहिलो ओभरड्राफ्ट कर्जाको दुरूपयोग, दोस्रो आफ्नो लगानीको स्रोत अग्रवालसँग लिएको सापटी देखाउनु र पछि सोही रकम अग्रवालले ग्रीन नेपाल डेभलपर्सको सेयर खरिदबाट लिएको देखाएर कर छल्नु हो । अग्रवालले भट्टलाई ६७ करोड ५० लाख दिनुपर्ने औचित्य र कारण के हो ? उक्त रकमको वास्तविक धनी (अन्तिम हिताधिकारी) को ? भन्नेबारे सरकारी निकायले छानबिन गर्न आवश्यक ठानेको छैन ।
जगदम्बा स्टिल्स कम्पनीलाई हिमालयन बैंकले १ अर्ब २६ करोड रूपैयाँको ओभरड्राफ्ट कर्जा स्वीकृत गरेको थियो । त्यसमध्ये भट्टलाई २० करोड दिनुअघि कम्पनीको उक्त खाताबाट १८ करोड ८१ लाख रूपैयाँ मात्र उद्योगले कानुनीरूपमा उपभोग गरेको देखिन्छ । यसरी चल्ती खाताबाट सोझै अन्य कम्पनीमा लगानी गर्न दिइएको २० करोड रूपैयाँ बैंकिङ कसुरमा किन परेन ? केन्द्रीय बैंकको सुपरिवेक्षण विभाग र त्यहाँ रहेको वित्तीय जानकारी इकाइले हालसम्म त्यसबारे केही नबोल्दा त्यतैका पदाधिकारीको संलग्नताबारे समेत शंका गर्नुपर्ने हुन आउँछ ।
अग्रवालले कुमारी बैंकको खाताबाट भट्टलाई दिएको २ करोड ५० लाख र हिमालयन बैंकको २० करोड रूपैयाँ सम्पत्ति शुद्धीकरणमा पर्ने भएपछि दिपकको एकल स्वामित्वमा रहेको ‘हरितन्नम कम्पनी’ ग्रीन नेपाल डेभलपर्सको २९ हजार थान कित्ता सेयर खरिदको नक्कली कारोबार बनाइएको जनआस्थाको खोजबाट देखिन आएको छ । सेयर खरिदवापतको रकम भन्दै प्रतिकित्ता ८ हजार ५८६ रूपैयाँका दरले २० करोड भट्टले अग्रवाललाई फिर्ता गरेको देखाइएको छ । ग्रीन नेपालको बैंक स्टेटमेन्टअनुसार भट्टले २०२३ मार्च १४ का दिन तीन वटा चेक ००२३१३०६१२, १३ र १४ नम्बरबाट ९ करोड, साढे ७ करोड र साढे ३ करोड रूपैयाँ फिर्ता गरेका छन् । जबकि उक्त रकम उनले सोही दिन जगदम्बा स्टिल्सको हिमालयन बैंकस्थित चेक नम्बर क्रमशः ३५१६१६०२, ३ र ४ बाट ८ करोड ५० लाख, ८ करोड र ३ करोड ५० लाख गरेर जम्मा गरिदिएका थिए ।
स्थापनाको तीन वर्षसम्म कुनै कारोबार नभएको, पछिल्लो दुई वर्ष आम्दानीभन्दा खर्च १९ लाख बढी देखिएको उक्त डेभलपर्सको सेयर प्रतिकित्ता रु. साढे ८ हजारभन्दा बढीमा शंकरलाल अग्रवालले २४ करोड ८९ लाख ९४ हजारमा साँच्चै मन कमलो भएरै किनेका होलान् त ! त्यस्तो झोले कम्पनी व्यापारी मानसिकताका मारवाडीले त्यति महँगोमा किन लिए होलान् ? भट्टको उक्त कम्पनीको सेयर संख्या १ लाख र चुक्ता पुँजी जम्मा १ करोड रहेको कम्पनी रजिष्ट्रार कार्यालयको अभिलेखमा छ । तर सेयर किनबेचको नोटरी कागजातमा भने सेयर संख्या फरक छ । २९ हजार कित्ता भनिएको सेयर संख्यालाई वकिलले प्रमाणित गर्ने क्रममा अर्को ठाउँ ३६ हजार ८७५ थान उल्लेख गरेका छन् । यसबाट सेयर किनबेचको घरायसी कागज नै फर्जी रहेको ठोकुवा गर्न सकिन्छ । यस्तो कागजात अधिवक्ता टेकप्रसाद सुवेदीले प्रमाणित गरिदिएका थिए । प्रमाणपत्र नम्बर २४१५ र मोबाइल नम्बर ९८५१०२९६०६ भएका सुवेदीले गत फागुन ३० गते दिपकलाई शंकास्पद नोटरी गरेर गुन लगाइदिएका हुन् । उक्त घरायसी कागजमा सेयर खरिदकर्ता अग्रवालको हस्ताक्षर छैन भने पुँजीगत लाभकरवापत साढे २ करोड रूपैयाँ पनि भट्टले सरकारलाई हालसम्म बुझाएको देखिँदैन । उनले सरकारी निकायमा पेश गरेको शेयर बिक्रीको लिखतसमेत अपुरो छ । रकम उल्लेख नगरिएको लिखतलाई वकिल सुवेदीले बकाइदा प्रमाणित गरिदिनुले पनि भट्ट र अग्रवालबीचको कारोबार शंकास्पद मात्रै होइन, दुई नम्बरी नै भन्ने प्रमाणित हुन्छ ।
एकै दिन पैसा लिएका र फिर्ता गरेको २० करोडको उद्देश्यवारे राष्ट्र बैंकको वित्तीय जानकारी इकाइ, सम्पत्ति शुद्धीकरण र प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले आवश्यक र गहिरो अनुसन्धान गरेका छैनन् । सोही दिन अग्रवालको कुमारी बैंकस्थित २ करोड ५० लाखको चेक भट्टले आफ्नो खातामा जम्मा गरेको सबै विवरण जनआस्थासँग सुरक्षित छ ।
विवादास्पद तवरबाट लाइसेन्स हत्याइएको हिमालयन रिइन्स्योरेन्समा भट्टको एकल स्वामित्वको इन्फिनिटी होल्डिङ्सको ४५ करोड रूपैयाँको स्रोत पनि उनै अग्रवाललाई देखाइएको छ । अग्रवालले दिनुपर्ने र भट्टले लिनुपर्ने कुनै कारण नभएको उक्त रकमको स्रोतबारे आजसम्म राष्ट्र बैंकस्थित वित्तीय जानकारी इकाइ र सम्पत्ति शुद्धीकरण विभागले गहिरो अनुसन्धान नगर्नु आफैंमा घोर आश्चर्यको विषय हो । अर्थ मन्त्रालयका एक सहसचिव भन्छन्, ‘भट्टको शंकास्पद लगानी साढे ६७ करोडको फिट एण्ड प्रपर टेष्ट हालसम्म भएको छैन । त्यसैगरी नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी र गार्जियन माइक्रो लाइफ इन्स्योरेन्समा हालिएको २२ करोड ५० लाख रूपैयाँको स्रोत पनि उनै अग्रवाल देखिनुले आशंकालाई झन् गहिरो बनाइदिएको हो । एउटा मारवाडी व्यवसायीले अर्को बिचौलियालाई विभिन्न तह, व्यक्ति र संस्थाको नाममा रकमान्तर गर्दै करोडौं रूपैयाँ दिनुको तात्पर्य सकारात्मक हुनै सक्दैन ।’
टिप्पणीहरू