विदेशमाेहबाट बर्बाद भएकाहरू

विदेशमाेहबाट बर्बाद भएकाहरू
सुन्नुहोस्

विदेशमा जसरी अहोरात्र श्रममा खटिने र कडा मेहनत गर्ने हो भने नेपालमै सुन फलाउन सकिन्छ भन्नेहरु पनि छन् । तरपनि नेपालीहरुमा विदेशमोह दिनदिनै बढ्दो छ । नेपालमा रोजगारीको अवसर नपाएको, आर्थिक भविष्य सुरक्षित र सुनिश्चित नभएको भन्दै वैदेशिक रोजगारीमा हामफाल्नेहरु सबैले सुख भने पाएका छैनन् । कति विदेशमा त कति यहीँ पनि वैदेशिक रोजगारीको तानाले निकै अप्ठेराे अवस्थामा मा छन् । 

छ वर्षअघि साउदी अरब गएका भरतपुर–१६ का ३६ वर्षीय रामबहादुर सार्कीलाई कम्पनीले बन्धक बनाएर घर आउनै नदिएको बताइन्छ । उद्धारको आशामा यता उनको परिवारले जिल्ला प्रशासन कार्यालय अन्तर्गत रहेको सुरक्षित आप्रवासनको कार्यालयमा आएर हारगुहार गरेका छन् । ‘घाम देख्नै पाउँदैन रे विचरा त्यो मान्छेले !’ सुरक्षित आप्रवासन कार्यक्रमका एक कर्मचारीले हामीलाई बताए । भरतपुर–१५ की विनिता दर्जी परियारलाई पनि ओमानमा मान्छे सप्लाई गर्ने अफिसले बन्धकझैं बनाएर घर फर्किन नदिएको केस छ । 

रत्ननगर–१३ का दिनेश विक साउदी अरबमा फसेका छन् । अरु साथीहरु कम्पनीबाट भागेपछि त्यहाँ उनलाई ठूलै जरिवानापछि बन्धक बनाएर राखिएको स्रोतले जनाएको छ । रत्ननगरकै हरिप्रसाद शर्मा मलेसियामा सम्पर्कविहीन छन् । सन् २०१२ मा मलेसिया गएका शर्माबारे मलेसियास्थित नेपाली दूतावासले पनि केही जानकारी पाउन नसकेको बताइएको छ । यसैगरी रत्ननगरकै विकास चौधरी पनि मलेसियामा बेपत्ता भएको सुरक्षित आप्रवासन कार्यक्रमले जनाएको छ । बताइएअनुसार भरतपुर–५ का कुलबहादुर कुँवर रूसको हस्पिटलमा छन्, गोली लागेर घाइते अवस्थामा । दुबइमा काम गर्न गएका उनी उतैबाट रसिया छिरेका थिए, सेनामा भर्ती भएर युद्धको शिकार भए । यता चितवनबाट काम गर्न भनेर गएका कोहीकोही त दुबइमै पनि बेपत्ता रहेको बुझिन्छ । भरतपुर–२७ का सुनिल मर्दनिया र भरतपुर–२५ का दिपक महतो साउदीमा जेलजीवन बिताउँदैछन् । 

कुवेतमा घरेलु कामदारको रुपमा गएकी मनहरीकी २४ वर्षीय अन्जना घलान त्यहाँ पुगेर हिंसाको शिकार भएकी थिइन् । उनले त्यहाँ कडा शारीरिक मानसिक यातना भोग्नुपरेको यता परिवारले बताएपछि एजेन्टसँग सम्पर्क गरियो । मानव बेचविखन अनुसन्धान ब्युरो र वैदेशिक रोजगार विभागमा केस पुर्‍याइयो अनि कुवेतस्थित दूतावासमा जानकारी गराएर बल्लतल्ल नेपाल झिकाइएको सुरक्षित आप्रवासन कार्यालयले जनाएको छ । कालिका नगरपालिकाका विक्रम स्याङतान पनि साउदी अरबमा भनेको काम र तलब राम्रो नपाएर मर्नु न बाँच्नुको हालतमा अलपत्र परेका थिए । बल्लतल्ल उद्धार गरी स्याङतानलाई पनि नेपाल झिकाइएको कार्यालयले बताएको छ । 

वैदेशिक रोजगारीमा गएका भरतपुरका एकजना मानसिक सन्तुलन गुमाएर अनि मुटुको रोग लिएर नेपाल फर्किएको पनि सुरक्षित आप्रवासन कार्यालयले जनायो । वैदेशिक रोजगारीकै तानाले यता नेपालमा रहेका परिवारजन पनि मानसिक समस्याबाट गुज्रने गरेको पाइन्छ । दुईलाख रुपैयाँ ऋण खोजेर श्रम गर्न खाडीमुलुक पुगेका श्रीमानले त्यहाँ एजेन्टले भनेको काम पाएनन्, जोखिमपूर्ण श्रम गर्दागर्दै आफ्ना पति एकहर नचल्ने भएर फर्किएको भरतपुर–२५ की राधा खाती परियार बताउँछिन् । यता आफूसमेत डिप्रेसनको औषधि खानुपर्ने अवस्थामा पुगेको उनले सुनाइन् । कतिपय महिलाहरु श्रीमान् विदेशिएपछि एक्लोपनको व्यथाले नै डिप्रेसनको शिकार भइरहेको पाइन्छ । भरतपुर–१७ की चन्द्रमाया दुरालाई पनि श्रीमान विदेशिएपछि मानसिक रोगले झण्डै सिध्याएन । 

भरतपुर–२५ की एउटी महिला छ वर्षदेखि इराकमा अलपत्र छिन्, उनलाई नेपाल झिकाउन गाह्रो भइरहेको जनाइएको छ । ‘इराक त झन् राज्यले प्रतिबन्ध लगाएको ठाउँ हो’, सुरक्षित आप्रवासन कार्यक्रम चितवनका प्रमुख सूर्यप्रसाद पौडेलले भने, ‘श्रम मन्त्रालयको इराकसँग सम्बन्ध नै हुँदैन ।’

यता विदेश नजाँदै ठगिनेहरुको बिजोग छुट्टै छ । विदेश पठाइदिन्छु भनेर एकजना पत्रकारले नै लाखौं रुपैयाँ ठगेको उजुरी छ चितवनमा । उनले पोर्चुगल पठाइदिन्छु भनी केही वर्षअघि चारलाख रुपैयाँ लिएको तर विदेश पनि नपठाएको र अहिलेसम्म पूरा पैसा पनि फिर्ता नगरेको पीडितले बताएका छन् । 

गैंडाकोट–१६ का बसन्तराज अधिकारीले पनि कैयौंलाई पोर्चुगल पठाइदिन्छु भन्दै ठगेको उजुरी छ । भरतपुर, बसेनीका दलबहादुर बस्नेतले माल्टा, रोमानिया पठाइदिन्छु भनी प्रतिव्यक्ति ४, ५ लाखका दरले ३५ जना भन्दा बढीलाई ठगेको केस छ । उनीविरुद्ध पक्राउ पुर्जी जारी भइसकेको छ तर फरार छन् । 

चितवनमा विनादर्ता सञ्चालित कमलामाई एजुकेसन कन्सल्टेन्सीले पनि थुप्रै सर्वसाधारणको लाखौं रुपैयाँ ठगेको पाइएको छ । आरबी ओभरसिजविरुद्ध पनि मुद्दा छ । सुरक्षित आप्रवासन (सामी) कार्यक्रममा खटिएका कर्मचारीका अनुसार चितवनमा मात्रै साउनयता वैदेशिक रोजगारी अन्तर्गत भएका ठगी, मृत्यु, बिरामी, अंगभंग लगायत उद्धारका १८० भन्दा बढी केस कार्यालयमा आइसकेको छ । 

टिप्पणीहरू