छोराछोरीको कसम ख्वाएर किन गर्छौ छलछाम ?

छोराछोरीको कसम ख्वाएर किन गर्छौ छलछाम ?

झोलुंगे पुलको उद्घाटन गर्नसमेत मन्त्री आफै कस्सिएपछि अरु केही भन्नुपर्छ जस्तो लाग्दैन । हेलिकप्टर चढ्ने मोहले हो कि प्रचारमोहले हो कि अथवा सिकन्दर ठान्ने रोगले हो यस्तो गर्ने ? मनोवैज्ञानिकहरू के भन्छन् यस्तै रवैयालाई कुन्नि ! स्रोत, साधन र शक्तिको चरम दुरूपयोग यसरी गर्छन् ।

मबाहेक अरु केही होइनन् भन्ने मानसिकताको एउटा सानो तर डरलाग्दो उदाहरण हो यो । अहिले देशको बेरोजगारी पाँच प्रतिशतभन्दा केही माथि छ । मध्यपूर्वमा श्रम बजार राम्रै भएको कारण देशको सबैभन्दा धेरै संभावनायुक्त वयस्क शक्ति त्यतातिर गएको छ । विदेशको श्रम बजारले गर्दा यहाँ बेरोजगारीको समस्या खासै केही होइनजस्तो देखिन्छ ।

सत्ताधारीहरू यसलाई राम्रो ठानेर हातमा दही राखी, कानमा ठेट्नो घुसारेर र आँखामा पट्टी बाँधेर मस्त सुतेका छन् । तर, यिनीहरूलाई जानकारी दिनुपर्ने कुरा के छ भने यो भनेको पिसावको न्यानोजस्तै हो । बेरोजगारीले युवाको भविष्य मात्रै बिगार्ने होइन कि यो समस्या राष्ट्रिय सुरक्षाको नजरले धेरै ठूलो खतरा हो । युवा बेरोजगार रहेर बाँच्नुभन्दा बरु रुस र युक्रेनतिर जान उत्तम ठान्दारहेछन् भन्ने उदाहरण त देखिसकियो नि !

सत्ताधारीले आफ्नो जीवनको बाँकी समय त यसरी मस्त भएर बिताउलान् । तर, यस्तो रवैयाले देश अराजकताको बाटोमा जाने र भावी पुस्ताले दुःख पाउनेछन् भन्ने विषयमा सोचेको पाइन्न । एउटा पिँढीको पाखण्ड दोस्रो पिँढीको निम्ति परम्परा बन्छ भनेजस्तो हाम्रो अहिलेको दोस्रोदेखि तलको पुस्ताले अघिल्लो पुस्ताको यो पाखण्डलाई आत्मसात् गरिरहेको देखिन्छ । राजनीति आफ्नो जीवनकालसम्मका लागि मात्रै हो र ? यो भावी पुस्ताको निम्ति पनि त होला नि ? तर, यस्तो कुरा बुझे पो !

राजनीतिमा धर्म र अन्धविश्वासलाई घुसाउनु धेरै खतरनाक कुरा हो । रास्वपाका अध्यक्षले आगामी चुनावमा आफूलाई भोट दिन भन्दै जनतालाई छोराछोरीको कसम ख्वाइरहेका थिए । योभन्दा अनैतिक र लज्जास्पद कुरा अरु के हुन सक्छ राजनीतिमा ? प्रतिपक्षमा भएको दलले आफ्नो भूमिका निर्वाह गरेर जनताको मन जिती भोट माग्ने कि जनताको भावनामा खेलेर भोट माग्ने ! यो त निर्लज्जता पनि हो । ओली कमरेडले चलाएको ठोरी बहस र रामको मूर्ति यात्रा पनि भोट पाउने नियतको थियो भन्ने कुरामा दुईमत छैन ।

प्रचण्डको गेरुवस्त्र धारण सत्ता बचाउने नियतबाट उत्सर्जित छ । राजनीतिमा धर्मले प्रवेश पायो भने देशको के दुर्गति हुन्छ भनेर कसैले कल्पनासम्म गरेको देखिन्न । धार्मिक राजनीतिले लोकतन्त्रलाई कसरी कमजोर पार्दै जान्छ र अन्ततः देश कसरी फासीवादतिर जान सक्छ भन्ने उदाहरण छिमेकतिर हेरे थाहा हुन्छ । आजको मुद्दा के हो यसतर्फ ध्यान नदिने तर चुनाव जित्न, सत्तामा पुग्न अथवा सत्तामा टिकिरहन यस्तो राजनीति कम्तीमा पनि सेक्युलर हुँ भन्नेहरूले गर्नुहुँदैन । आफ्नो जीवनकालभन्दा परको समय र देशको अवस्था खै कल्पना गरेको ? देश बनाउने भिजन खै ? के इतिहास यस्तै गरेर बन्छ ?

देशलाई अघि बढाउन, राम्रो बनाउन, जनताले भोग्नुपरिरहेका समस्याको समाधान निकाल्न नसकिने होइन, सकिन्छ । तर, यसको निम्ति स्पष्टता चाहिन्छ । यस्तो स्पष्टता सत्ताधारीमा देखिन्न । सत्ताधारी केवल अर्थसंकलनमा केन्द्रित छन् । पैसा कमाउने, कमाएको पैसा खर्च गर्ने, चुनाव जित्ने र जितेर फेरि पैसा कमाउने अर्थात् चुनावदेखि चुनावसम्म बाहेक अरु परको सोँच देखिन्न । यस्तो भएपछि देश पछि पर्नु स्वाभाविक हो । राज्यले देशैभरि भ्रष्टाचार गर्ने, जनतालाई लुट्ने अड्डाहरू चलाइरहेको छ ।

जस्तोः मालपोत कार्यालयमा कुनै जग्गा रोक्का÷फुकुवा गर्न बिचौलियाले थोरैमा पाँच हजार लिन्छन् । आफ्नो राज्यसँग बिचौलिया नराखी सिधा काम गर्ने अधिकार जनतालाई छैन । मालपोतमा मात्रै होइन अन्यत्र पनि यस्तै छ। । सरकारलाई बुझाउनुपर्ने राजस्व अलग्गै छ । यो लुट हो कि होइन ? भ्रष्टाचार हो कि होइन ? यो दैनिक र हाकाहाकी हुने लुट हो । यसरी सुशासनको धज्जी उडेको छ देशमा । यस्तो कुशासनको जिम्मेवार को हो त भन्दा यही सत्ता हो । देशभरिमा यसरी दैनिक कति लुट हुन्छ भनेर हिसाब निकाल्ने हो भने कहालिलाग्दो आँकडा निस्किन्छ । यो लुटको हिस्सा ती अड्डाका हाकिमहरूबाहेक अन्यत्र नपुगेको होला भनेर मान्न सकिन्न ।

भ्रष्टाचार नगरी, जनतालाई नलुटी देश चलाउन सकिन्न र ? मीटरब्याजबाट पीडितको हृदयविदारक पैदलयात्रा संसारले देखे, थाहा पाए । तर यो सत्ताले देखेन र थाहा पाएन । यस्तो पनि हुन हुन्छ ? यो देश तिनको होइन ? तिनले न्याय पाउनुपर्ने होइन ? यहाँ रोजगारीको सम्भावना नभएको होइन, छ । बाटो, पुल, नहर बनाउन नसकिने होइन, सकिन्छ । भ्रष्टाचार रोक्न नसकिने होइन, सकिन्छ । सुशासन दिन नसकिने होइन, सकिन्छ । उद्योग, कलकारखाना खोल्न वा चलाउन नसकिने होइन, सकिन्छ ।

कृषि उत्पादन बढाउन नसकिने होइन, सकिन्छ । तर, यो किन हुन सकेको छैन त भन्दा सत्ताधारीले आफ्नो जीवनकालभन्दा परको राजनीतिलाई हेरेका छैनन् । देशको भविष्यप्रति उनीहरूमा चिन्ता देखिन्न । समस्या यहीँ हो । अझै पनि ढिलो भएको छैन । हिन्दीमा एउटा भनाइ छ, ‘जब जागा तब सबेरा’। कुरा बुझे आफैँलाई हो ।
 

टिप्पणीहरू