अमेरिकी पूर्व महिला राजदूतहरुको एक महिना सम्झना
काठमाडौंस्थित अमेरिकी राजदूतावासले आजदेखि शुरु भएको मार्च महिनाभर यसअघि यहाँ राजदूतको भूमिका पूरा गरेका महिलाहरुको सम्मानमा बिशेष कार्यक्रम राखेको छ । ‘महिला स्मरण महिना’ को रुपमा ती राजदूतहरुको नेतृत्व र सेवाप्रति आभार व्यक्त गर्दै दूतावासले अरु महिलाहरुको लागि प्रेरणादायी उदाहरण अघि सारेको जनाएको छ ।
दूतावासले भनेको छ, ‘उहाँहरुको नेतृत्व र सेवाप्रति हामी आभारी छौं । उहाँहरु अरु महिलाहरुका लागि पनि प्रेरणादायी उदाहरण हुनुहुन्छ । साथै, यो महिना हाम्रो आफ्नै जीवनका प्रेरक अनगिन्ती महिलाहरुलाई सम्मान गर्ने अवसर पनि हो । जसको योगदानले हामीलाई र हाम्रो वरपरको संसारलाई आकार दिन मद्दत गर्दछ ।’
सन् १९६६ देखि १९७३ सम्म राजदूत रहेकी क्यारोल लेज नेपालका लागि पहिलो अमेरिकी महिला राजदूत हुन् । त्यसपछि सन् १९७६ देखि १९७७ सम्म मार्किता मेट्याग, १९८९ देखि १९९३ सम्म जुलिया चाङ ब्लक र सन् १९९४ देखि १९९७ सम्म सान्द्रा भोगेलसाङ पनि राजदूत थिए ।
त्यसैगरी सन् २००७ देखि २०१० सम्म नान्सी जो पोवेल र सन् २०१५ देखि २०१८ सम्म एलाइना बी टेप्लिज पनि नेपालका लागि अमेरिकी राजदूत रहे । तीमध्ये जुलिया सबैभन्दा धेरै चर्चामा आइन् । तत्कालीन गृहमन्त्री तथा हाल पूर्व प्रधानमन्त्री एवम् नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र आरजु राणाको विवाह हुनुमा उनको विशेष भूमिका रहेको सम्बन्धमा त्यतिबेला निकै चर्चा भएको थियो ।
टिप्पणीहरू