आँटेर गरे के हुँदैन यहाँ ?

आँटेर गरे के हुँदैन यहाँ ?

निजी क्षेत्रसँगको सहकार्यमा ‘घुमौं भरतपुर’ भन्ने मूल नाराकासाथ भरतपुर महानगरपालिकाद्वारा आयोजित कार्यक्रमको भव्य उद्घाटन भएको छ ।

मुलुकका प्रधानमन्त्री, पूर्वप्रधानमन्त्री एवम् मन्त्रीहरु, प्रदेशप्रमुखहरु, प्रदेशका मुख्यमन्त्री, मन्त्री एवम् संघ तथा प्रदेशका सांसदहरु, स्थानीय सरकारका प्रमुख लगायत विशिष्ट व्यक्तित्वहरुको उपस्थितिमा हजारौं जनसहभागिताकाबीच हिजो ‘भरतपुर भ्रमण वर्ष–२०२४’ को भव्य समुद्घाटन भएको हो । नेपालकै एउटा सुन्दर पर्यटकीय गन्तव्यको रुपमा विकसित नारायणगढको नारायणी नदी किनारमा आयोजित कार्यक्रममा विदेशबाट समेत पाहुनाहरु आएका थिए । माल्टाबाट आएकी मेयरले शुभकामना मन्तव्य समेत दिएकी थिइन् । 

कार्यक्रममा बोल्दै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधित्व र उपस्थितिको दृष्टिले भरतपुर र चितवनको मात्र नभई यो सिंगो राष्ट्रकै समुद्घाटन समारोह भएको बताउनुभयो । भरतपुर भ्रमण वर्ष पर्यटन प्रवद्र्धनमा एउटा ऐतिहासिक कदम हुने विश्वास लिएको जनाउँदै प्रधानमन्त्री प्रचण्डले भने, ‘आजको उपस्थिति र प्रतिनिधित्वले पनि त्यसलाई राम्रोसँग पुष्टि गरेको छ ।’ 

दिगो विकासबाट आर्थिक समृद्धि प्राप्त गर्न सहमतिको संस्कार, राष्ट्रिय सहमति आवश्यक भएको प्रचण्ड बताउँछन् । ‘आजको समारोहमा राष्ट्रिय राजनीतिक विशिष्ट व्यक्तित्वहरुको सामूहिक उपस्थितिले राष्ट्रिय–अन्तर्राष्ट्रियस्तरमा नयाँ सकारात्मक सन्देश गएको छ । यसले राष्ट्रिय मुद्दामा देशका प्रमुख दल एक ठाउँमा उभिने संस्कारलाई थप प्रोत्साहित र उत्प्रेरित गरेको छ’, उनले भने ।

विशिष्ट पाहुनाहरुबाट एकसय ५० वर्षअघिदेखि चितवनको जंगलमा शिकारयात्रा गरेको इतिहास रहेको र नेपालमा सर्वप्रथम जंगल सफारीको सुरुवात् मेघौली नजिकै चितवनबाटै भएको उल्लेख गर्दै प्रचण्डले भरतपुरमा मेघौली, पटिहानी, बीसहजारी ताल, देवघाटधाम, नारायणी सीबीच मोडल, ज्ञानेश्वर ब्लक, चौकीडाँडा प्रमुख सात गन्तव्यलगायत २२ वटा पर्यटकीय गन्तव्यहरु पहिचान गर्नु आफैंमा एउटा महत्वपूर्ण कदम भएको बताए । 

भरतपुर भ्रमण वर्षले रत्ननगर नगरपालिकाको सौराहादेखि माडी नगरपालिकाको सोमेश्वरसम्म, राप्तीको परेवाकोटदेखि खैरहनीको कुमरोजसम्म, कालिकाको सिन्ते झरनादेखि गैंडाकोटको मौलाकालिकासम्म, चितवनको उच्च भाग इच्छाकामनाको सिराइचुलीदेखि बागमती प्रदेशकै होचो भूभाग भरतपुरको गोलाघाटसम्म ५० भन्दा बढी गन्तव्यहरुको प्रवद्र्धन गर्ने र यो चितवनकै पर्यटनमा गुणात्मक फड्को हुने विश्वास लिइएको छ । 

‘यो कार्यक्रमले चितवनलाई आर्थिक केन्द्रको रुपमा विकास गर्न महत्वपूर्ण योगदान पुग्नेछ, सुस्ताएको पर्यटन क्षेत्रलाई राष्ट्रियस्तरमा उकास्न राष्ट्रकै पर्यटन प्रवद्र्धनको निम्ति कोशेढुंगा हुने विश्वास मैले लिएको छु’ प्रधानमन्त्री भन्नुहुन्छ, ‘पछिल्लो सात वर्षको अवधिमा भरतपुर महानगरपालिकाले विकासको मोडेलमा सिंगो देशलाई नै एउटा सन्देशमात्र दिएको छैन, यथार्थमा यसले नेतृत्व नै गरिरहेको छ ।’

भ्रमण वर्षको यस कार्यक्रमप्रति सिंगो राष्ट्रमा जुन उत्साह–ऐक्यबद्धता देखापरेको छ, सबैमा एउटा नयाँ संकल्प देखापरेको छ, यो साँच्चै अभूतपूर्व छ भन्दै प्रचण्डले केही हुँदैन, केही गर्न सकिँदैन भन्ने निराश र नकारात्मक भाष्यलाई सच्याएर आँट्यो भने हुनसक्छ, हामीले चाह्यौं र दृढ इच्छाशक्तिका साथ अगाडि बढ्यौं भने गर्न सकिन्छ भन्ने बलियो सन्देश पनि देशभरि दिएको बताउनुभयो ।

कार्यक्रमबारे प्रकाश पार्दै मेयर रेनु दाहालले बोलेर होइन, काम गरेर देखाउनुपर्छ भन्ने मान्यतालाई आफ्नो आदर्श मानेर भरतपुर महानगरपालिका अगाडि बढिरहेको बताइन् ।

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले पनि भरतपुर भ्रमण वर्ष २०२४ केवल भरतपुर महानगरपालिकाको मात्र नभई सिंगो नेपालकै कार्यक्रम भएको महशुस गरेको बताए । स्थानीय सरकारको विकासको मूल नेतृत्व नै भरतपुर महानगरपालिकाले गरिरहेको बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलको भनाइ छ । रास्वपा सभापति रवि लामिछानेले समेत भव्य उपस्थिति देखेर मेयर रेनु दाहाल र भरतपुर महानगरपालिकाको टिमको सक्रियताको प्रशंसा गरेका थिए । 

कार्यक्रममा एमाले अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली केही ढिलो आइपुगेपनि तत्काल मन्तव्य राखेर हिँड्नुभएको थियो । उहाँले भरतपुर भ्रमण वर्षमा आफूले पनि भरतपुर भ्रमण गरेर रमाउने सोच बनाएको बताउनुभयो ।

रेनुको नेतृत्वमा भरतपुरमा दु्रत गतिमा विकास भइरहेकाले भव्य आयोजना हुन सकेको भन्दै पूर्वप्रधानमन्त्री झलनाथ खनालले भन्नुभयो, ‘तपाईं (रेनु दाहाल) पुष्पकमल दाहालको मात्र छोरी होइन, नेपालकै छोरी हो ।’ अर्का पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले पनि विकास कसरी गर्ने ? भनी अरु पालिकाहरुले भरतपुरबाट सिक्नुपर्ने उल्लेख गर्नुभयो । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नेपालको मध्यभागमा अवस्थित भरतपुर महानगरपालिका देशकै आर्थिक केन्द्रको रुपमा विकास भइरहेको भन्दै प्रशंसाका शव्द खर्चनुभएको थियो ।

प्रधानमन्त्रीबाट रंगीचंगी बेलुनको गुच्छा आकाशमा उडाएर उद्घाटन गरिएको भव्य कार्यक्रममा विभिन्न सांस्कृतिक कार्यक्रम पनि प्रस्तुत गरिएको थियो । गीत गाउनुअगाडि कलाकार बद्री पंगेनीले पनि ‘मौका पाए छोरीले धेरै गर्न सक्छिन् भन्ने बुबाहरुले बुझ्नुपर्ने भएको’ बताएका थिए ।  

सोही अवसरमा जाजरकोट भूकम्पपीडितको सहयोगार्थ भरतपुर महानगरपालिकाबाट एक करोडको चेक प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका लागि प्रधानमन्त्रीलाई हस्तान्तरण गरियो भने कार्यक्रममा विभिन्न व्यक्तित्वहरुलाई सम्मान पनि गरिएको थियो । 

 

टिप्पणीहरू