एमाले बैठकमा प्रधानमन्त्रीको प्रशंसा, सांसदहरुले सरकारको आलोचना गर्न नपाउने

सुन्नुहोस्

सत्तारुढ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारको आलोचना नगर्न पार्टीका सांसदहरुलाई प्रष्ट निर्देशन दिनुभएको छ । 

आज संसदीय दलको बैठकलाई सम्बोधन गर्दै उहाँले सरकारका कामकारवाहीलाई लिएर पार्टीको अनुमति बेगर आलोचना नगर्न सांसदहरुलाई निर्देश गर्नुभएको हो ।  'फेरिपनि दोहोर्याएर भन्न चाहन्छु–सरकारको आलोचनामा बोल्ने होइन । सरकारको कुनै आलोचना गर्नुपर्यो भने आन्तरिक रुपमा गर्दा हुन्छ', अध्यक्ष ओलीले भन्नुभयो, 'किनभने नबुझिकन कहिलेकहिले देख्दा एक चिज देखिन्छ, तर चिज अर्कै भइदिन्छ ।'

अध्यक्ष ओलीले तराईमा डोरीलाई सर्प भनेर झुक्किने गरेको दृष्टान्त पेश गर्दै सरकारका बारेमा जथाभावी बोल्दाखेरी परिणाम अर्कै आउनसक्नेतर्फ सांसदहरुलाई सचेत गराउनुभएको छ । 

 'कहिलेकहिले मान्छे हिँड्दा हिँड्दै तराईतिर खासगरी यस्तो हुन्छ । डोरीको त्यान्द्रो देख्यो भने सर्प रहेछ कि भनेर झसंग हुन्छ । अनि ठम्याएपछि सर्प हुँदैन, डोरी हुन्छ', उहाँले अगाडि भन्नुभयो, 'त्यसकारण डोरीलाई सर्पजस्तो ठानेर यसो लामो त्यान्द्रो देखेपछि सर्प हो कि सजग हुनु पर्थ्यो, झस्किनु पर्थ्यो । झस्केको ठिक छ । तर, सर्प भनेर त्यतिखेर भनेपनि त्यो नहुन सक्छ । त्यसकारण प्याट्टप्याट्ट बोल्दाखेरी कहिलेकहिले नराम्रो हुन्छ । त्यस्तो लाग्यो भने छलफलमा ल्याउन सकिन्छ ।'

कुनैपनि मन्त्रालयको काम सन्तोषजनक भएन भने छलफल गरेर त्यसलाई सुधार्दै प्रशंशायोग्य बनाउने कुरामा पार्टीले योगदान गर्ने कार्ययोजना रहेको पनि उहाँले बैठकमा जानकारी गराउनुभयो । भन्नुभयो, 'कुनैपनि मन्त्रालयको काम सन्तोषजनक भएन भने हामी छलफल गर्नसक्छौ । त्यसलाई सन्तोषजनक बनाउने, प्रशंशायोग्य बनाउने कुरामा हाम्रो योगदान हुन्छ । यदि कसैले त्यो बनाउन चाहेन भने त्यस सम्बन्धमा फरक ढंगले ट्रिटमेन्ट खोज्नुपर्ने हुनसक्छ । त्यो म साथीहरुलाई आग्रह गर्न चाहन्छु ।'

अध्यक्ष ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको प्रशंसासमेत गर्नुभएको छ । आफ्नो पद सुरक्षित हुँदाहुँदै पनि पुरानो गठबन्धन त्यागेर नयाँ समीकरण बनाउन प्रधानमन्त्रीले लिएको पहलकदमीको स्वागत गर्नुपर्ने उहाँको भनाई छ । 

'एकदम अनुचित गठबन्धन छोडेर उचित गठबन्धन बनाउन उहाँले पहलकदमी लिनुभएको छ । कमसेकम एक डेढ वर्षलाई उहाँको पद कुनै खतरामा थिएन । चलेकै थियो । तर एक डेढ वर्षमा पदमा बसिरहनु, चल्नु मात्रै होइन । देश अप्ठेरोमा पर्यो भनेर रिअलाईजेशन गरेर उहाँले फरक ढंगले कदम चाल्नुभएको छ । त्यसकारण प्रधानमन्त्रीले देशभक्त, प्रगतिशील, समाजवाद उन्मुख, जनमुखि यस्तो नयाँ समिकरण निर्माण गर्ने पहल जुन गर्नुभयो, यो स्वागतयोग्य कुरा हो’, ओलीले भन्नुभयो ।

टिप्पणीहरू