सबै पुरुष ‘पीडक’ र सबै महिला ‘पीडित’
‘मर्द’ले आँशु झार्नु हुँदैन । छोरा मान्छे भएर रुनु हुँदैन । पुरुषले पीडा लुकाउनै पर्छ अर्थात देखाउन हुँदैन भन्ने भाष्य बनाइएको छ । पछिल्लो समय त पुरुष भनेको पीडक हुन् । पीडित हुन सक्दैन भन्ने पारिएको छ । सानैदेखि छोरा मानिस रुन हुँदैन भन्ने सुन्दै आएको पुरुष हत्तपत्ति रुन खोज्दैन । नरुन निकै कोशिस गर्छ । नरुनु भनेको पीडा नदेखाउनु पनि हो । तर जुनसुकै कुराले पनि निकास पाउनै पर्छ । पछिल्लो समय पुरुष पीडित भएका प्रशस्त उदाहरण छन् । तीमध्ये केही प्रतिनिधि घटना यहाँ उल्लेख गरौं ।
घटना–१
दुई वर्ष कतार बसेका हरिबहादुर कार्कीले आफ्नो सबै कमाइ नेपालमा रहेकी श्रीमतीलाई पठाए । जब उनी नेपाल फर्के श्रीमती लिन न विमानस्थल आइन्, न त डेरामा पुग्दा भेटिइन् । पछि सोधखोज गर्दा श्रीमतीले अर्कै घरजम गरिसकेको थाहा भयो । उनले हरिबहादुरको सम्पूर्ण सम्पत्ति दोस्रो श्रीमानको नाममा गराइसकेकी थिइन् ।
ती पुरुषलाई प्रहरीले पक्राउ गरी हिरासतमा राखेको छ । युवती अर्कै पुरुषसँग घरजम गरेर बसेकी छन् । महिला पीडित मात्रै हुँदैनन् । पीडक पनि हुन्छन् ।
घटना–२
एक सरकारी उच्च अधिकारी कलेज पढ्दै गरेकी युवतीको मायामा परे । सम्बन्ध झाँगिदै नियमित भेटघाट हुन थाल्यो, सबै खालका सम्बन्धहरू स्थापित भए । केही समयपछि युवतीले आफू गर्भवती भएको भन्दै विवाहका लागि दबाब दिन शुरु गरिन् । तर उनी गर्भवती भने नभएको पत्ता लाग्यो । बरु उनले ती पुरुषसँग पैसा माग्न नाटक गरेको खुल्यो । एक लाख रुपैयाँमा हिसाब मिल्यो ।
घटना–३
विवाहका लागि राजी भएकी युवतीलाई लिएर एक युवक चितवनबाट काठमाडौं आए । काठमाडौंमा बस्दै गर्दा युवतीले श्रीमान काममा गएको बेला अर्कै पुरुषसँग संगत गर्न थालिन् । श्रीमानलाई पत्तै भएन । बरु उल्टै नयाँ पुरुषसँग सम्बन्ध राख्न थालेपछि बिहे गर्ने सल्लाह भएका युवकविरुद्ध बलात्कारको उजुरी दर्ता गराइन् । ती पुरुषलाई प्रहरीले पक्राउ गरी हिरासतमा राखेको छ । युवती अर्कै पुरुषसँग घरजम गरेर बसेकी छन् ।
विदेशमा बसेर नेपाल फर्किँदा श्रीमती र सम्पत्ति गुमाएको भन्दै प्रहरीमा आइपुग्ने पुरुषको संख्या बढ्दो छ । तर गोप्य सहमति र सम्बन्धपछि हुने हिंसामा भने प्रहरीलाई खबर गर्न जाँदैनन् । विवाद लेनदेनमा पुगेर टुंगिन्छ । यस्तो संख्या ठूलो भएको प्रहरीको अनुमान छ । यसबाहेक पुरुषहरू घरेलु हिंसामा पनि पर्ने गरेका छन् । समाजको सोच र व्यवहारका कारण पुरुष आफू हिंसामा परेको कुरा खुलाउनै चाहँदैनन् । निकै अप्ठेरोमा परेपछि मात्रै केहीले खुलाउने गरेका छन् । एक पटक प्रहरीसम्म पुगेको पाँच वर्षको तथ्यांक हेरौं ।
पाँच वर्षमा कति पुरुष पीडित भए त ?
२०७६÷०७७ मा ८७४
२०७७÷०७८ मा १२८२
२०७८÷०७९ मा १७९०
२०७९÷०८० मा १७८५
२०८०÷०८१ मा ८०२ (पुससम्म)
महिलाले पुरुषलाई कानूनी व्यवस्थाको दुरुपयोग गरेर हिंसा गर्ने गरेको पाइएको छ । कानूनमा महिलालाई अग्राधिकार दिएको र हिंसाका सम्बन्धमा सामाजिक सोचसमेत पुरुष मैत्री नभएका कारण यस्तो हिंसा बढेको प्रहरीको अनुमान छ ।
समाजमा पुरुषवादी चिन्तन रहेको वास्तविकता लुकाउन सकिँदैन । तर घरेलु हिंसा, हनी ट्रयाप लगायतका थुप्रै कुरामा पुरुषहरू नजानिँदो रुपमा हिंसाको शिकार भइरहेका छन् । पुरुषलाई उजुरीको समेत अग्राधिकार नहुने र पति–पत्नीबीचकै विवादमा समेत उजुरी वा सम्बन्ध विच्छेदको मुद्दाका लागि सहज नहुँदा पुरुष हिंसाको ग्राफ प्रत्येक वर्ष बढ्दै गएको प्रहरीको तथ्यांक छ ।
हिंसा हाम्रो संस्कृति होइन भनिन्छ तै पनि दिनदिनै हिंसाका घटना भइरहेका छन् । हिंसा एक व्यक्तिले अर्को व्यक्तिलाई दिने यातना, पीडा, दुःख र अपमान हो । हिंसा शारीरिक, मानसिक, आर्थिक, यौनजन्य वा जुनसुकै रूपमा पनि हुन सक्छ । कुटपिट गर्ने, चोटपटक लगाइदिने, यातना दिने, अपमान गर्ने, गालीगलौज गर्ने, डरधम्की देखाउने र त्रास उत्पन्न गर्ने व्यवहार हिंसाका हिंसा हुन् । हतोत्साहित गर्ने, जिस्क्याउने, गैरकानुनी रूपमा नजरबन्द वा थुनामा राख्नेजस्ता कार्य पनि हिंसाका रूप हुन् ।
पीडितमा केही लक्षण देखिन्छन् । पिर, चिन्ता बढी लिने, आत्मविश्वासमा कमी आउने, आत्मग्लानी हुने, एक्लोपनाको महसुस हुने, काम गर्दा जाँगर नआउने, थकान महसुस हुने र डराउने लक्षण देखिन्छन् । साथै, बच्चा तथा घर परिवारका सदस्यलाई माया र हेरविचार गर्नुपर्छ भन्ने भावना भित्रैदेखि नआउने, खानमा रुचि नहुने, आफ्नै स्याहारमा कमी गर्ने, सधैँ निरास रहनेदेखि आत्महत्याको सोचाइ आउनेसम्म हुन सक्छ । समस्या देखिए पनि उपचारका लागि नजाने प्रवृत्ति पनि देखिन्छन् ।
हिंसाले पीडकलाई पनि नकारात्मक असर पारिरहेको हुन्छ । लज्जित महसुस हुने, आफ्नै बालबच्चाले मन नपराउने, पीडितले पोल खोलिदेलान् र बेइज्जत होला भन्ने डर हुनुका साथै परिवारमा एक्लो पर्नेलगायत त्रास हुन सक्छ । लैंगिक हिंसाले पारिवारिक संरचनालाई नै खतरामा पार्छ । हिंसाले पार्ने असर दीर्घकालीन हुन्छन् ।
जसरी हिंसाको लिंग हुँदैन् त्यसैगरी पीडित र पीडकको पनि लिंग हुँदैन अर्थात् पुरुष पीडक मात्रै हुँदैनन्, पीडित पनि हुन्छन् । महिलाको हकमा पनि त्यही हो, महिला पीडित मात्रै हुँदैनन् । पीडक पनि हुन्छन् । संख्याका हिसावले कम बढी हुनसक्छ । त्यसैले सबै पुरुष ‘पीडक’ र सबै महिला ‘पीडित’ भन्ने सोच र भाष्यबाट सबै माथि उठ्नु आवश्यक छ ।
टिप्पणीहरू