विनोद चौधरीको सम्पति घट्यो

विनोद चौधरीको सम्पति घट्यो

पछिल्लो एक वर्षमा विश्वमा झण्डै डेढ सय जनाको नाम डलर अर्बपतिको सूचीमा थपिएको छ । चर्चित पत्रिका फोब्र्सले सार्वजनिक गरेको सन् २०२४ को धनाढ्यहरुको सूचीमा १४१ जना नयाँ अर्बपति थपिएका हुन् । 

नयाँ थपिएकासहित विश्वमा अर्बपतिहरुको संख्या दुई हजार ७८१ पुगेको छ । तीमध्ये सबैभन्दा धेरै अर्बपति अमेरिकाका छन् । दोस्रो र तेस्रो क्रमशः चीन र भारतका हुन् । 

यो वर्षको सर्वाधिक धनीहरुको सूचीको पहिलो नम्बरमा बर्नाड अर्नाल्ट छन् । उनी लुई भिटन र सेफोरा ब्राण्डका मालिक हुन् । ७५ वर्षीय बर्नाडको जम्मा सम्पति दुई खर्ब ३३ अर्ब डलर रहेको बताइएको छ । 

एलन मस्क दोस्रोे धनी व्यक्ति बनेका छन् । एक्स, स्पेस एक्स तथा टेस्लाका मालिक ५२ वर्षीय एलनको कूल सम्पति एक खर्ब ९५ अर्ब डलर पुगेको छ । 

एक खर्ब ९४ अर्ब डलरसहित अमेजन मालिक जेफ बेजोस तेस्रो स्थानमा छन् । त्यस्तै फेसबुकका संस्थापक मार्क जुकरबर्ग चौथो नम्बरमा देखिन्छन् । ३९ वर्षीय जुकरबर्ग अग्रस्थानमा पर्ने सबैभन्दा कान्छा अर्बपति रहेको फोब्र्सले जनाएको छ । 

माइक्रोसफ्टका संस्थापक बिल गेट्सको सम्पति भने यो वर्ष घटेर धनाढ्यको सूचीमा सातौं स्थानमा पुगेका छन् । एक वर्षमा ५६९ मिलियन डलर गुमाएका उनको कूल सम्पति एक खर्ब २८ अर्ब डलर छ । 

त्यस्तै, एसियाका सबैभन्दा धनी मुकेश अम्बानी सूचीको नवौं स्थानमा परेका छन् । ६६ वर्षका उनी रिलायन्स कम्पनीका मालिक हुन् । गतवर्ष ४६४ मिलियन डलर गुमाएर अम्बानीको सम्पत्ति एक खर्ब १६ अर्ब डलरमा झरेको फोब्र्सले जनाएको छ । 

नेपालका एक मात्र डलर अर्बपति विनोद चौधरी पनि यो वर्ष ११७ स्थान तल झरेका छन् । गत वर्ष सूचीको १६४७ औं स्थानमा रहेका उनी यसपटक १७६४ औं स्थानमा पुगेका हुन् । 

अर्बपतिको सूचीमा पहिलो पटक गायिका टेलर स्वीफ्टको नाम समावेश भएको छ ।

टिप्पणीहरू