बदनाम सहकारीलाई मुख्यमन्त्रीले नछोड्ने

बदनाम सहकारीलाई  मुख्यमन्त्रीले नछोड्ने

कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले सहकारी संस्थालाई बदनाम गराएर समग्र मुलुकको अर्थतन्त्र धारासायी बनाउनेहरुलाई कारवाही गर्ने चेतावनी दिएका छन्। 

६७ अ‍ौं राष्ट्रिय सहकारी दिवसको अवसरमा हिजो मोरङमा आयोजित कार्यक्रममा मुख्यमन्त्री कार्कीले त्यस्तो चेतावनी दिएका हुन् । सहकारीले महिलालाई आर्थिक रूपमा आत्मनिर्भर बनाएको उल्लेख गर्दै उनले भने, ‘सहकारीले विपन्न वर्गका साथै महिलाहरूको जीवनस्तर परिवर्तन गराईरहेको छ । तर, आफूलाई ठालु ठान्नेहरुले सहकारीलाई बदनाम खोजिरहेका छन्, त्यसप्रति हामी सचेत हुनुपर्छ । ’

केही सञ्चालकहरुको बदमासीले गर्दा सिँगो सहकारी क्षेत्र बदनाम हुन पुगेको मुख्यमन्त्री कार्कीको भनाई छ । सर्वसाधारणको जीवनस्तर परिवर्तन गर्न भूमिका खेल्ने सहकारीलाई प्रोत्साहन गर्ने जनाउँदै उनले प्रदेश सरकारले सहकारी डुबाउने संचालकहरूको सूची तयार गरिसकेको बताए । 

त्यस्ता सञ्चालकलाई चाँडै कारबाहीको दायरामा ल्याउने मुख्यमन्त्री कार्कीले प्रतिबद्धतासमेत जनाएका छन् । बैंक, लघुवित्त, सहकारी र साहु-महाजनको ऋण तिर्न नसक्नेहरूलाई नियोजित रुपमा  हिंडाएर काठमाडौं पुर्याइएको भन्दै उनले भने, 'ऋण तिर्ने पैसा नहुनेलाई त्यो खर्च कसले दिँइरहेको छ ?

सहकारी पीडितलाई देखाएर मुलुकको अर्थतन्त्र धारासायी बनाउनेहरूले विभिन्न चलखेल गरिरहेको बताएका मुख्यमन्त्रीले अर्काले उचालेको भरमा 'आफ्नै खुट्टामा बञ्चरो हान्ने' काममा नलाग्न पीडितहरुलाई आग्रह पनि गरे । मधेसमा मीटरब्याजीको हल्लाले बिपन्न परिवारले घरमा कोही बिरामी हुँदा पैसा सरसापट नपाएर अकालमा ज्यान गुमाउनुपर्ने अवस्था आएको बताए ।

टिप्पणीहरू