लुम्बिनी भेलाले संयुक्त राष्ट्रसंघलाई यसरी झक्झकायो

लुम्बिनी भेलाले संयुक्त राष्ट्रसंघलाई यसरी झक्झकायो

भगवान गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा आजदेखि अन्तर्राष्ट्रिय शान्ति महोत्सव शुरु भएको छ । विश्व सम्पदा सूचीमा परेको लुम्बिनी क्षेत्रको प्रवर्द्धनका साथै विश्व शान्तिको आह्वान गर्न महोत्सव आयोजना गरिएको हो । 

नेपालस्थित चिनियाँ दूतावास, नेपाल पर्यटन बोर्ड,लुम्बिनी विकास कोष,नेपाल ओलम्पिक कमिटी र लुम्बिनी प्रदेश खेलकुद परिषद्को संयुक्त आयोजनामा शुरु भएको दुई दिने महोत्सवको शुरुकै दिन यो ठाउँलाई अन्तर्राष्ट्रिय ध्यान केन्द्रको राजधानी बनाउन संयुक्त रास्ट्र संघलाई आह्वान गरिएको छ । 

सो अवसरमा आज बिहान ध्यान शिविरको आयोजना गरिएको थियो भने लुम्बिनीलाई अन्तर्राष्ट्रिय ध्यान केन्द्रको राजधानी घोषणा गर्न माग गर्दै र्यालीसमेत निकालिएको छ । उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा चीनदेखि कलाकार,खेलाडी,बुध्द धर्मका अनुयायी र शान्तिका उपासकहरु लुम्बिनीमा ओइरिएका छन् । 

 

महोत्सवको दोस्रो दिन भोलि बिहान पवित्र बगैंचामा एक सय भिक्षु र चार सय भन्दा बढीको सहभागितामा ध्यान गरिने छ । शान्ति र खेलकुद विषयमा सेमिनार राखिएको छ भने चार विधामा म्याराथुन दौड हुँदैछ । त्यस्तै धनुषवाण,कुस्तीलगायत खेलको पनि प्रदर्शनी गरिँदै छ । लुम्बिनी स्क्वायर थिएटरमा कन्सर्ट पनि राखिएको छ । 

कन्सर्टमा गायिका आनी छोइङ डोल्मा,चिनियाँ गायिका उलान तुयालगायतले आफ्नो प्रस्तुति दिनेछन् । महोत्सवले लुम्बिनीलाई विश्व शान्ति र सांस्कृतिक पर्यटकीयस्थलको रुपमा प्रवर्धन गर्नुका साथै नेपाल र चीनबीच राज्य तथा जनस्तरको सम्बन्धलाई थप प्रगाढ बनाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ ।

'अन्तर्राष्ट्रिय ध्यान दिवस' घोषणा गर्न र लुम्बिनीलाई त्यसको राजधानी बनाउन राष्ट्रसंघसमक्ष अपिल गरिनु आफैँमा महत्वपूर्ण उपलब्धि हो ।

'अन्तर्राष्ट्रिय ध्यान दिवस' घोषणा गर्न र लुम्बिनीलाई त्यसको राजधानी बनाउन राष्ट्रसंघसमक्ष अपिल गरिनु आफैँमा महत्वपूर्ण उपलब्धि हो । तर,जनस्तरबाट गरिएको अपिलमात्र पर्याप्त हुँदैन । राज्यको तहबाट शान्तिप्रति नेपालको प्रतिवद्धता बिश्व जगतलाई प्रष्ट पार्न सक्नुपर्छ । राजा वीरेन्द्रकै पालामा शान्ति क्षेत्र घोषणा गर्न प्रस्ताव राखिएकोमा भारतबाहेक विश्वका १५१ देशले समर्थन जनाएका थिए । त्यसबेला भूराजनीतिक कारणले रोकिएको उक्त प्रस्ताव दरबार हत्याकाण्डपछि औचित्यहीन बन्यो । नेपाललाई शान्ति क्षेत्र घोषणा गर्ने प्रस्ताव अघि बढाउन अहिले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिवेश अनुकूल बनेको छ । 

विश्व शान्तिका अग्रदूत भगवान गौतम बुद्धको जन्मथलोबाट हजारौँले गरेको यो अपीलले सार्थकता पाए लुम्बिनीलाई शान्तिको केन्द्र बनाउने अभियानले सार्थकता पाउनेछ । नेपाल सरकारले यसको औचित्य स्थापित गराउन सक्नुपर्छ । चिनियाँहरुको महत्वपूर्ण चाड 'स्प्रिङ फेस्टिभल'ले गत वर्षदेखि राष्ट्रसंघबाट अन्तर्राष्ट्रिय  पर्वको मान्यता पाएको ताजा उदाहरण छ । स्मरण रहोस्,चिनियाँ 'स्प्रिङ फेस्टिभल' ले संयुक्त राष्ट्रसंघबाट मान्यता पाएकै कारण राजदूत छन सोङ्गको पहलमा यस वर्ष नेपालमा धेरै कार्यक्रम आयोजना भएका थिए । 

विश्वमा शान्ति स्थापना गर्न बिश्वब्यापी रूपमा चलेका अभियानमा नेपालको विशेष सहभागिता रहँदै आएको छ । खासगरी द्दन्द्दग्रस्त मुलुकहरुमा शान्ति स्थापनार्थ नेपाली सेनाले खेलेको भूमिकाको विश्वले प्रशंसा गरिरहेको स्थिति छ । संयुक्त राष्ट्रसंघको आह्वानमा शान्ति मिशनमा सेना पठाउने मुलुकको सूचीमा सम्भवत: नेपाल पहिलो नम्बरमा पर्छ । युद्धग्रस्त जोर्डन, सिरिया,कंगो,सुडान,लेबनान,माली, हाइटीजस्ता मुलुकहरुमा अहिले नेपाली शान्ति सेना खटिएका छन् । 

अर्कोतिर बुद्ध जन्मिएको मुलुकमा बुद्ध धर्म र गौतम बुद्धको यथोचित प्रचार हुन सकेको छैन । यस्तो स्थितिमा लुम्बिनीको धार्मिक तथा ऐतिहासिक महत्वलाई थप प्रचारमा ल्याउन राज्यको तहबाट प्रभावकारी भूमिका खेलिनुपर्छ । त्यसो हुन सके र अरबौँ जनसंख्या भएका दुई विशाल छिमेकी चीन र भारतका केही प्रतिशतमात्रै धार्मिक पर्यटक लुम्बिनी ल्याउन सके नेपालको समग्र पर्यटन क्षेत्रको कायापलट हुने निश्चित छ ।


 

टिप्पणीहरू