पदको गोपनीयता र शपथ केका लागि ?
हिजो साँझ प्रधानमन्त्रीले निजी क्षेत्रबाट विशेषगरी उद्योग,व्यापार र व्यवसायसँग सम्बन्धित संघ संस्थाका प्रतिनिधिलाई भेटवार्ताको लागि सरकारी निवास बालुवाटार बोलाउनुभयो । गत शुक्रबार युवराज खतिवडाले अर्थ मन्त्रीको पदबाट राजीनामा दिएपछि अर्थको जिम्मेवारी उहाँले नै लिनुभएको छ ।
प्रधानमन्त्रीसहित २५ जनाको उपस्थिति रहेको औपचारिक भेटवार्तामा गभर्नर महाप्रसाद अधिकारीलगायत मन्त्रालयका सचिवहरूको उपस्थिति थियो । सहभागीहरूमध्ये पछाडिको लहरमा आमन्त्रित निजी क्षेत्रका प्रतिनिधिहरू बसेका थिए । तर, शुक्रबार साँझ अर्थमन्त्रीबाट राजीनामा दिएका र राष्ट्रपतिले तत्काल स्वीकृत गरी पदमुक्त भइसकेका युवराज खतिवडालाई प्रधानमन्त्रीको दायाँतर्फको पहिलो लहरमै राखिएको थियो ।
व्यवसायीहरूसँग समसामयिक विषयमा छलफल गर्न अर्थ मन्त्रालयले आयोजना गरेको औपचारिक कार्यक्रममा हिजो खतिवडाको उपस्थितिले पदीय मर्यादा, गोपनीयता र शपथको मर्यादामाथि नै प्रहार भएको छ । कार्यक्रममा उनको प्रस्तुति अर्थमन्त्रीकै रूपमा भएको सहभागी व्यवसायीहरूले बताएका छन् । राजीनामा दिएर घर गइसकेको व्यक्तिलाई राज्यको औपचारिक कार्यक्रममा अनौपचारिक ढङ्गले सहभागी गराउने प्रधानमन्त्रीको सचिवालयलगायतका निकायहरूबाट राज्य सञ्चालनका मूल्य मान्यताको गम्भीर उल्लङ्घन भएको ठहर गरिएको छ ।
‘न मन्त्री न प्रधानमन्त्रीको सल्लाहकार वा न कुनै औपचारिक पद हिजो खतिवडाको उपस्थिति कुन हैसियतमा भयो ?’ कानुनविद्हरूले जिज्ञासा राखेका छन् ।’ यता, प्रधानमन्त्रीको निम्ति पनि हिजोको छलफल सोचेजस्तो भएन । आफ्नो नेतृत्वमा रहेको मन्त्रालयको सम्बन्धमा खुलेर कुरा गरेको पाइएन । अगाडि खतिवडा नै बसेको देखेपछि व्यवसायीहरू बोल्न हच्किएका थिए ।
खतिवडा अहिले सांसद पनि होइनन् । दुई वर्षअघि प्राविधिक रूपमा नियुक्त नेकपाका केन्द्रीय सदस्य मात्र हुन् । आफैंले हातले लेखेको निवेदनमार्फत् शुक्रबार मन्त्रीबाट राजीनामा दिएका थिए । तर, प्रधानमन्त्रीले आफूलाई मन पर्यो भन्दैमा असम्बन्धित व्यक्तिलाई डिफ्याक्टो मन्त्री बनाएर सरकारी छलफलमा सामेल गराउने लहडले मन्त्रीको पदको गोपनीयता र शपथको खिल्ली उडाएको गुनासो छ ।
टिप्पणीहरू