भौतिक रुपमा अस्ताएकाहरुको सम्झना
मानिसहरु जीवनको मात्रै आयु हुन्छ भन्ने ठान्छन । तर मृत्युको पनि आयु हुन्छ । आफ्नो जीवनकालमा मानिसले गरेको सत्कर्मले मृत्युको पनि आयु लामो बनाउँछन । अर्थात जीवनमा दिएको योगदान, राखेको कीर्ति र गरेको रचनाले मृत्युपछि पनि मानिसको स्मरण भइरहेको हुन्छ । वर्ष २०८० मा पनि देश र जनतालाई योगदान दिएका केही हस्तीहरु अस्ताए ।
वर्ष फेरिनु भित्तामा झुण्ड्याएको पात्रो फेरिनु मात्र पनि हैन । स्मार्ट फोन र ग्याजेटहरुमा अंक फेरिनु मात्र पनि हैन । समय फेरिनु केही सन्देश छाडेर जानु पनि हो । पीडा, वियोग र विछोड दिएर जानु पनि हो । वर्ष २०८० मा धेरैले आफन्तको वियोग सहनु पर्दा देशले पनि केही व्यक्तित्व गुमाएको छ ।
सुवास नेम्वाङ, संविधानसभा अध्यक्ष
संविधानसभा अध्यक्ष सुवास नेम्वाङको २०८० भदौ २६ गते राति हृदयघातका कारण निधन भयो । २००९ सालमा इलामको सुन्तलाबारीमा जन्मिएका नेम्वाङ पटक(पटक सांसद र मन्त्री हुनुभयो । २०५१ मा मनमोहन अधिकारी नेतृत्वको लोकप्रिय सरकारका कानूनमन्त्री नेम्वाङ एमाले विभाजनकै बेला २०५६ सालको निर्वाचनमा इलाम–२ बाट सांसद निर्वाचित हुनुभयो । त्यही संसदमा सार्वजनिक लेखा समितिको सभापति बनेका नेम्वाङले बहुचर्चित लाउडा काण्डको छानबिन गराउनुभएको थियो। जनआन्दोलनको बलमा पुनर्स्थापित संसद्को नेतृत्व गर्दै २०६३ जेठ ४ गतेको ऐतिहासिक घोषणामार्फत तत्कालीन राजाका सबै अधिकार कटौतीको घोषणा गर्ने नेम्वाङ नै हुनुहुन्थ्यो ।
भक्तराज आचार्य, गायक तथा संगीतकार
भजन शिरोमणिको उपाधि पाएका गायक तथा संगीतकार भक्तराज आचार्यको फागुन १४ गते निधन भयो । धनकुटाको कुरुले तेनुपा गाउँमा १९९९ साल असोज १६ गते जन्मिएका आचार्यको जीवन संघर्ष नै संर्घषले भरियो । विसं २०३० देखि २०४६ सालसम्मको यात्रामा आचार्यले ४ सय ५० वटा गीत गाउनुभयो । त्यसमा २५ वटामा बाहेक सबैमा आचार्यले नै संगीत भर्नुभएको छ । स्वरसम्राट नारायणगोपालका समकालीन गायक आचार्यका मुटु जलिरहेछ, जति चोट दिन्छौ, जहाँ छन् बुद्धका आँखा, हजार सपनाहरुको, माया मेरी साँझ बिहान, हजार आँखा हेर्नेलगायत गीत लोकप्रिय छन् । क्यान्सरका कारण जीब्रो काट्नु परेका आचार्यले ३० वर्षसम्म तरल पदार्थले जीवन धान्नुपर्यो ।
परशु प्रधान, साहित्यकार
वर्षको अन्तिम महिना चैत ५ गते राति बानेश्वरस्थित निवासमा ८० वर्षको उमेरमा साहित्यकार परशु प्रधानको निधन भयो । विसं २००० मा भोजपुरमा जन्मिएका परशु प्रधानले गद्य अर्थात् कथा तथा उपन्यास विधामा कलम चलाउनुभयो । पीआर प्रधान नामले समेत चिनिने प्रधानको पहिलो रचना विसं २०१६ सालमा विराटनगरबाट प्रकाशित हुने छहारी मा ‘हाँसेकी ती चन्द्रमा’ शीर्षकमा प्रकाशित भएको थियो। पहिलो कथाकृति सबै बिर्सिएका अनुहारहरू २०२५ मा प्रकाशित थियो । प्रधानका १३ वटा कथासंग्रह प्रकाशित छन् ।
राजेन्द्र पराजुली, साहित्यकार एवं पत्रकार
भदौ २६ लेखक एवं पत्रकार राजेन्द्र पराजुलीको निधन भयो । कोटेश्वरमा जन्मेहुर्केका पराजुलीका एक दर्जन पुस्तक प्रकाशित छन् । कोटेश्वरको केटो, अघोरी शुक्रराज शास्त्रीको चश्माुलगायत दर्जनौं कृति चर्चित छन् । अखबारी पत्रकारितामा २२र२३ वर्ष बिताएका पराजुलीले साहित्यिक पत्रकारितामा करिब ३० वर्ष बिताउनु भएको थियो ।
केशवकुमार बुढाथोकी, कांग्रेस नेता एवं पूर्वमन्त्री
कांग्रेस नेता केशवकुमार बुढाथोकीको माघ २२ गते ८० वर्षको उमेरमा निधन भएको हो । नेपाली कांग्रेस निकट विद्यार्थी संघबाट राजनीति सुरु गरेका हक्की स्वभावका बुढाथोकी राजाकालीन प्रधानपञ्चदेखि गणतन्त्रका मन्त्रीसम्म हुनुभयो । राजा वीरेन्द्र शाहले आफ्ना क्लासमेट बुढाथोकीलाई भाइ धीरेन्द्र र ज्ञानेन्द्र शाहको अभिभावक मान्नुभएको थियो । २००१ साल असोजको फूलपातीका दिनमा इलामको सिन्फिरिङमा जन्मेका बुढाथोकीको स्कुले शिक्षा दार्जिलिङबाट प्रारम्भ भएको थियो। २०६४ मा झापाबाट चुनाव जित्ने एक्ला कांग्रेस नेता बुढाथोकी २०७३ मा प्रचण्डको मन्त्रिपरिषद्मा सामान्य प्रशासन मन्त्री हुनुभएको थियो ।
खेमराज भट्ट ‘मायालु’ पूर्वमन्त्री
२००४ सालमा डडेल्धुराको डुङ्गरीमा जन्मिएका पूर्वमन्त्री खेमराज भट्ट रामराजाप्रसाद सिंह नेतृत्वको जनवादी मोर्चामा आवद्ध हुनुहुन्थ्यो । यो मोर्चाले गणतन्त्र नेपालको लक्ष्य राखेर २०४२ साल असारमा नारायणहिटी राजदरबार, सिंहदरबारजस्ता ठाउँमा बम बिष्फोट गराएको थियो । विसं २०४२ को बम काण्डपछि तत्कालीन सरकारले उहाँको सम्पति सर्वश्वहरण गरेपछि १२ वर्ष भारतमा निर्वासित जीवन बिताउनु भएको थियो । २०३० सालतिर स्वर्गीय रामराजा प्रसाद सिंहसँग मिलेर जनवादी मोर्चा गठन गर्नुअघि उहाँको राजनीतिक पृष्ठभूमि नेपाली कांग्रेस निकट थियो । २०५६ सालमा बर्दिया क्षेत्र नं ३ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भट्ट २०५८ सालमा गठित शेरबहादुर देउवा नेतृत्वको सरकारमा सामान्य प्रशासनमन्त्री हुनुभएको थियो । २०७० सालमा भने उहाँ पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको तत्कालीन एकीकृत नेकपा माओवादीमा प्रवेश गर्नुभएको थियो । क्यान्सर रोगबाट पीडित भट्टको असोज ४ गते निधन भएको थियो ।
दधिराज सुवेदी, प्राज्ञ तथा साहित्यकार
क्यान्सरपीडित साहित्यकार प्राज्ञ दधिराज सुवेदीको ७८ वर्षको उमेरमा चैत १४ गते निधन भयो । भोजपुरको दिङ्लामा जन्मिएका सुवेदी विराटनगरलाई कर्मक्षेत्र बनाएर साहित्यमा सक्रिय हुनुहुन्थ्यो । खोज तथा अनुसन्धानमूलक दर्जनौँ पुस्तक लेखेका सुवेदीका साधनाको अभिरेखाङ्कन ९२०४४०, प्रतिभा र प्रस्तुति ९२०४५० र नेपाली साहित्यका मुस्कानहरू ९२०६९० समालोचनात्मक कृति प्रकाशित छन्। सुवेदीको समालोचना विश्व विद्यालयहरूमा पढाइ हुन्छ ।
गायक तथा साहित्यकार योगेश वैद्य
पक्षघातसम्बन्धी समस्या समेत झेलिरहेका गायक योगेश वैद्यको ७७ वर्षको उमेरमा माघ ५ गते निधन भयो । सुगम संगीतमा वेग्लै प्रतिष्ठा बनाएका वैद्य बौद्धिक कलाकारका रूपमा चिनिनुहुन्थ्यो । संगीतका साथै तीन दशकभन्दा लामो समय सरकारी सेवामा रहेका वैधले २०६१ मा सहसचिव पदबाट अवकाश लिनु भएको थियो । ‘सपना भुलाइ सारा आँसु पिएर जाऊ, ‘आखैँमा रात गले, बाटोमा हुरी चले’, ‘मेरो आँसुमा नहाँसे घायल यो दिल के हाँस्थ्यो’ नेपाल मेरो तिमीलाई लगायतका गीत चर्चित छन्। उहाँले नेपाल भाषाका पनि थुप्रै गीत गाउनु भएको छ ।
साहित्यकार चित्तरञ्जन नेपाली
मदन पुरस्कार विजेतासमेत रहेका साहित्यकार तथा इतिहासकार चित्तरञ्जन नेपालीको असोज ३० गते निधन भयो । १९८८ साउन १० मा काठमाडौँको न्हैकन्तला टोलमा जन्मिएका नेपालीलाई ‘जनरल भीमसेन थापा र तत्कालीन नेपाल’ नामक ग्रन्थका लागि २०१३ सालको मदन पुरस्कार प्रदान गरिएको थियो। खास नाम नारायणप्रसाद राजभण्डारी भए पनि उहाँले राणा विरोधी आन्दोलनका लागि चित्तरञ्जन नेपाली राख्नु भएको थियो । नेपालीका ‘जंगबहादुरको कथा’, ‘केही कृतिस् केही अभिव्यक्ति’, ‘पारिवारिक षडयन्त्रका कथाहरू’ लगायत पुस्तक पनि प्रकाशित छन्। विभिन्न जिल्लामा प्रमुख जिल्ला अधिकारी भएर काम गरेका उहाँले शिक्षा मन्त्रालयबाट सहसचिवका रूपमा अवकाश पाउनु भएको थियो ।
तुल्सी थापा, साहित्यकार एवं शिक्षक
साहित्यकार एवं शिक्षासेवी तुलसी थापाको भदौ ८ गते निधन भयो । कथा, कविता र नाटकमा कलम चलाउने थापाले पछिल्ला समयमा दाना कविता लेखेर साहित्य क्षेत्रमा छुट्टै पहिचान बनाउनुभएको थियो । मकवानपुरका विभिन्न विद्यालयको प्रधानाध्यापक भएका थापा शिक्षण पेसाबाट निवृत्त भएपछि साहित्य र कलाको विकासमा लाग्नुभएको थियो । थापाको अमरसिंहको खोजिमा नाटक संग्रह निकै चर्चित नाटक संग्रह हो । २०४४ सालमानै गोरखा दक्षिण बाहु चौथोबाट सम्मानित थपाले अन्य विभिन्न पुरस्कार तथा सम्मान प्राप्त गर्नुभएको थियो । थापाको जन्म मकवानपुरको भैँसेमा २००२ सालमा भएको थियो ।
विश्वम्भर चञ्चल, साहित्यकार
साहित्यकार विश्वम्भर चञ्चलको पुस २३ गते निधन भयो । कविता लेखनबाट साहित्य यात्रा सुरु गरे पनि चञ्चलको लेखनको प्रमुख विधा भने कथा रह्यो । चञ्चलका अतृप्ति ९२०२६०, विश्वम्भर चञ्चलका कथाहरु ९२०३३०, जीवनवृत्त ९२०४००, युध्द भड्किरहेछ ९२०४७०, अनामनगर ९२०५४०, गन्तव्यहीन दिशाहीन ९२०५७०लगायत कृति प्रकाशित छन् । उपन्यास र बालकथा संग्रह पनि प्रकाशित गरेका चञ्चलले विद्यालय स्तरका पाठ्यपुस्तक पनि लेख्नुभयो । सरकारी सेवामा आफ्नो जीवनको लामो कालखण्ड बिताएका चञ्चल साझा प्रकाशनका सञ्चालक तथा महाप्रबन्धक समेत हुनुभयो ।
मुकेश कायस्थ, जनआन्दोलनका घाइते
जनआन्दोलन २०६२–०६३ मा घाइते ‘ज्यूँदो शहीद’ बनेपाका मुकेश कायस्थको बैशाख २८ गते निधन भयो । २०६२ चैत २७ गते बनेपाको तीन दोबाटोमा प्रहरीले चलाएको गोली लागेर घाइते भई ओछ्यान परेका मुकेशलाई वीर अस्पतालमा ११ महिना उपचार गराइएको थियो । कायस्थलाई विभिन्न समयमा विभिन्न समस्या देखा परेपछि वीर अस्पताल, अन्नपूर्ण न्युरो, मेडिसिटी, स्पार्क हेल्थ होमलगायतका अस्पतालहरूमा उपचार गरिएको थियो । सरकारले मुकेशलाई जीवन निर्वाह भत्ता दश हजारबाट बढाएर १५ हजार पुर्याएको थियो ।
प्राडा दिव्यश्वरी मल्ल, प्रसुति तथा स्त्रीरोग विशेषज्ञ
नेपालको प्रसूति तथा स्त्रीरोग क्षेत्रकी अग्रणी विशेषज्ञ प्रा।डा। दिव्यश्वरी मल्लको फागुन २६ गते निधन भयो । डाक्टर मल्ल परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालको पूर्व निर्देशक हुनुहुन्थ्यो ।
टिप्पणीहरू