भारतीय प्रधानन्यायाधीशको मुक्तिनाथ दर्शन कार्यक्रम रद्ध, बिहानै स्वदेश फर्कने तयारी
नेपाल भ्रमणमा रहनुभएका भारतीय प्रधानन्यायाधीश धनञ्जय यशवन्त चन्द्रचूड मुक्तिनाथ जाने कार्यक्रम रद्ध भएको छ । खराब मौसमका कारण उहाँको मुक्तिनाथ दर्शन कार्यक्रम रद्ध गरिएको बताइएको छ । उहाँ आज बिहान सबेरै काठमाडौंबाट नेपाली सेनाको हेलिकोप्टरमा त्यता जाने कार्यक्रम थियो ।
मुक्तिनाथको कार्यक्रम रद्ध भएकाले उहाँ बिहान साढे ११ बजेको उडानमा नयाँ दिल्ली फर्कने तयारी थालिएको बुझिएको छ । होटल मेरियटमा बस्नु भएका उहाँ आज दिउँसो मुक्तिनाथबाट फर्केपछि साँझ ५ बजेको उडानमा स्वदेश फर्कने भ्रमण तालिका थियो ।
यसअघि प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको निमन्त्रणामा नेपाल आउनुभएका उहाँले हिजो केन्द्रीय बाल न्याय समितिले आयोजना गरेको बाल न्यायसम्बन्धी गोष्ठीलाई सम्बोधन गर्नुभएको थियो ।
भारतीय प्रधानन्यायाधीश चन्द्रचूडले बालबालिकामाथि अनुसन्धान गर्नुपर्ने भएमा उनीहरुलाई सुरुदेखि नै भिन्नै रुपमा सम्बोधन गर्नुपर्ने र अपराधको जोखिममा परेका बालबालिकालाई संरक्षण गर्नुपर्नेतर्फ विशेष ध्यान दिन आग्रह गर्नुभएको छ ।
आर्थिक समस्या, सामाजिक विभेद, पारिवारिक विखण्डनलगायत कारण बालबालिकाहरु झनै संकटमा परेको उहाँको निश्कर्ष छ । नेपाली र भारतीय समाज एकै प्रकृतिका भएकाले अनुभव र ज्ञानको आदानप्रदान महत्वपूर्ण हुने उहाँको भनाइ छ ।
भन्नुभयो, ‘१८ वर्षमुनिका बालबालिकाले सही र गलत छुट्टयाउन नसक्ने भएकाले कुनै अपराधमा उनीहरु संलग्न भएमा दण्ड–सजायभन्दा पनि सुधार र सामाजिक पुनःस्थापना महत्वपूर्ण हुन्छ । कानुनको प्रभावकारी कार्यान्वयनबाट मात्रै बालअधिकार संरक्षण हुन्छ ।’
त्यसैगरी प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले बालबालिका जोडिएका घटनामा सामाजिक परिवेश र मनोवैज्ञानिक पक्ष महत्वपूर्ण हुने भएकाले यस्ता मुद्दाबारे निर्णय गर्दा उनीहरुको हितका विषयमा सोच्न आग्रह गर्नुभएको छ । उहाँले सर्वोच्च अदालतले बाल अदालत गठन गर्न परमादेश गरेको जानकारी गराउँदै एक वर्षभित्र त्यसको कार्यान्वयन गरिने प्रतिबद्धता जनाउनुभएको छ ।
उहाँले हिजो बिहान पशुपतिनाथको दर्शन र अपरान्ह पाटन दरबार क्षेत्रको अवलोकन गर्नुभएको थियो ।
टिप्पणीहरू