ग्वार्को पुगेपछि सर्वसाधारण त्रसित

ग्वार्को पुगेपछि सर्वसाधारण त्रसित
सुन्नुहोस्

ललितपुरको इमाडोल बस्ने सुमन तामाङ दैनिक कार्यालय आउजाउ गर्न ग्वार्को–सातदोबाटो सडक प्रयोग गर्छन् । सँधै सोही रुट हुँदै मोटरसाइकल कुदाउने उनलाई ग्वार्को पुगेपछि एउटै पीरले सताउने गरेको छ । 

निर्माणाधीन ‘फ्लाइओभर’ नै उनको चिन्ताको प्रमुख विषय बन्ने गरेको छ । मुलुककै पहिलो ‘फ्लाइओभर’ निर्माणमा भएको ढिलासुस्ती, ठेकेदार कम्पनीको लापरबाहीका कारण आम सर्वसाधारणले सास्तीसँगै जोखिम व्यहोर्नुपरिरहेको छ ।

 

ठेकेदार कम्पनीले निर्माण सामग्री जथाभावी राखिदिँदा जोखिम बढ्दै गएको सर्वसाधारणको गुनासो छ । तामाङले ‘फ्लाइओभर’ को अव्यवस्थित निर्माण सामग्री र सवारीजामले निकै पिरोल्ने गरेको बताए । 
उनले भने, ‘ग्वार्कोबाट सातदोबाटोतर्फ करिब सय मिटर सडकमा जहिल्यै जोगिएर हिँड्नुपर्छ । ‘फ्लाइओभर’ निर्माण भइरहेको स्थलको भित्रबाट निस्किएको फलामे रडका कारण निकै जोखिम मोल्नुपर्ने बाध्यता छ ।’  

जाम खुल्दा सबै सवारीसाधन पेलिएर आउँदा आफु त्रसित हुने गरेको उनी बताउँछन् । भन्छन्, ‘झण्डै आधा घण्टाको पखाईपछि बल्लतल्ल जाम खुल्छ  । अनि सबै सवारीसाधन आँखै नहेरी हुईंकिन्छन् ।’

तामाङजस्तै सानो होस् या ठूलो सवारी चलाउने जोकोही पनि ग्वार्कोदेखि सातदोबाटोसम्मको सडकमा जोगिएर हिँड्नुपर्ने बाध्यता छ । रड मात्र नभई ‘फ्लाइओभर’ निर्माणस्थल ढाकिएका जस्ताबाट निस्किएका निर्माण सामग्रीले गर्दा पनि जोखिम बढेको सवारी चालकहरु बताउँछन् । 

निर्माणस्थल फलाम र जस्ताले ढाकिएको छ । ठुला डिभाइडर भित्रबाट रड निस्किएको छ । निर्माण कम्पनीले सडकमा ओहोरदोहोर गर्ने सवारीसाधनलाई सम्भावित दुर्घटनाबाट जोगाउन ध्यान दिनुपर्ने हो । 

तर, ग्वार्कोबाट सातदोबाटोतर्फ जाने करिब सय मिटर क्षेत्रफलमा डिभाइडरबाट ठूला रड निस्किएका छन् । सडकमै निस्किएको उक्त रडले गम्भीर दुर्घटना निम्त्याउन सक्ने सवारी चालकहरुको भनाइ छ । 

कतै ढाकिएका पूराना जस्तापाता फुत्किएको र भित्रका निर्माण सामग्री बाहिर सडकमा निस्किएको दृश्य पनि देख्न सकिन्छ । निर्माणका क्रममा सडकबाट निकालिएका फलामे बारहरु पनि बेवारिसे अवस्थामा फ्यालिएको छ । यसले गर्दा जोखिम बढ्दै गएको सर्वसाधारण बताउँछन् ।

 

काठमाडौं चक्रपथमा सवारी आवागमनको चापलाई व्यवस्थापन गर्न सरकारले ललितपुरको ग्वार्कोमा ‘फ्लाईओभर’ निर्माण थालेको हो । सडक विभागअन्तर्गत गुणस्तर अनुसन्धान र विकास केन्द्र विभागको जिम्मामा उक्त निर्माण कार्य भइरहेको छ । 

ठेक्का सम्झौताअनुसार आशिष समानान्तर रेलिगेर जेभी निर्माण कम्पनीले काम गरिरहेको छ । केही महिनायता ग्वार्कोमा सवारी जाम थेगिनसक्नु भएको छ । तर, हालसम्म ‘फ्लाइओभर’ निर्माणको कार्य आधा पनि सकिएको छैन ।

टिप्पणीहरू