विशेष अदालतबाट धमाधम सफाइ, सर्वोच्च गुहार्दै अख्तियार

विशेष अदालतबाट धमाधम सफाइ, सर्वोच्च गुहार्दै अख्तियार

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतबाट फैसला भएका मुद्दाउपर सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ । विशेष अदालतबाट विभिन्न मितिमा फैसला भएका मुद्दामध्ये तीन वटामा चित्त नबुझेपछि आयोग सर्वोच्च गएको हो ।

आयोगका प्रवक्ता नरहरि घिमिरेले गैरकानूनी लाभ तथा हानी, घुस-रिसवत एंव सरकारी कागजात सच्याई भ्रष्टाचार गरेकोसम्बन्धी मुद्दामा पुनरावेदन गरिएको जानकारी दिए । 

पोल्ट्री फार्मको नाममा भुक्तानी लिई चेक लुकाएर घुस खाएको आरोपमा कालिकोटको खाँडाचक्र नगरपालिकाका तत्कालिन नायब सुब्बा दिपकराज देवकोटाविरुद्ध एक लाख ९७ हजार ८९५ रुपैयाँ बिगो मागदाबीसहित अख्तियारले मुद्दा दर्ता गरेको थियो । तर, विशेष अदालतको गत भाद्र ५ गतेको फैसलाले उनलाई सफाइ दिएपछि आयोग असन्तुष्ट बनेको हो । 

त्यस्तै, विद्यालयको खेलकुद मैदान स्तरोन्नति कार्यमा अवरोध गरी विभिन्न बहाना बनाई घुस मागेको आरोपमा महोत्तरीको एकडारास्थित श्री माविका तत्कालिन प्राध्यापाक रामदिनेश मण्डल र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विनोद पासमानविरुद्ध अख्तियारले मुद्दा दायर गरेको थियो । असोज २९ गते विशेषले यस मुद्दामा उनीहरुलाई सफाइ दिएकोप्रति चित्त नबुझाएको आयोगले सर्वोच्चमा पुनरावेदन गरेको हो । 

यता, घुस लिएर सुकुम्बासी समस्या समाधान आयोगबाट प्राप्त २५ वर्षे हदबन्दीलाई १५ वर्ष बनाई किर्ते गरी भ्रष्टाचार गरेको आरोपमा मालपोत कार्यालय गुलरिया, बर्दियाका तत्कालिन खरिदार राधेश्याम झासहित छ जनाविरुद्ध मुद्दा दर्ता भएको थियो । तर, विशेष अदालतको गत असोज ८ गतेको फैसलाले सबै प्रतिवादीलाई सफाइ दिएपछि त्यसप्रति पनि असन्तृष्टि जनाउँदै अख्तियार सर्वोच्च पुगेको हो ।

टिप्पणीहरू