आन्दोलनले जलविद्युत उत्पादन प्रभावित, विदेशी लगानीकर्ता चिन्तित

आन्दोलनले जलविद्युत उत्पादन प्रभावित, विदेशी लगानीकर्ता चिन्तित
सुन्नुहोस्

लमजुङस्थित माथिल्लो मर्स्याङ्दी ‘ए’ जलविद्युत आयोजनाविरुद्ध प्रभावित क्षेत्रका स्थानीय आन्दोलनमा उत्रिएका छन् । 

जलविद्युत कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीयले उठाएका माग सम्बोधन गर्न खेलाँची गरेको भन्दै मर्स्याङ्दी गाउँपालिका वडा नम्बर ३, ६, ७ र ८ का नागरिक आन्दोलनमा उत्रिएका हुन् । आन्दोलनले विद्युत उत्पादन प्रभावित भएको छ । 

आयोजनाको प्रवद्र्धक ‘सिनोहाइड्रो–सगरमाथा पावर कम्पनी लिमिटेड’ लाई दबाब दिन वडा नम्बर ७ का निवर्तमान वडाध्यक्ष युवा घलेको संयोजकत्वमा ‘जल्गिनी–अर्खलेबेसी सडक स्तरोन्नति संघर्ष समिति’ गठन गरिएको छ । समितिले विगत एक महिनादेखि निरन्तर आन्दोलन गरिरहेको छ । 

आयोजनाको निर्माण कार्य सकिएर विद्युत उत्पादन भएपनि प्रभावित क्षेत्रमा परेका स्थानीयलाई बेवास्ता गरिएका कारण आन्दोलन गर्नुपरेको संयोजक घलेले बताए । जल्गिनीदेखि अर्खलेबेसीसम्म सडक स्तरोन्नति नहुँदा स्थानीयले सास्ती खेप्नुपरेको उनको भनाइ छ । सडक स्तरोन्नतिका लागि आयोजनाको पटकपटक ध्यानाकर्षण गराइएपनि सुनुवाई नभएको उनी गुनासो गर्छन् । 

‘१० प्रतिशत लोकल सेयर जारी गर्नुपर्छ भन्ने हाम्रो माग छ । त्यस्तै, आयोजना सम्पन्न भएपछि १० प्रतिशत पानी कानुनसम्मत् खोलामा छोड्नुपर्छ । त्योपनि गरिएको थिएन । हाम्रो दबाबपछि बल्ल छोड्न थालिएको छ । अहिले यहाँ सबै चिनियाँ कर्मचारी कार्यरत छन् । स्थानीयलाई रोजगारी दिनुपर्छ भन्नेमा हामीले जोड दिइरहेका छौं । सडकले गर्दा स्थानीयलाई निकै सास्ती भइरहेको छ । बर्खामा हिलाम्मे र हिउँदमा धुलाम्मे हुन्छ’, उनले भने । 

माग सम्बोधन नभए आयोजनाको गेटमा तालाबन्दी गरिने घलेको चेतावनी छ । उनका अनुसार आयोजनाका कर्मचारीहरुको गाडी ‘पावर हाउस’ जान रोक लगाइएको छ । ड्यामबाट ‘पावर हाउस’ सम्मको बाटो बन्द गरिएको उनले जनाए । आयोजनाको ‘पावर हाउस’ वडा नम्बर ८ मा छ भने ड्याम वडा नम्बर ६ र ७ मा रहेको छ । 

आयोजनामा पावर चाइना रिसोर्सेज लिमिटेडको ९० प्रतिशत र सगरमाथा पावर कम्पनी लिमिटेडको १० प्रतिशत लगानी छ । सन् २०१० मा काठमाडौंमा दर्ता भएको ‘सिनोहाइड्रो–सगरमाथा पावर कम्पनी लिमिटेड’ मार्फत् थालिएको आयोजनाको निर्माण कार्य सन् २०१३ देखि शुरु भएको हो ।

पूर्णरुपमा चिनियाँ प्रविधि, उपकरणको प्रयोगमा बनेको आयोजनाले समयमै विद्युत उत्पादन शुरु गरेको थियो । आयोजना सञ्चालनमा आएपछि मुलुकमा ‘लोडसेडिङ’ को समस्या हट्दै गएको छ । सन् २०२४ को अप्रिलसम्म आयोजनाको विद्युत उत्पादन हालसम्म दुई करोड पचास लाख किलोवाट पुगेको छ । 

त्यस्तै, आयोजनाले स्थानीय विद्यालय उत्सव, संघ, क्लब निर्माण, खेलकुदलगायतका कार्यक्रममा आर्थिक सहयोग पनि गर्दै आएको छ । सामाजिक उत्तरदायित्व कोषमा आयोजनाले पाँच करोड रुपैयाँभन्दा बढी लगानी गरेको बताइन्छ । हालसम्म दुई सयभन्दा बढी सामाजिक उत्तरदायित्व सम्बन्धी परियोजनामा लगानी गरेको कम्पनीको दाबी छ । यसमा मुख्यतः विद्यालय, अस्पताल, सडक, पुल, मन्दिर, खानेपानी परियोजना, सिँचाई आदी हुन् ।

राजस्व आर्जन, स्थानीय आर्थिक विकास, पर्यटन उद्योगको प्रवद्र्धनमा पनि आयोजनाको योगदान छ । विभिन्न कर तथा शुल्कबापत आयोजनाले हालसम्म २१ करोड रुपैयाँ सरकारलाई भुक्तानी गरिसकेको छ । तर, स्थानीयको अवरोधका कारण जलविद्युत उत्पादनमा नकारात्मक प्रभाव पर्न थालिसकेको छ । कम्पनीले भनेको छ, ‘स्थानीयको जग्गा खरिद गरेर हामीले जलगिनीदेखि अर्खलेबेसीसम्मको सडक बनाइदिएका छौं । तर, संघर्ष समितिले एकपछि अर्को माग तेर्साएपछि समस्या जटिल बन्न थालेको हामीले महशुस गरेका छौं ।’

टिप्पणीहरू