अवरुद्ध भएको समयको थप गरेर इन्टरनेट सेवा दिनुपर्ने

अवरुद्ध भएको समयको थप गरेर इन्टरनेट सेवा दिनुपर्ने

इन्टरनेट सेवा प्रदायकहरुले इन्टरनेट अवरुद्ध भएको अवधि थप गरेर सेवाग्राहीलाई सेवा दिनुपर्ने भएको छ । 

नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट अवरुद्ध भएको अवधि थप गरेर सेवाग्राहीलाई सेवा दिनुपर्ने सम्झौतामा उल्लेखित विषय कार्यान्वयनमा जोड दिएको हो । प्राधिकरणका प्रवक्ता एवं निर्देशक सन्तोष पौडेलले सेवा प्रदायकले क्षतिपूर्तिबापत त्यति समय थप गरेर सेवा दिनैपर्ने बताए ।

‘सेवा अवरुद्ध भएको समय थप गरेर सेवाग्राहीलाई सेवा दिनैपर्छ । यो सम्झौतामै उल्लेख छ । लाइसेन्स दिँदाकै बखत प्राधिकरणले यो विषय स्पष्ट पारेको हुन्छ’, उनले भने । 

गत वैशाख २० गते दिँउसो ४ बजेदेखि इन्टरनेट सेवा अवरुद्ध भएको थियो । सेवा अवरुद्ध हुँदा सरकारी, गैरसरकारी कार्यालयलगायत सबैलाई समस्या भएको थियो । प्राधिकरणले अनुगमनका क्रममा केही सेवा प्रदायकले जानाजान इन्टरनेट अवरुद्ध गरेको पाइएको जनाएको थियो । 

उक्त हर्कतविरुद्ध विज्ञप्ति जारी गरेर प्राधिकरणले सेवा प्रदायकहरुलाई सचेतसमेत गराएको थियो । त्यस्तो कार्य पुनः दोहोर्याएमा कारबाही गर्ने प्राधिकरणको चेतावनी छ । हाल प्राधिकरण र सेवा प्रदायकहरु आमुन्नेसामुन्ने भएको अवस्था छ । 

सेवा प्रदायकहरुले नियमानुसार बुझाउनुपर्ने रोयल्टी नबुझाएसम्म विदेशी मुद्रा सिफारिस नगर्ने प्राधिकरणको अडानपछि वर्ल्डलिंकलगायतका कम्पनी सर्वोच्च अदालत पुगेको छ । 

उक्त मुद्दा अदालतमा विचाराधीन हुँदा इन्टरनेट सेवा अवरुद्ध गर्नु अपराधको पराकाष्ठ भएको प्राधिकरणको जिकिर छ । प्राधिकरणका अनुसार सेवा प्रदायकहरुले लाइसेन्स बापतको रोयल्टी र ग्रामीण दूरसञ्चार कोषमा जम्मा गर्नुपर्ने साढे तीन अर्ब रुपैयाँ बुझाएका छैनन् ।
 

टिप्पणीहरू