केन्द्रीय बैंकको निर्देशन लत्याएपछि इ–नेट पेमेन्टको अनुमतिपत्र खारेज

केन्द्रीय बैंकको निर्देशन लत्याएपछि इ–नेट पेमेन्टको अनुमतिपत्र खारेज

नेपाल राष्ट्र बैंकले भुक्तानी सेवा प्रदायक कम्पनी इ–नेट पेमेन्ट प्रालिको अनुमतिपत्र खारेज गरेको छ । उक्त कम्पनीको भुक्तानी उपकरणको सञ्चालनमा पूर्ण प्रतिबन्ध लगाई अनुमतिपत्र खारेज गरिएको बैंकले जनाएको छ । भुक्तानी सेवा प्रदायकको रुपमा कार्य गर्ने गरी २०७६ फागुन २१ गते अनुमतिपत्र प्राप्त गरेको इ–नेट पेमेन्ट प्रालिले राष्ट्र बैंकको निर्देशनको परिपालना नगरेको पाइएको हो । 

राष्ट्र बैंकद्वरा जारी सूचनामा भनिएको छ, ‘इ–नेट पेमेन्ट प्रालिले राष्ट्र बैंकको निर्देशनको परिपालना नगरेको देखिएकोले भुक्तानी तथा फछ्र्यौट ऐन, २०७५ को दफा ३५ को उपदफा १ को खण्ड (ङ) र (च) तथा भुक्तानी तथा फछ्र्यौट विनियमावली, २०७७ (संशोधनसहित) को विनियम ३५ को १ (ग) को व्यवस्थाबमोजिम उक्त संस्थाको भुक्तानी उपकरण सञ्चालनमा पूर्ण प्रतिबन्ध लगाई संस्थाको अनुमतिपत्र सूचना प्रकाशन भएको ३१ औं दिनदेखि लागू हुने गरी खारेज गरिएको जानकारी गराइन्छ ।’

राष्ट्र बैंकले उक्त कम्पनीद्वारा जारी भुक्तानी उपकरणहरु प्रयोग गर्ने ग्राहकको संस्थासँग कुनै लेनदेन÷दायित्व बाँकी रहेको भएमा आगामी ३० दिनभित्र सम्बन्धित संस्थामा सम्पर्क गर्नसमेत अनुरोध गरेको छ ।

टिप्पणीहरू