फौजीको दलीय फेरफार

फौजीको दलीय फेरफार
सुन्नुहोस्

कलिलो उमेरमै फौजी जीवनमा लागेका मान्छेहरू त्यहाँबाट फर्किंदा गलेको शरीरसँगै पेन्सनको स्वादमा रमाउने नै भए । तर, त्यतिले पनि नपुगेर रंगरंगका राजनीति रोज्ने गरेका छन् ।

नेपाली सेनाबाट अवकाश पाएका जर्नेल, कर्णेलहरू नै विभिन्न राजनीतिक दल रोज्दै राजनीतिमा लागेका हुन् । दुईतारे जर्नेलबाट अवकाश पाएपछि कुमार फुदुङ माओवादीमा लागेबाहेक विरलै सेनाले माओवादी रोजेका छन् । बढीजसोले राप्रपा र केहीले एमाले–कांग्रेस रोज्ने गरेका छन् । भनिन्छ, आधुनिक सोच नभएका, दास मनोवृत्तिका अवकाशप्राप्त सैनिक अधिकृत राप्रपामा जाने गरेका छन् ।

कारण हो, बाबुबाजेका सरसंगत र सम्बन्ध त्यतातिर बढी हुनु । महासेनानीबाट अवकाश पाएका स्याङ्जाली प्रकाशजंग कार्कीले आफ्नै खर्चमा राप्रपाको संगठन बनाउँदै हिँडेका छन् । राष्ट्रिय प्रजातान्त्रिक भूतपूर्व सैनिक संगठनको गत वर्ष जेठमा सम्पन्न अधिवेशनबाट उनी अध्यक्ष भएका हुन् । उनका उपाध्यक्ष छन्, प्रहरीका पूर्वआइजी रमेश चन्दका भाइ राजेश ।

सोही पार्टीबाट भूपूकर्णेल श्यामहरि खत्री स्थानीय निर्वाचनमा उम्मेदवार भए । सूर्यविनायक नगरपालिका–९ मा राप्रपाबाट चुनावमा उठेका थिए । जित्नेले १५ सय ९ मत ल्याउँदा उनले ८९ भोट ल्याएर जमानतसमेत जफत गराए । त्यस्तै, पूर्वयुवराज दीपेन्द्रसँगै सैनिक तालिम गरेका २९ बेसिकका अवकाशप्राप्त महासेनानी रघुवर राज थापाले त संसदीय चुनावमै राम्रो मतका साथ पराजय व्यहोरे ।

०७९ को निर्वाचनमा ललितपुरको क्षेत्र नं. २ मा राप्रपाबाट उम्मेवार थिए । ८ हजार २ सय ६४ मत ल्याएका उनको मत कम हैन । जित्ने एमालेका प्रेमबहादुर महर्जनले १५ हजार २५ मत ल्याउँदा निकटतम प्रतिद्वन्द्वी लौरो छापका सुदिन शाक्यले ८ हजार ८ सय ८६, रास्वपाका बुद्धरत्न महर्जनले ८ हजार ६ सय ६६ र एकीकृत समाजवादीका कृष्णलाल महर्जनले ८ हजार २ सय ६४ मत ल्याएका थिए । रघुवरको मत त्यसपछिको थियो ।

उनी जागिरमा भने विवादास्पद थिए । हाइटी मिशनमा हुँदा सिपाहीले गाडीको सीटमुनि राखेको एम १६ हतियार हराएर विवादमा आएका व्यक्ति हुन् । नेपालमै रहँदा पनि कोतबाट पेस्तोल हराएपछि विवादमा आएका थिए । उनी अहिले पद्मकन्या क्याम्पसमा पढाउँछन् । पाटनकी नेवारसँग विवाह गरेका छन् ।

त्यस्तै, आपुताली खाएर बसेका भूपू जर्नेल विनोद पाण्डेले अहिले एमालेसम्बद्ध भूपू सेना प्रहरी संगठनको नेतृत्व सम्हालेका छन् । चीनमा सैनिक सहचारीको जिम्मेवारी सम्हालिसकेका उनले ललितपुर, झम्सिखेलस्थित ताम्राकार थरकी महिलासँग विवाह गरेका छन् । शशी भवनअगाडि सासू मात्रै बाँकी भएकी एक मात्र छोरीसँग विवाह गरे । सासूको निधनपछि करोडौंको स्यहारेर बसेका छन् ।

त्यस्तै, प्रेमसिंह बस्न्यात चिनिएकै राजावादी हुन् । भूपू जर्नेल बोधबहादुर अधिकारी पनि तनहुँमा माओवादी नेताका रूपमा सक्रिय छन् ।

(साभार:जनआस्था साप्ताहिकबाट)

 

टिप्पणीहरू