उद्योग मन्त्रालयमा दिनहुँ विदेशी पाहुना

उद्योग मन्त्रालयमा दिनहुँ विदेशी पाहुना
सुन्नुहोस्

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी र युरोपियन कमिसनका उपनिर्देशक मिरियाम फेरानबीच भेटघाट भएको छ । राजधानीको सोल्टी होटलमा भएको भेटमा मन्त्री भण्डारीले नेपालको आर्थिक–सामाजिक विकासका लागि युरोपियन युनियनले प्रदान गर्दै आएको निरन्तर सहयोग र सहायताको उच्च प्रसंशा गर्नुभएको बताइएको छ ।

उहाँले साझा लक्ष्यका रुपमा रहेका दिगो विकासका लक्ष्य प्राप्त गर्न र विश्वव्यापी महामारी एवम् जलवायु परिवर्तन जस्ता विभिन्न संकटलाई सम्बोधन गर्न बहुक्षेत्रीय सहायताको बढ्दो आवश्यकता रहेको उल्लेख गर्नुभयो ।

प्रत्युत्तरमा उपनिर्देशक फेरानले नेपाली सामानको बजार बिस्तारमा सघाउने प्रतिबद्धता व्यक्त गरेकी छन् । उनले नेपाली सामान युरोपेली मुलुकमा निर्यातको वातावरण बनाउन आग्रह गरेकी हुन् ।

हिजो मन्त्री भण्डारी र भारतको राजधानी नयाँ दिल्लीस्थित नेपालका लागि रोमानियाका गैरआवासीय राजदूत ड्यानियला मरियाना सेजोनोभ तानेबीच शिष्टाचार भेटवार्ता भएको थियो । । मन्त्रालयमा भएको भेटवार्तामा सरकारका तर्फबाट उहाँले नेपालको सामाजिक तथा आर्थिक विकासमा निरन्तरको सहयोगका लागि रोमानिया सरकारप्रति आभार व्यक्त गर्नुभएको बताइन्छ ।

 

अस्ति मन्त्रालय पुगेको चिनियाँ व्यवसायीहरुको टोलीसँग भेटवार्ता गर्नुभएको थियो । उहाँले चिनियाँ लगानीकर्ताहरुलाई नेपालमा लगानीमैत्री वातावरण रहेकाले उद्योग तथा व्यवसाय खोल्न आग्रह गर्नुभएको थियो ।

टोलीमा चीनका कृषि, ऊर्जा, पर्यटन, खानी, निर्माणसम्बन्धी कम्पनी लगायतका उद्योगी तथा व्यवसायी सहभागी थिए ।

टिप्पणीहरू