जलवायु परिवर्तनको असर रोक्न फिनल्याण्डको १ करोड ३० लाख युरो सहयोग

जलवायु परिवर्तनको असर रोक्न फिनल्याण्डको १ करोड ३० लाख युरो सहयोग

जलवायु परिवर्तनसम्बन्धी कार्यक्रमका लागि फिनल्याण्डले प्रदान गर्ने १ करोड ३० लाख युरो नेपालले स्वीकार गर्ने भएको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले नेपाली रुपैयाँ करिब एक अर्ब ८७ करोड बराबरको उक्त सहयोग स्वीकार गर्ने निर्णय गरेको छ । 

यस्तै सरकारले दुई जना सहसचिवलाई सचिवमा बढुवा गरेको छ । लोकनाथ पौडेल र राजेन्द्रप्रसाद मिश्रलाई बढुवा गर्ने निर्णय गरेको सरकारकी प्रवक्ता एवम् सूचना तथा सञ्चारमन्त्री रेखा शर्माले जानकारी दिनुभयो । 

बैठकले नीति अनुसन्धान विकास प्रतिष्ठानको कार्यकारी अध्यक्ष पदमा प्राध्यापक डा. लेखनाथ शर्मा र न्यूनतम परिश्रमिक निर्धारण समितिको अध्यक्षमा संगीता खड्कालाई नियुक्त गरेको छ ।

टिप्पणीहरू