सहकारी पीडितहरु तेस्रो चरणको आन्दोलनको तयारीमा

सहकारी पीडितहरु तेस्रो चरणको आन्दोलनको तयारीमा

सहकारी पीडितहरुले तेस्रो चरणको आन्दोलनको घोषणा गरेका छन् । सरकारले माग सम्बोधनमा चासो नदेखाएपछि नयाँ चरणको आन्दोलन गर्न बाध्य भएको बताइएको छ । 

पर्सिदेखि राजधानीको माइतीघर मण्डलाबाट आन्दोलन थालिने सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियान महासंघका अध्यक्ष कुशलव केसीले जानकारी दिए । पहिलो दिन बिहान ११ बजे माइतीघरमा भेला हुने कार्यक्रम छ । त्यसपछि निरन्तर रिले अनशन राखिएको छ । 

‘सरकारले हामीलाई झुल्याउने काम मात्र गर्यो । यसअघि दुईपटक हामीले आन्दोलन गर्यौं । सरकारले हामीसँग माग सम्बोधन गर्ने सहमति गर्यौं । तर, कार्यान्वयन गरेन । हामी मन्त्रालय धाएको धायै छौं । उहाँहरु कार्यान्वयन गर्छौं भन्नुहुन्छ तर कहिले भन्ने टुंगो छैन । सरकारलाई दबाब दिनका लागि तेस्रो चरणको आन्दोलन गर्न लागेका हाैँ’, उनले भने । 

माग सम्बोधन नभएसम्म आन्दोलन जारी रहने पीडितहरु बताउँछन् । सहकारी पीडितहरुले पहिलो चरणमा माइतीघरमा ६३ दिन आन्दोलन गरेका थिए । उनीहरुले बृहत आन्दोलनको घोषणा गरेपछि सरकारले सात बुँदे सम्झौता गरेको थियो । तर, सम्झौता कार्यान्वयनमा नआएपछि उनीहरुले गत चैत १ गतेदेखि राजधानी केन्द्रित आन्दोलन गरे । चैत ८ गते सहकारीमन्त्री बलराम अधिकारी र उनीहरुबीच आठ बुँदे सहमति भएको हो । 

सहमतिपत्रमा समस्या देखिएका सहकारी संस्थाहरुको निरीक्षण एवम् हिसाब जाँच गर्ने, पीडित संघर्षरत बचतकर्तासमेतको प्रतिनिधित्व रहेको समिति गठन गर्ने, समितिको सिफारिसमा सरकारले समस्याग्रस्त सहकारी घोषणा गरी एकद्वार प्रणालीमार्फत् त्यस्ता सहकारीको सम्पत्ति र दायित्वको फरफारक गरी बचतकर्ताको बचत फिर्ता गर्ने प्रक्रिया अविलम्ब अगाडि बढाउने, सहकारी ऐन, २०७४ को दफा १२२ बमोजिम कसूर गर्ने सहकारीका सञ्चालक, व्यवस्थापन र संलग्न कर्मचारीहरुलाई कानुनबमोजिम तत्काल कारबाहीको दायरामा ल्याउनेलगायत उल्लेख छ ।

टिप्पणीहरू