बजेटबारे बिष्णु पौडेल - सुन्दर चाहानालाई परिस्थितिको सीमाभित्र राख्नुपर्छ

बजेटबारे बिष्णु पौडेल - सुन्दर चाहानालाई परिस्थितिको सीमाभित्र राख्नुपर्छ

नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेलले स्रोतले धान्न नसक्ने ठूलो आकारको बजेट नल्याउन सरकारलाई सुझाव दिएका छन् । 

नेपाल बुद्धिजीवी परिषद्ले आर्थिक वर्ष २०८१-०८२ को बजेटको कार्यदिशाबारे आज आयोजना गरेको छलफलमा बोल्दै उनले मनोगत आकांक्षामा बजेट नबनाउन सरकारको ध्यानाकर्षण गराए । प्रारम्भमै कार्यान्वयनमा चुनौति रहेको सन्देश दिनेगरी बजेट ल्याउन नहुनेमा पौडेलको जोड छ । 

‘आगामी आर्थिक वर्षको बजेट हाम्रो मनोगत आकांक्षामा बजेट बन्न सक्दैन । मुलुकको वस्तुगत र आर्थिक अवस्था के छ । त्यो आर्थिक अवस्थाको सापेक्षतामा सरकारले बजेट निर्माण गर्ने हो', उनले भने, 'हाम्रा स्रोत,साधन र सम्भावनाहरु के छन् । स्रोत साधन र सम्भावनाको सापेक्षतामा बजेट निर्माण गर्ने हो । हाम्रा सुन्दर चाहानाहरुले बजेट बन्न सक्दैनन् । सुन्दर चाहानालाई परिस्थितिको सिमाभित्र रहेर कार्यान्वयन गर्दै अगाडि बढ्नुपर्छ ।'

पूर्वअर्थमन्त्री पौडेलले मुलुकको अर्थतन्त्रको वास्तविकता र लिमिट क्रस गर्ने प्रकारको ठूलो बजेट बनाउन नहुने धारणा राखे । सरकारले १७ देखि २० खर्बको आकारमा बजेट ल्याउने तयारी गरेको सुनिएको भन्दै उनले असिमित ढङ्गले ठूलो आकारको बजेट बनाउन नहुने बताए । 

'१७ देखि २० खर्बको आकारका कुरा समाचार माध्यममा आएको सुनेको छु । सरकारले असिमित ढङ्गले ठूलो आकारको बजेट बनाउन सक्दैनौं', पौडेलले भने, 'राजश्व परिचालन कति गर्नसक्ने हो । अन्तर्राष्ट्रिय ऋण परिचालन कतिसम्म गर्न सक्ने हो । त्यसअनुसार आन्तरिक ऋण कति उठाउन सक्ने हो । त्यसले पनि बजेटको आकार वृद्धि गर्ने छुट छैन । माग बढी आकारको बजेटको छ भनेर वृद्धि गर्ने अवस्था छैन ।' 

१६ औं योजना, दिगो विकास लक्ष्य,अल्पविकसित मुलुकबाट विकाउन्मुख देशमा स्तरउन्नती हुँदाका अवसर र चुनौतीको आधारका साथै सरकारमा सहभागी दलहरुको नीतिगत प्राथमिकता र साझा सङ्कल्पका आधारमा बजेट आउने पौडेलको विश्वास छ ।

टिप्पणीहरू