साठी वर्ष पुगेर परिपक्व देखियो अखिल

साठी वर्ष पुगेर परिपक्व देखियो अखिल

व्यवस्था परिवर्तनका लागि लड्यौँ । अबको लडाइँ अवस्था परिवर्तन गर्न हुनुपर्छ । अबको विद्यार्थी आन्दोलन पुरानो तरिकाले हुन्न । नयाँ तरिकाले हुनुपर्छ । विद्यार्थी आन्दोलनको परिचय परिवर्तन गर्न हामी लागेका छौँ । अब प्रश्नहरू दिने काम मात्रै होइन, हामी उत्तर दिने काममा लाग्छौँ । विद्यार्थीले देशमै पढ्ने ऊर्जा पाउनुपर्छ । अब ब्रेन ड्रेन होइन ब्रेन गेन हुनुपर्छ । विश्वविद्यालयका लेक्चरहरू भेन्टिलेसनबाट होइन राजमार्गबाट आउनुपर्‍यो । विश्वविद्यालयका विज्ञान प्रविधि र प्राज्ञिक कर्ममा नवप्रवर्तन हुनुप¥यो । नेपाललाई विदेश पढ्न जाने ट्रान्जिट मात्रै होइन शहीद दशरथ चन्द राष्ट्रिय मेडिकल कलेज आदि खोलेर दक्षिण एशियाको आकर्षक शैक्षिक गन्तव्य बनाउनुपर्‍यो । 

माथिका कुरा नागरिक समाज, पत्रकार वा कुनै अभियानकर्मीका जस्ता देखिन्छन् । तर, यी कुरा विद्यार्थी नेताका हुन् । अनेरास्ववियुले जेठ १, २ र ३ मा आयोजना गरेको विद्यार्थी महोत्सवको बेला विभिन्न अन्तर्वार्ता, पत्रकार सम्मेलन तथा व्यक्तिगत छलफलमा अनेरास्ववियुका अध्यक्ष समिक बडाल र महासचिव नरेश रोकायाले सार्वजनिक गरेका अभिव्यक्ति हुन् यी । अनेरास्ववियुभन्दा विभिन्न लोगो भएका छन् । यहाँ मैले कुरा गर्न खोजेको अनेरास्ववियु भनेको सत्ताधारी सबैभन्दा ठूलो दल एमालेको भ्रातृ संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)को हो । उसो त अखिल (क्रान्तिकारी) देखि नेकपा एसको दीर्घ अनेरास्ववियुलगायत विभिन्न फुर्का र हिज्जे भएका अरु अनेरास्ववियु पनि छन् । 

जेठ १ गते अनेरास्ववियु ६० वर्षमा प्रवेश गरेको छ । यो साठी वर्ष एमालेको एक विद्यार्थी संगठनको साठी वर्ष मात्रै होइन । नेपाली विद्यार्थी आन्दोलनको साठी दशक पनि हो । कांग्रेस, कम्युनिष्ट विद्यार्थी मिलेरै यो देशको व्यवस्था परिवर्तनको देखिने नेतृत्व गरेका छन् । धेरै शहीद भएका छन् । आज विद्यार्थीले पाउने विभिन्न सरकारी तथा निजी छुटका जति पनि खुराक छन्, ती सबैमा नेपाली विद्यार्थी आन्दोलनको योगदान छ । बलिदान छ । उसो त विद्यार्थी आन्दोलन सधैँ सही थिएन । विद्यार्थी आन्दोलनको नाममा हुने प्राध्यापक कुटपिट र मोसो प्रकरण धेरै भएका छन् । आमविद्यार्थीलाई तनाव हुने गरी विद्यालयदेखि विश्वविद्यालयमा ताला लागेका छन् । परीक्षा प्रभावित भएका छन् । स्ववियुको स्थापना र चुनावमा सकस आएका छन् । चुनावबाट जितेकाले काम गर्न पाएको छैन । सबैभन्दा सकस त विद्यार्थी राजनीतिमा विद्यार्थीका मुद्दा कम, मूलधारका राजनीतिका बढी हुँदै आएका थिए । विद्यार्थी राजनीति विद्यार्थीको खास थोक मुद्दामा कम, दलका खुद्रा मुद्दामा बढी जकडिएको देखिएकै हो । दलीय छुवाछुत प्रथा ल्याएर संगठन र गुटलाई खुला नबनाई संकुचित बनाएका उदाहरण धेरै छन् । विद्यालय व्यवस्थापन समिति, विश्वविद्यालयको भिसीदेखि प्राध्यापक तथा लेक्चरर नियुक्तिमा यस्ता विकृति देखिएका छन् । 

यी सबै कुराको एक खालको सकारात्मक डिपार्चर गरेर अनेरास्ववियुले विद्यार्थी महोत्सवमा धेरै नयाँ कुरा गरेको छ । तीन दिनमा एक लाख विद्यार्थी ल्याउनु आफैँमा राम्रो लक्ष्य हो । एक, सबैलाई समेटेको छ । मीनेन्द्र रिजालदेखि सिके राउतसम्मलाई बहसमा उतारेको छ । मानुषी यमी भट्टराईदेखि प्रदीप पौडेलसम्म आउनेछन् । मूलधारको मिडिया आउटलेटका सम्पादकहरूले विभिन्न प्यानल सञ्चालन गर्नेछन् । वामपन्थीले आफ्ना कित्तालाई मात्रै बोक्छन्, आफ्नामा पनि गुटलाई बोक्छन् भन्ने आरोपलाई विद्यार्थी महोत्सवको यो उदारताले असत्य सावित गरेको छ । 

दुई, व्यावसायिकताको प्रदर्शन । कार्यक्रमलाई इ–गेमिङ क्षेत्रदेखि करिअर काउन्सिलिङमा व्यावसायिक साझेदार राखिएको छ । कन्सर्टको विभिन्न ब्याण्डमा उस्तै व्यावसायिकता देखाइएको छ । कार्यक्रमको प्रस्तावना, आर्थिक साझेदारीमा कम्युनिष्ट जार्गनहरू छैनन् । व्यावसायिकताका पक्ष धेरै छन् । तीन लाख विद्यार्थी तथा युवालाई तान्ने कार्यक्रम छन् । युवा संसद, बहस, संवाद, लाइभ विज्ञान परियोजना, विद्यालय तथा विश्वविद्यालय सूचना केन्द्र, चलचित्र तथा डकुमेन्ट्री प्रदर्शन, कानुनी शिविर, स्वास्थ्य शिविर, प्रत्यक्ष संगीत, इगेमिङ प्रतिस्पर्धा, प्रत्यक्ष चित्रकला प्रतिस्पर्धा, पर्यटन भिजन आदि सवाल छन् । यी सबै कुराले विद्यार्थी तथा युवालाई तान्नेछ । 

चार, सामुदायिक शिक्षालयको प्रवद्र्धन । विद्यार्थी महोत्सवमा १५० हाराहारी विभिन्न स्टल हुनेछन् । त्यसमा निजीले शुल्क तिर्नेछन् । सार्वजनिक तथा सामुदायिक विद्यालयले निःशुल्क पाउनेछन् । यो आफैँमा सुन्दर सकारात्मक विभेद हो । पाँच, वैश्विक चेतको विकास । कार्यक्रमलाई नेपाली मात्रै क्षेत्रफलमा सीमित नगरेर आयोजकले वैश्विक तहमा लाने प्रयास गरेको छ । भारतको प्रख्यात विश्वविद्यालय जवाहरलाल नेहरूका स्ववियु सभापति धनञ्जय आउने कुरादेखि उनले उद्घाटन सत्रमा बोल्ने कुरा यसैको उपज हो । महासचिव नरेश रोकायाले आगामी संस्करणहरूमा सार्क क्षेत्रदेखि एशियाका अरु विद्यार्थीलाई ल्याएर अझ भव्य बनाउने बताइसकेका छन् । यो सार्कको मुख्यालय भएको नेपालमा यस्तो सपना देख्नु र योजना बनाउनु आफैँमा सुन्दर सवाल हो । 

०५७ जेठ १ मा तत्कालीन अनेरास्ववियु अध्यक्ष तथा हाल कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले यस्तै खालको भव्य कार्यक्रम आयोजना गरेका थिए । विभिन्न देशका राजदूत ल्याएका थिए । हेलिकप्टर उडाएर स्वागत कार्यक्रम गरेका थिए । त्यो युगमा यो आफैँमा भव्य कार्यक्रम थियो । त्यो युगको कार्यक्रमको विरासत लिएर यो युगमा फेरि २४ वर्षपछि अनेरास्ववियुले अर्को युग सुहाँउदो भव्य कार्यक्रम आयोजना गरेको छ । तर, रोचक चैं यो छ कि पहिलो कार्यक्रम गरेका कार्की अहिलेको कुनै प्यानलमा छैनन् । कतै वक्ता छैनन् । यो चैँ आफैँमा सोचनीय कुरा हो । दर्जनौँ नेता अटाइएको छलफलका सत्रमा कार्की अटेको एक इतिहासको सम्मान र उनको अनेरास्ववियु अध्यक्ष हुँदै पटकपटक कोशीको मुख्यमन्त्री भएको कुरा नयाँ विद्यार्थीमा उत्साह बन्ने थियो । खैर, आगामी वर्षमा भने कार्कीलाई अटाउन सकिने सम्भावना भने छ । त्यसमा अनेरास्ववियु नेतृत्वले सोचेको होला । यो अनेरास्ववियुको एक कार्यक्रम हो । तर, यसले उसका प्रतिस्पर्धी संगठनलाई पनि यस्तै आकर्षक कार्यक्रम गर्ने दबाब र प्रेरणा दिन सक्नेछ । राम्रो कामका लागि प्रतिस्पर्धा हुनु राम्रो कुरा हो ।

(साभार:जनआस्था साप्ताहिकबाट)

टिप्पणीहरू