लकडाउनमा भित्रभित्रै अपराध

लकडाउनमा भित्रभित्रै अपराध

अपराधीको न कुनै जात, धर्म र गोत्र नै ! पाप र धर्मको चेष्टा हुन्थ्यो त आफूले टीका लगाएकी बहिनीमाथि कुकृत्य गर्न कसरी सक्दो हो ? बेसीसहर–९ सामदीकी कक्षा ८ मा अध्ययनरत १३ वर्षकी बालिकामाथि किन जाइलाग्दो हो ।

घटना ०७६ असोज २ गतेको । बालिका घरमा एक्लै । परिवारका अन्य सदस्य मेलापात । दिउँसो आफ्नै साहिँला बाउको छोरो शंकर बिक आए । आफूले तिहारमा टीका लगाएर दाइ आउँदा उनले अन्यथा सोच्ने कुरा नि भएन । शंकर ती बालिका बसिरहेको बेडमा पुगे । तिर्खा लागेको बताए । बैनीले पानी ल्याइन् । गिलासमा पानी दिन लाग्दा च्याप्प हात समाते । गिलास खस्यो । बालिका कराइन्, दाइ के गरेको भन्दै । चुप लाग भन्दै एकहातले मुख थुनेर १९ वर्षका बिकले बहिनीमाथि एकोहोरो हैकम जमाए । पीडित बालिकाले परिवारलाई भन्न सकिनन् । शंकर फरार भयो । कुरो त्यसै गुपचुप ।

एकाएक छोरीको पेट बढ्दै गएर जिल्ला सामुदायिक अस्पताल लमजुङमा घटना घटेको झण्डै ८ महिनापछि वैशाख २६ मा चेक गराउन पुग्दा गर्भवती भएको प्रमाणित भयो । र, अस्पतालले असार ४ गते प्रसूति मिति नै तोकिदियो ।

आमा फूलकुमारीले छोरीलाई गाली गर्दै नगरपालिकामा ल्याइन् । मेयर गुमानसिंह अर्याल, उपमेयर लक्ष्मी देवी अधिकारी, पत्रकार, इन्सेक प्रतिनिधिको रोहवरमा उनले आफ्नो साइँलो बाउको छोराले गरेको कुकृत्यबारे इतिविस्तार गरिन् । बालिकाले किन कुरा अहिलेसम्म छिपाइन् ? गर्भ रहेको ८ महिना पुग्दासमेत कसरी आमाले चाल पाइनन् सोध्दा केही नबताएपछि घर फर्किएकी ती बालिकालाई २६ जेठमा एम्बुलेन्समार्फत भरतपुर अस्पताल पु¥याइयो । शल्यक्रियाद्वारा २९ जेठमा बच्चा जन्माएर फर्किएकी उनलाई स्थानीयले गाउँ पस्न दिएनन् । असार १ गते पीडित बालिकाले किटानी जाहेरीसहित जिल्ला प्रहरी कार्यालयमा उजुर गरिन् । मानवअधिकार आयोग र कोपिला नेपालको सहयोगमा पोखरामा सञ्चालित सेफ होममा नवजात शिशु र नाबालिका आमालाई राखियो ।

यता, भागेर भारत पुगेको शंकर जेठको अन्तिम साता नेपाल फर्किएर बेसिशहरको क्वारेन्टिनमा बस्दै थियो । पिसिआर रिपोर्ट नेगेटिभ आएसँगै असार १५ सोमबार गिरफ्तार गरी हाडनाता तथा बालिका करणी मुद्दामा पुर्पक्षका लागि असार ३१ गते कारागार चलान गरिएको छ ।

विदेशबाट फर्केको वर्ष दिन पनि नपुग्दै घरमा अँगालोभरिकी श्रीमतीसहित तीन बच्चाका बाउ क्व्होलासोथर गाउँपालिका–३ का ४३ वर्षीय नन्दमान गुरुङले यस्तो दानवीय रूपमा प्रकट होलान् भनेर कसले पत्याएको थियो र ! सोही वडा बगुमका तीन जना ११ वर्षीय, दुई जना र नौ वर्षीय बालिकाहरूलाई गुलियो मिठाइको लोभ देखाएर गाउँको कोही पनि नभएको घरमा लगेर लुच्छन् भनेर । शनिबारको दिन । दिउँसोको समय घर नजिकैको बाटोमा खेलिरहेका ती बच्चालाई भदौ ६ गते नन्दमानले जबर्जस्ती करणी गरी रक्ताम्ये पारे ।

एकैदिन तीन बालिका लुछेर फरार भएका नन्दमानलाई प्रहरीले १२ भदौमा पक्राउ गर्न सफल भएको छ । असार २९ गतेको किटानी जाहेरीपछि ५ वर्षिया मगर बालिकालाई करणी गरेको आरोपमा राइनाश नगरपालिका–९ का उरेपानीका २२ वर्षीय अजय घर्तीलाई भोटेओडार प्रहरीले भदौ ५ गते पक्राउ गरेको छ । एकातिर कोरोनाले लमजुङलाई सखाप पार्दै छ, समाचार तयार पार्दासम्म २७६ जना संक्रमित पुगेका छन् । प्रहरी मात्रै ३२ जना, सेनाका २४ जना, आधा दर्जन त पत्रकार र त्यही हाराहारीमा स्वास्थ्यकर्मी छन् । प्रशासनले लकडाउनजस्तो पनि गरेको छ । यही मौका छोपी यस्ता आपराधिक गतिविधि तीव्र बन्दै गएका छन् । जिल्ला कारागारमा अहिले ६ महिलासहित ७६ कैदीबन्दी छन् जसमा १८ जना कैदी त बलात्कारी नै ! – अञ्जनकुमार

टिप्पणीहरू