रविलाई च्याप्ने,सुमनामाथि हिलो छ्याप्ने

रविलाई च्याप्ने,सुमनामाथि हिलो छ्याप्ने

नागरिकता किर्ते,दोहोरो राहदानी,सहकारी ठगीजस्ता अनेक काण्डमा मुछिएका रवि लामिछानेलाई आफू बद्नाम भएर पनि 'काखी च्याप्ने', तर तुलनात्मक रुपमा इमान्दार भनिएकी सुमना श्रेष्ठको चैं चर्को आलोचना गर्ने ? शिक्षामन्त्री सुमना लक्षित एमाले अध्यक्ष केपी शर्मा ओलीको हालैको एउटा टिप्पणीले उठाएको प्रश्न हो यो । 

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सत्ता गठबन्धनको महत्वपूर्ण घटक दल हो । सो पार्टीका सभापति रवि लामिछानेलाई उपप्रधानसहित गृहमन्त्री बनाउन ओलीकै जोडबल थियो । सहकारी काण्डमा उनलाई जोगाउन सिङ्गै एमालेले संसदमा के गर्यो जगजाहेरै छ । ओली र रविको यस्तो घनिष्टताले रास्वपा एमालेको छाँया बनेको भनेर कतिपयले व्यंग्यसमेत गर्ने गरेका छन् । 

तर, त्यही पार्टीकी एक प्रभावशाली नेतृमाथि भने किन निर्मम टिप्पणी ? राष्ट्रियतामाथि नै प्रश्न गर्नुपर्ने स्थिति हो त सुमनाको ? आम तहबाट समेत यस्ता प्रश्न उठिरहँदा एक हप्ता चुपचाप रहेको रास्वपाले अन्तत: मुख खोलेको छ । 

आज प्रतिनिधिसभा बैठकमा सो पार्टीका सांसद शिशिर खनालले सुमनालाई होच्याइएकोमा आपत्ति जनाएका हुन् । ओलीको नाम नलिई असन्तुष्टि व्यक्त गरेका उनले यस सन्दर्भमा केही प्रश्न पनि उठाएका छन् । 

केही दिनअघि ओलीले विदेशीसँग विवाह गरेर नेपाल घुम्न आउँदा मन्त्री बनेको भन्दै सुमना लक्षित टिप्पणी गरेका थिए । व्यक्ति लक्षित उक्त टिप्पणीलाई पूर्वमन्त्रीसमेत रहेका खनालले भने महिला समानताको सवालमा जोडेर बिमती  प्रकट गरे । लामो समयदेखि नेपाली राजनीतिमा महिला मुक्ति र वर्गीय उन्मुक्ति केका लागि थियो भन्ने प्रश्नसमेत यसले उठाएको उनको बुझाई छ । 

त्यही पार्टीकी एक प्रभावशाली नेतृमाथि भने किन निर्मम टिप्पणी ? राष्ट्रियतामाथि नै प्रश्न गर्नुपर्ने स्थिति हो त सुमनाको ?

भृकुटी र सीताको प्रसँग निकाल्दै उनीहरुलाई पुज्ने नेपालमा विदेशीसँग बिहे गरेको भनेर महिलालाई होच्याउने काम भएको भन्दै उनले बेस्कन चित्त पनि दुखाए । 

'कुनै एउटा यस्तो युग थियो जहाँ,काठमाडौँकी राजकुमारी (भृकुटी) ले तिब्बतका राजासँग विवाह गरिन् । जनकपुरकी राजकुमारी (सीता) ले अयोध्याका राजासँग विवाह गरिन् र दुवै पुज्य भए', खनालले अगाडि भने, 'आज यस्तो जमाना आयो, विदेशमा उच्च शिक्षा हासिल गरेकी एउटा महिला नेतृ दश वर्षअघि देश फर्किइन् । भूकम्पको बेला औषधी लिएर गाउँ पुगिन् । नाकाबन्दीको बेला कार पुल भनेर सडकमा हिँडिरहेका मानिसलाई यात्राको सुविधा प्रदान गरिन् । उद्यममार्फत रोजगारी सिर्जना गरिन् । राजनीतिमा आइन् र मन्त्री बनिन् । उनलाई भर्खर घुम्दाघुम्दै आएर मन्त्री बनिन् भनिन्छ !’

उदेक लाग्दो कुरा चैं, पोल्याण्डका नागरिकसँग घरजम गरेकी सुमनालाई विदेशी भन्ने ओली नै हो यसअघि रवि लामिछानेलाई 'प्रधानमन्त्रीसँग सिधा कुरा' टिभी कार्यक्रम चलाउन दिने । अमेरिकाबाट फर्किएर उक्त कार्यक्रम चलाइरहँदा लामिछानेसँग त्यतिबेला नेपाली नागरिकता थिएन । राजनीतिमा लागेर सांसद/मन्त्री भएपछि अदालतको आदेशले बाध्य भएर मात्र उनले नेपाली नागरिकता जगाएका हुन् । 

लामिछानेलाई त्यतिबेला पनि ओलीले नै काँध हालेकाले गृहको कुर्सी मिलेको थियो । नागरिकता किर्तेमा उनलाई दोषी ठहर गर्ने अदालतको फैसलालाई संसद्को रोष्टमबाट चुनौती पनि ओलीले नै दिएको हो । त्यसपछि पनि लामिछानेलाई पुन: गृहमन्त्री बनाउन गरेको कसरत कम थिएन । 

अहिले पनि लामिछानेविरुद्ध राहदानी दुरुपयोगसम्बन्धी मुद्दा सर्वोच्च अदालतमा विचाराधीन छ । सहकारी प्रकरणमा उनीमाथि कानुनी र नैतिक प्रश्न उठिरहेकै छ । यो सब हुँदाहुँदै 'माउले चल्ला छोपे' जसरी लामिछानेलाई गर्लम्म अँगालो हाल्ने एमाले अध्यक्ष सुमनासँग मात्र होइन, सिङ्गै रास्वपाप्रति भने निकै आक्रामक देखिन्छन् । रास्वपालाई भंगेराको संज्ञा दिँदै उसलाई तह लगाउन तोप आवश्यक नपर्ने आशयको अभिव्यक्ति पनि उनले दिएका थिए ।

टिप्पणीहरू