सोध्न पाइन्छ तर स्पष्ट जवाफ चाहिन्छ

सोध्न पाइन्छ तर स्पष्ट जवाफ चाहिन्छ

जिन्दगीका रहरहरू पूरा गर्दै राजनीति ‘चाख्न’ आएकाले उत्तर दिनुपर्ने ठाउँमा पुग्दा केसम्म गर्छन् भन्ने कुरा रवि लामिछानेहरूबाट देखिँदैछ । 

भनिन्छ, ‘अरुसँग उत्तर खोज्नेले उत्तरदायित्व बहन गर्न तयार हुनुपर्छ ।’ हिजो प्रश्न सोध्दा उत्तर नजानिकन सोध्न पाइन्थ्यो । अब सार्वजनिक पदमा बस्नेलाई उत्तर थाहा हुनुपर्छ भनेर एकजना प्रशासकले केही वर्ष पहिले रवीन्द्र मिश्रलाई भन्दा रिसाएजस्तो गरेका थिए । त्यसपछि उनले साझा पार्टी खोले । पार्टी चलाउन मुस्किल पर्ने भएपछि विवेकशील पार्टीसँग एकता गराए । ०७४ का निर्वाचनहरूमा निक्कै जगजगी मच्चाएको उक्त दल ०७९ को निर्वाचनसम्म पुग्दा लोपोन्मुख स्थितिमा पुग्यो । अहिले रवीन्द्र राप्रपामा छन् । 

त्यसरी नै प्रश्नको माध्यमबाट जनजीवनमा आफ्नो प्रभाव बनाएका रवि लामिछाने यतिबेला उत्तरै उत्तरको चाङमा थिचिएका छन् । राहदानी, नागरिकता हुँदै सहकारी काण्डमा परेर हिजोको साझा विवेकशीलको बाटोतर्फ अग्रसर छन् ।

राजनीति, अर्थात् नीतिहरूको नेता । यसलाई अंगाल्ने व्यक्तिले देशका नियम, कानुनदेखि हरेक नीतिबारे ज्ञान राख्नु, अनुभव हासिल गर्नुपर्छ । तर, रेडियो र टेलिभिजनमा बोलेको भरमा राजनीति गर्न आउँदा व्यावहारिक हुँदैनन् र पाइला पाइलामा मार खान्छन् । वर्षौंदेखि जनताको बीचमा काम गर्दै आएका मान्छे त समय समयमा चिप्लिने गरेका छन् भने अनुभवविहीन रवि, रवीन्द्रहरूले देशलाई कसरी पार लगाउलान् ? किनभने, अरुको ईष्र्या गरेर, अरुलाई खसालेर, अरुले गर्न सकेनन् भनेर आएकाले आफैंले पनि काम गर्न सक्दैनन् भन्ने देखिन्छ । 

तर, यस्ताले कर्मकाण्डी काम भने पूरा गर्छन् । जस्तो कि निर्वाचन आयोगसमक्ष विधान समयमा पेश गर्ने, खर्च विवरण र लेखापरीक्षण प्रतिवेदन बुझाउनेजस्ता काममा उनीहरू अगाडि छन् । किनभने, ती काम आफैंले गर्नुपर्ने हैन, कर्मचारी राखिदिए भइहाल्यो । त्यसैले माघसम्म बुझाउनुपर्ने विवरण भदौमै बुझाइदिएको पाइन्छ ।

(साभार:जनआस्था साप्ताहिकबाट)

 

टिप्पणीहरू