परायको प्रयोगशाला हुँदै छौँ नेपाली

परायको प्रयोगशाला हुँदै छौँ नेपाली

राष्ट्रियता सबैका लागि उत्तिकै प्यारो हुन्छ र त्यो ज्यानभन्दा पनि प्यारो हुन्छ । राष्ट्रियताको मापदण्ड नाप्ने कुनै ‘डिग्री’ छैन । तर राष्ट्रियताको ‘डिग्री’ नागरिकको ‘स्वाभिमान’मा निर्भर गर्छ । मानिस मर्नु र बाँच्नुका दुई रूप हुन्छन् । मर्नुको एउटा रूप व्यक्तिमा स्वाभिमान नरहनु हो भने अर्को भौतिक शरीरको अन्त्य । स्वाभिमान नरहे राष्ट्रियताको मूल्य रहँदैन र राष्ट्रियताको मूल्य नरहनुको अर्थ ज्यान बाँच्नुको पनि सार्थकता रहँदैन । भनिन्छ– जननी जन्मभूमिश्च स्वर्गादपि गरियसि ।

केही दिनयता नेपाली माटोमा ‘राष्ट्रियता’को विषय गम्भीर रूपमा प्रकट भएको छ । र,  त्यो गम्भीरता नेपालीको स्वाभिमानलाई ‘मजाक’का रूपमा उठाउँदै गइरहेझैं प्रतीत भइरहेको छ । आफ्नो राष्ट्रियता,  आफ्नो स्वाभिमान अरूको राष्ट्रियता र स्वाभिमानसँग तुलना हुन सक्तैन । मेरो राष्ट्रियता मलाई जति प्यारो लाग्छ,  त्यति नै अर्को राष्ट्रियता भएको व्यक्तिलाई नलाग्न सक्छ । जो कसैलाई आफ्नो राष्ट्रियताको तुलनामा अर्काको राष्ट्रियता नराम्रो पनि लाग्न सक्छ । एकले अर्कालाई वा सबैले सबैलाई समान रूपमा मन नपराउन सक्छन् । अर्कोले मन नपराएकै कारण आफ्नो राष्ट्रियता कमजोर वा नराम्रो भनेर मूल्यांकन गर्नु हुँदैन ।

ऋतिक रोशन भारतीय हुन् । उनलाई भारतको तुलनामा नेपाल मात्र होइन,  अन्य कुनै पनि देश मन नपर्न सक्छ । नेपालीलाई पनि नेपालकै तुलनामा भारत मन नपर्न सक्छ । कसैलाई मन पर्नु र नपर्नुको आफ्नो स्वाभिमान र राष्ट्रियताको मापदण्ड तुलना गर्नु हुँदैन । यद्यपि सबैले सबैलाई सम्मान भने गर्न सक्नुपर्छ । कसैले कसैलाई सम्मान गर्न सकेन भने त्यसकै तुलनामा ऊप्रति जाइलाग्नु पनि बुद्धिमानी होइन । सबै देशबारे सबैलाई उत्तिकै जानकारी नहुन सक्छ ।

ऋतिक रोशन एउटा फिल्मी कलाकार हुन् । उनको चेतना,  बौद्धिकता र प्रतिनिधित्व सम्पूर्ण भारतीय नागरिक वा भारत सरकारको होइन । एउटा व्यक्तिको भनाइको पछि लागेर हामी आ–आफूबीच जसरी लड्यौं त्यो ज्यादै मूर्खतापूर्ण र लज्जास्पद भएको कुरा त्यसबाट उत्पन्न परिणामले नै स्पष्ट गरेको छ ।

ती नेताकाे घर लिलाममा पुगिसकेकाे छ । डेरा भाडा र पकेट खर्चसमेत नपुगेपछिकाे पीडा सहन नसकेर छाेरा जागिरै छाड्ने पक्षामा पुगेका छन्  ।

नेपाली राष्ट्रियता र स्वाभिमानविरुद्ध समय–समयमा भारततर्फबाट प्रहार हुने गरेको छ । कहिले नेपाललाई भारतकै प्रान्त मान्ने,  कहिले नेपाल पनि स्वतन्त्र देश हो र भनेर प्रश्न गर्ने,  सगरमाथा, बुद्धको सम्बन्धमा गलत प्रचार वा सीमा अतिक्रमणदेखि लिएर सिमानामा आवतजावत गर्दा नेपालीलाई अपमानित र यातना पनि दिने गरेको छ । भारतीय जनता पार्टीका वरिष्ठ सदस्य केआर मल्लानीबाट नेपाल र नेपालीको स्वतन्त्र अखण्डता र स्वाभिमानविरुद्धको अभिव्यक्तिले जति अर्थ राख्छ,  त्यति अर्थ ऋतिकको व्यक्तिगत टिप्पणीमा छैन । तर यी दुवै व्यक्तिका टिप्पणीहरू कहाँबाट, कसले, कसरी सार्वजनिक गर्‍यो भन्ने अनुत्तरित छ । ती दुवै व्यक्ति आफूबाट त्यस्तो दुराशयपूर्ण अभिव्यक्ति नभएको दाबी गरिरहेका छन् भने हामी भएकै ठहर गरेर आ–आफूमा दोषारोपण गरेर युद्ध छेडिरहेछौं ।

हाम्रो युद्ध ‘यदुवंशी’ को वंश विनाशको लडाइँ जस्तो हुन नदिन सम्पूर्ण नेपाली नागरिकमा राष्ट्रियताप्रतिको समान भावना आउनुपर्छ । आपसमा विश्वास र एकता नहुने हो भने छेउमा बसेर बाह्य शक्तिले हामीलाई त्यसरी नै जिस्क्याइरहनेछ, मजाकमा उडाइरहनेछ र आपसमा लडाएर आफ्नो स्वार्थ पूरा गर्ने कुत्सित षड्यन्त्र रचिरहनेछ । एउटा प्रचलित भनाइ छ– ‘कमजोरकी जोडी,  गाउँकी भौजाइ’ ।

आफ्नो कमजोरीको फाइदा अरू जोसुकै रूपमा पनि लिन सक्छन् । त्यसैले हामीले आपसमा अरूका कुराको पछि लागेर लड्यौं भने त्यसको रमाइलो अरूले गर्नेछन् । हामीलाई मजाकमा उडाउनेछन् र क्रमशः हताश,  निराश र कमजोर तुल्याई अस्त्र प्रयोग गर्नेछन् । अहिलेको स्थिति ठीक त्यस्तै छ । यहाँ रहेको शान्तिपूर्ण समाजमा एकैपटक अनेकौं प्रकारका विद्वेष,  घृणा,  अस्थिरता,  अशान्ति फैलाउने प्रकारका गोटी परायले चलाइरहेको छ । त्यो गोटीमा प्रत्यक्ष अप्रत्यक्ष रूपमा नेपालविरोधी आन्तरिक तत्वका अतिरिक्त नेपाली–नेपाली बीचको आन्तरिक रूपमा रहेको अस्वस्थ र अघोषित अनमेलले उत्पन्न कमजोरी वा निरीहपनमाथि बाह्य शक्तिले हामीलाई ‘टेष्ट’ वा पाइन लिने काम त गरिरहेका छैनन् ?

दुई दशकयता नेपाल–भारतबीच केही समस्या थपिएका छन् । सीमा अतिक्रमणको श्रृंखला बढेको छ भने  नाकाबन्दीको कहर र चुच्चे नक्साका विषय थपिएका सन्दर्भ हुन् । असमान भनिएका पुरान सन्धि–सम्झौताको पुनरवलोकन र संशोधन हुनुको बदला असमान सन्धि सम्झौता थपिँदै छन् ।

परायको प्रयोगशाला

नेपालमा सयौं किसिमका नमुना औषधि गैरकानुनी रूपमा बिक्री भइरहेका छन् भने त्यस्ता औषधिको कानुनी रूपमै परीक्षण पनि भइरहेको छ । अनेकौँ प्रकारका अखाद्य र मानव स्वास्थ्यका लागि प्रतिकूल वस्तुको प्रयोगशालाका रूपमा बहुराष्ट्रिय कम्पनीका उत्पादन नेपालमा भित्रिने गरेका छन् । विदेशमा प्रतिबन्ध लगाइएका खाद्य वस्तुको नेपाल भित्र्याइएका छन् । एड्सजस्तो भयानक रोगको समस्याभन्दा बढी प्रचार गराएर नेपालीलाई आतंकित र कमजोर पार्ने काम भइरहेको छ । नेपाली सु–संस्कृति,  नैतिकता र मानवीय भावनाविरुद्ध सयौं अभियान सञ्चालित छन् । यस्ता प्रकारका सूचना विभिन्न रूपमा सार्वजनिक हुने गरेको छ । तैपनि, हामीले एउटासम्म विषयमा सत्यता के हो भन्ने सम्बन्धमा गहिरिएर अनुसन्धान गर्ने वा वास्तविकता पत्ता लगाउने र हाम्रालागि प्रतिकूल गतिविधिलाई नियन्त्रण गर्न सकेका छैनौं । त्यस्तो किन भइरहेछ ? अब आफूले आफैंलाई सोध्ने,  खोज्ने र आत्मसमीक्षा तथा आत्मालोचना गरेर अगाडि नबढ्ने हो भने हाम्रो भू–भाग र जीवनमाथि त्यस्ता प्रयोग वा खेलवाड भरहनेछ ।

औषधिमा भएको लापरवाहीको अहिलेको अवस्थाको चर्चा गर्दा गत हप्ता त्रिभुवन विश्वविद्यालयको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा औषधि तथा स्वास्थ्य सामग्रीमा करोडौं भ्रष्टाचार हुने गरेको थप तथ्य सार्वजनिक भएको छ । यसै समाचारमा दुई करोड ४० लाख ६८ हजार ६ सय ९४ रूपैयाँबराबरको म्याद समाप्त भएको ४ सय ३४ थरी औषधि फार्मेसीको स्टोरमा भएको गम्भीर तथ्य पनि छानबिनले औंल्याएको छ । यसबाहेक कोरोना माहामारीका समयमा भाइरस रोकथाम तथा नियन्त्रणका स्वास्थ्य सामग्री खरिद गर्दा  भएका अनियमितता प्रकरणमा अरबभन्दा माथिको घोटाला भएको भनिएको ओम्नी लगायत थपिएका छन् ।

शरणार्थीको शरण स्थल

प्रयोगशालाको कुरा गर्दा नेपालमा विदेशीको आगमन, उनीहरूको गतिविधि र त्यसबाट उत्पन्न परिणामको चर्चा गर्न सकिन्छ । यो पछिल्लो दशक नेपालमा भुटानी शरणार्थीको समस्या जुन रूपमा आमचर्चाको विषय बनेको छ,  त्यत्तिकै समस्याका रूपमा रहेका भुटानी शरणार्थीको सम्बन्धमा कसैको ध्यान गइरहेको छैन । तिब्बतियन र भुटानी शरणार्थीको मात्र कुरा छैन,  नेपाल सानो भए पनि यहाँ विश्वका अन्य कुनै पनि देशमा भन्दा धेरे देशका शरणार्थी छन् ।

एक अनौपचारिक अध्ययनकाअनुसार यहाँ विभिन्न ७१ वटा देशका नागरिक शरणार्थीका रूपमा छन् । सबै प्रकारका गलत तत्वको आश्रय स्थलका रूपमा नेपाल प्रयोग भइरहेको छ । अनेकौं प्रकारका तस्करी र अपराधमा संलग्नहरूका लागि यो भूमि सुरक्षा कबचका रूपमा उपयोग–दुरूपयोग भइरहेको छ । नेपालमा कुन–कुन देशका के कस्ता व्यक्ति कति आउँछन् ? किन आउँछन् ? यहाँ के गर्छन् ? उनीहरू फर्कन्छन् कि फर्कंदैनन् ? हामीले त्यो सबै हेर्न सम्भव छैन । हामी त प्रतिदिन करिब ३ हजार पर्यटक नेपाल भित्रने,  त्यसबाट दिनहुँ करोडौं रुपैयाँ आर्जन हुने हिसाबको आत्मरतिमा रमाइरहेका छौं । दिनहुँको करोडौं आम्दानी र आर्थिक उन्नतिको तथ्यांक सार्वजनिक गर्दागर्दै पनि दिनप्रतिदिन गरिबभन्दा गरिब (गरिबीको रेखामुनि अझै पनि करिब २५ प्रतिशत जनसंख्या छ) हुँदैछौं, नेपाल भित्रिने सबैलाई ‘अतिथिदेवो भव’ भनेर कहिलेसम्म फूलमाला लिई स्वागत गरिरहने हो ?

शरणार्थी समस्याको चर्चा गर्दा झापा र मोरङमा रहेका करिब एक लाख १५ हजार शरणार्थी विभिन्न विकसित देशमा पुनःस्थापना भएका छन् तर अझै १० हजार भुटानी शरणार्थी कष्टकर जीवन बिताइरहेकै छन् । यसैबीच, केही वर्ष यतादेखि म्यानमारबाट विस्थापित रोहिंग्या शरणार्थीको प्रवेश नेपालमा शुरू भएको छ र यो संख्या ३ हजार नाघेको छ्र । शरणार्थीसम्बन्धी औपचारिक अभिलेखमा गृह मन्त्रालय र शरणार्थीसम्बन्धी संयुक्त राष्ट्रसंघीय उच्च आयोगका अनुसार नेपालमा अहिले विभिन्न १० देशका करिव २० हजार शरणार्थी छन् तर पनि दर्जनौं अन्य देशका गरेर यो संख्या दोब्बर हुने अनुमान छ ।

कर्महीन शिक्षामा लगानी

प्रयोगशालाको कुरा गर्दा नेपालमा शिक्षामाथि प्रयोगको अर्को ठूलो दुर्दशा छ । ४० प्रतिशत नागरिक पनि साक्षर हुन नसकेको देशमा रहेको शिक्षित बेरोजगारको लाखौंको संख्याले उपलब्ध शिक्षा बेरोजगार उत्पादन केन्द्रका रूपमा रहेको प्रमाणित गर्छ । शिक्षा प्राप्त गरेर मानिस गतिशील,  कर्मशील,  जागरुक र देश निर्माणमा सक्रिय हुनु त कता हो कता धान्नै नसक्ने महँगो शिक्षा प्राप्त गरेर नागरिकलाई अपांग,  असहाय बराबर ‘कर्म हीन’ बनाइएको छ । जुन शिक्षाले मानिसलाई आफ्नो जीविकाको लागि समेत काम गर्न नसक्ने समाज र परिवारको बोझको रूपमा उत्पादन गर्छ त्यसलाई के भन्ने ? लाखौं लगानी गरेर विदेशमा पढ्न जाने नेपालीको मोहबाट आकर्षित एक जना कांग्रेसका तराइतिरका वरिष्ठ नेताले पनि युरोपमा आफ्ना छोरालाई पढ्न पढाउनुभयो । लाखौं खर्च गर्नुपर्ने र राजनीतिमा त्यस्तो आम्दानी नहुने हुँदा घरबारी बन्धक राखी जेलनेल सहेर पनि विदेश पठाउनुभयो । इञ्जिनियरिङमा उच्च शिक्षा प्राप्त गरेर नेपाल फर्केका ती नेताका छोरा विगत ७–८ वर्षदेखि बेरोजगार भएर भौंतारिरहेका छन् ।

सत्ता पक्षमा पनि प्रतिपक्षी सरहका ती नेताको घर लिलाममा पुगिसकेको छ भने आफ्नो छोरालाई काठमाडौँ डेरामा राखेर रोजगारीको उचित अवसर खोजिरहनुभएको छ । केही महिनापहिले एउटा संस्थानमा अधिकृतको रूपमा अस्थायी नियुक्त ती नेताका छोरा प्राप्त रोजगारीबाट डेरा भाडा र ‘पकेट’ खर्चसमेत नपुगेपछिको पीडा सहन नसकेर सो जागिरै छाड्ने पक्षमा पुगेका छन् । एकदमै सत्य र पीडादायी यो उदाहरण एउटा सानो संकेत मात्र हो । जब हामी महँगो शिक्षाबाट त्यस्तो जनशक्ति उत्पादन गरिरहेका छौं भने त्यसबाट कसलाई फाइदा भइरहेछ ? त्यस शिक्षाले हामीलाई अलमल्याउने र प्रयोग गर्नेबाहेक के गर्न सक्यो त ? लगानीपछिको आम्दानी वा मुनाफाको कारण त्यस्ता शिक्षाबाट राष्ट्रलाई कस्तो सेवा पुग्ला ? त्यो शिक्षा हाम्रालागि हो कि ती देशको आम्दानीका लागि ?

नेपालीको गरिबी र अशिक्षा हाम्रा प्रमुख समस्या हुन् । त्यसमा पनि सीमित व्यक्तिसँग भएको साधन स्रोत र व्यापार, राजनीतिक अदूरदर्शिता र अस्थिरता,  सीपमूलक तथा हाम्रो आवश्यकताअनुकूल शिक्षाको अभाव,  विदेशी शक्तिको चलखेल,  धमिलो पानीमा माछा मार्ने दाउमा रहेका आन्तरिक वा बाह्य शक्तिका अतिरिक्त हामी नेपाली–नेपालीबीच भावनात्मक एकताको अभावमा हामीबीच विद्वैष फैलाउन खोज्ने पक्षको प्रभावका कारण यी समस्या उत्पन्न भएका हुन् । तसर्थ हामीले आफ्नो कमजोरीलाई अरूको तमाशा वा मजाकको विषय बनाउनबाट बच्न आपसी एकता र मित्रतालाई दरिलो बनाउन जरुरी छ । हामी सबै नेपालीका कारण अन्तरकलह र अस्वस्थ राजनीतिक प्रतिस्पर्धा हुन दिनु हुँदैन । अथवा हामीमाथि भइरहेका यी विविध प्रयोगको मात्रा बढ्दै जानुको अनर्थ परिणाम कल्पनासम्म गर्न सकिँदैन ।

२ दशकयता साक्षरताको प्रतिशत ७६ प्रतिशत पुगेको छ । तर, यही समयावधिमा  शिक्षित  बेरोजगार बढ्नाले प्रतिवर्ष २ लाखभन्दा धेरै युवा वैदेशिक रोजगारीका लागि विदेश जाने गरेका छन् । यस समयावधिमा वैदेशिक रोजगारीका लागि करिब ५५ लाख युवा देशबाहिर गए । गरिबीको रेखामुनिको जनसंख्या घटेको र प्रतिव्यक्ति आयमा भएको वृद्धिको सूचांक यही वैदेशिक रोजगारी र त्यसबाट प्राप्त आर्जनसँग जोडिएको छ । नेपालीहरूको प्रतिव्यक्ति आय र गरिबीको मापदण्डभन्दा माथि गएको सूचांक भ्रमपूर्ण छ । अनौपचारिक रूपमा ४० लाख नेपाली नागरिक अहिले पनि देशबाहिर रहेको अनुमान छ भने औपचारिक अध्ययनअनुसार यो संख्या २१ लाख छ । यो तथ्य देशको शिक्षा नीतिले देशको आन्तरिक रोजगारी र आवश्यकतालाई सम्बोधन गर्न नसक्नुकै परिणाम हो । शिक्षाको अवस्था र परिणमाको चर्चा गर्दा गत महिना सार्वजनिक यो समाचार उदाहरणीय छ– शैक्षिक सत्र २०७१ मा कक्षा १ मा ११ लाख ३६ हजार विद्यार्थी भर्ना भएकोमा गत चैतमा सञ्चालित एसईईसम्म (कक्षा १०) आइपुग्दा घटेर ५ लाख हाराहारी पुगेको थियो ।

(साभार:जनआस्था साप्ताहिकबाट)

 

टिप्पणीहरू