जनस्वास्थ्यमा जटिल समस्याको कारण : चाउचाउ

जनस्वास्थ्यमा जटिल समस्याको कारण : चाउचाउ

मैदाबाट बनेका खानेकुरा पछिल्लो समय निकै लोकप्रिय छ । चाउचाउ, बिस्कुट, केक, दालमोठ, चाउमिनलगायत खानेकुरा सबैको रोजाइमा पर्छ । पकाउने झण्झटरहित र जिब्रोमा स्वाद हुने भएकाले नयाँ पुस्तालाई यी खानेकुरा असाध्यै मनपर्छ । 

भोक लाग्नेबित्तिकै उनीहरु प्याकेजिङ खाना खोज्छन् । स–साना बालबालिकासमेत प्याकेटकै खानेकुरा रुचाउँछन् । स्कुले बालबालिकाहरु घरमा पकाएको खानेकुरा देख्नेबित्तिकै मुख बिगार्छन् । किन कि आकर्षक प्याकेजिङ गरेको खानामा उनीहरुको जिब्रो अभ्यस्त भइसकेको छ । यता, अभिभावकले पनि आफ्ना सन्तानलाई खाजामा प्याकेजिङ खानेकुरा नै दिन सजिलो ठान्छन् ।

बालबालिकालाई फकाउनका लागि प्याकेटका खानेकुरा दिने गरिन्छ । सानैदेखि बानी लगाइएकाले बालबालिका अरु खाना खानै मान्दैनन् । यसकारण उनीहरुको स्वास्थ्यमा गम्भीर असर परिरहेको छ । बजारमा पाइने प्याकेजिङ खानेकुरालाई ‘जङ्कफुड’ भनिन्छ । नेपालीमा भन्नुपर्दा ‘पत्रु खाना’ । जसको अर्थ ‘काम नलाग्ने’, ‘बेकारको’  वा ‘अस्वस्थकर खाना’ हो । 

पत्रु खाना जिब्रोका लागि त स्वादिष्ट होला तर यसले स्वास्थ्यमा पुर्याउने असर ठूलो छ । लामो समय प्याकेटमा टिकाइराख्न विभिन्न रसायन हालिएको खानेकुराले मुटुसहित शरीरका विभिन्न अंगमा हानी गर्ने डा.अरुणा उप्रेती बताउँछिन् । 

उनका अनुसार मैदा मन्दविष हो । मैदा बनाउन बेन्जोइल पेरोअक्साइड नामक रसायन प्रयोग गरिएको हुन्छ, जुन स्वास्थ्यका लागि घातक मानिन्छ । यसले क्यान्सरसमेत हुने उप्रेतीको भनाइ छ । 

चाउचाउ, बिस्कुट, केक, चाउमिनलगायतका खानेकुरा मैदाबाट बनाइएको हुन्छ । यी खानेकुरालाई जिब्रो लोभ्याउने बनाउन विभिन्न रासायनिक पदार्थको प्रयोग गरिन्छ । चाउचाउलाई स्वादिलो बनाउन र सड्न नदिन अजिनोमोटोलगायत रासायनिक पदार्थ हालिन्छ । 

बालबालिकाहरुले अत्यधिक मात्रामा चाउचाउजस्ता पत्रु खाना खाँदा कुपोषणको समस्या देखिने उप्रेतीको भनाइ छ । चाउचाउ धेरै खुवाएमा बालबालिका बढ्न नसक्ने, मस्तिष्कमा नकारात्मक असर पर्ने उनी बताउँछिन् । नियमित यस्ता खानेकुरा खाँदा बालबालिकामा मोटोपनाको समस्या आउन सक्छ । त्यस्तै, शरीरको रोग प्रतिरोधात्मक क्षमता पनि घट्छ । 

यसले कब्जियत, पाइल्सलगायतका जटिल स्वास्थ्य समस्या पनि निम्त्याउँछ । यद्यपि, मैदाजन्य खानेकुराको उपभोगमा कमी आउन सकेको छैन । मैदाजन्य खानेकुरालाई निरुत्साहन गर्नुको साटो स्वास्थ्यकर्मीहरुले नै प्रोत्साहन गरिरहेको डा.उप्रेतीको जिकिर छ । 

अछामको एउटा घटना स्मरण गर्दै उनले सामाजिक सञ्जालमा लेखेकी छन्, ‘केही वर्षअघि अछामको मंगलसेनको अस्पतालमा स्वास्थ्यकर्मीहरुसँग छलफल थियो । त्यहाँ उनीहरुले खाजाको प्रस्ताव गरे । हाम्रो ध्यान स्थानीय उत्पादनतिर गएको थियो तर उनीहरुले ‘लौ खाऔं तातोतातो चाउचाउ’ भन्दै ल्याएर राखिदिए । पकाएको चाउचाउको वाफसँगै आउने अजिनोमोटोको गन्धलाई त्यहाँका जनस्वास्थ्य अधिकृतले ‘आहा, कस्तो मिठो बास्ना ल खाऔं’ भनेको सुन्दा छक्क परियो । अस्पतालका कर्मचारीले नै सजिलोका लागि यस्ता जङ्कफुड खाने गरेको बुझियो ।’

त्यस्तै, अछामकै तत्कालीन चण्डिका गाविसकी ३ वर्षीया बालिकालाई अत्याधिक चाउचाउ र बिस्कुटको सेवनले रक्तअल्पता भएको पाइएको उनले उल्लेख गरेकी छन् ।

(डा.अरुणा उप्रेतीको सामाजिक सञ्जालमा व्यक्त धारणामा आधारित)

टिप्पणीहरू