भारत–पाकिस्तान सम्बन्धमा जमेको बरफ अब फुट्ला ?

भारत–पाकिस्तान सम्बन्धमा जमेको बरफ अब फुट्ला ?

दक्षिण एशियाली दुई ठूला मुलुक भारत र पाकिस्तानबीचको सम्बन्ध लामो समयदेखि तिक्ततापूर्ण रहँदै आएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले हालै तेस्रो कार्यकालको निम्ति पदभार ग्रहण गरेपछि कम्तीमा खराब सम्बन्धमा सामान्य सुधार आउने दक्षिण एशियाली राजनीतिक विश्लेषकहरुको बिश्वास छ ।

जेठ २७ गते पदभार ग्रहणपछि मोदीको सन् २०१४ को पहिलो र सन् २०१९ को दोस्रो कार्यकालसँग तुलना गर्दै विश्लेषकहरुले यस पटक उक्त आशावादी संकेत गरेका हुन् । एक दशकसम्म आफ्नै दल बिजेपीको एकल बहुमतको सुविधामा रहेका मोदी यसपटक गठबन्धन दलको भरमा सरकारमा पुगेका हुन् ।

मोदीको पहिलो शपथ ग्रहण समारोहमा आमन्त्रित अन्य पाहुनाझैँ पाकिस्तानका तत्कालीन प्रधानमन्त्री नवाज सरिफ पनि नयाँ दिल्लीको निम्तालु बनेर हैदराबाद हाउस पुगेका थिए । सोही वर्ष भारतीय प्रधानमन्त्री मोदी सरिफकी नातिनीको विवाहमा निम्तो मान्न पाकिस्तानको लाहौर नजिकै पुगे । बिहान त्यहाँ पुगेका उनी अपरान्ह फर्केका थिए ।

तर,त्यसपछि दक्षिण एशियाली राष्ट्रहरुको सहयोग संगठन सार्कको ठूला दुई मुलुकका नेताहरुबीच आमनेसामने भेटवार्ता हुन छाड्यो । कालान्तरमा जम्मु- काश्मिरको सीमा विवादलाई देखाउँदै सम्बन्ध थप तनावपूर्ण बनेको हो । 

गत जेठ २७ गते राजधानी नयाँ दिल्लीमा शपथ ग्रहण समारोहको तयारी चलिरहँदा भारत नियन्त्रित जम्मु काश्मिरमा हिन्दु तीर्थालु यात्रारत एउटा बसमाथि आक्रमण भयो । रियासी जिल्लामा भएको उक्त घटनामा नौ जनाको निधन र ३० जनाभन्दा बढी घाइते भए । सँधैझैँ उक्त घटनामा पनि भारतीय पक्षले पाकिस्तानी संलग्नताको आरोप लगायो । तर, पाकिस्तानी विदेश मन्त्रालयका प्रवक्ता मुम्ताज जारा बलोचले तत्काल भारतीय उक्त आरोपको खण्डन गरे ।

"मोदीले छिमेकका अन्य सरकार प्रमुखलाई निम्तो गरे पनि पाकिस्तानलाई छुटाए भने ७२ जनाको जम्बो क्याबिनेटमा २५ करोडको आवादी रहेका मुस्लिमलाई कुनै भाउ दिएनन् ।"
 

उक्त घटनाको दुई साता बितिसक्दा पनि भारत र पाकिस्तान नियन्त्रित काश्मिरका स्थानीयबीच परस्परविरोधी धारणा आइरहेका छन् । भारतीय राज्य पक्षले त्यहाँका मुसलमानमाथि थप धरपकड गरेको पाकिस्तान नियन्त्रित काश्मिरका बासिन्दाको भनाई छ । भारतीय पक्षले भने हिन्दु तीर्थालु बोकेको बसमा भएको आक्रमणमा पाकिस्तानको हात रहेको एकोहोरो आरोप लगाएको छ ।

भारतका लागि पाकिस्तानी पूर्व उच्चायुक्त सलमान बासिर भारतीय प्रधानमन्त्री मोदीको सामुन्ने एक दशकअघिको तुलनामा अहिले परिस्थितिले कोल्टे फेरेको बताउँछन् । छिमेकी मुलुकहरु विशेषगरी पाकिस्तानसँगको सम्बन्ध सुधार्न पछिल्लो राजनीतिक समीकरणले सामान्य दबाबमा पारेको उनको ठम्याई छ । किनभने सन् २०१९ को चुनावमा मोदीले पाकिस्तान विरोधी छवि र प्रचार गरेका कारण बिजेपीले लोकसभामा ३ सयभन्दा बढी सिटमा जीत हासिल गरेको थियो । तर, अहिले घटेर २४२ मा सीमित भएको छ ।

तर, तेस्रो पटकको शपथ ग्रहण समारोहमा मोदीले छिमेकका अन्य सरकार प्रमुखलाई निम्तो गरे पनि पाकिस्तानलाई छुटाए भने ७२ जनाको जम्बो क्याबिनेटमा २५ करोडको आवादी रहेका मुस्लिमलाई कुनै भाउ दिएनन् । यसबाट मुस्लिम र पाकिस्तानलाई हेर्ने दृष्टिकोणमा उनी झन् कठोर हुने अर्काथरी विश्लेषकहरुको बुझाई छ ।

(एजेन्सीहरुको सहयोगमा)

टिप्पणीहरू