फेरिएको चुलो, खै त यसको ओखतीमुलो
इतिहास हेर्ने हो भने हाम्रा सबै नेताको इतिहास उस्तै उस्तै र उत्तिकै उत्तिकै गर्विलो देखिन्छ । त्यो नेतृत्वप्रति कतिसम्म श्रद्धा र सम्मान थियो भने एक से एक कार्यकर्ताले उहाँको अक्षरजस्तै आफ्नो पनि अक्षर बनाउने कोसिस गर्थे । उहाँले जसरी बोल्नुहुन्छ, जसरी भाषण गर्नुहुन्छ आफ्नो बोलीचालीको शैली, भाषण गर्ने तरिका पनि ठीक उहाँकै जस्तै बनाउने प्रयास गर्थे । मानौं उहाँहरू नायक हो, जनताका मुक्तिदाता हो, न्याय र समानता दिलाउने मसिहा हो र आम मानिसको असल अभिभावक हो । यस्तो अपार माया, सम्मान र श्रद्धा बिरलै मानिसहरूप्रति सुन्न र देख्न पाइन्छ । उहाँहरूकै नेतृत्वमा देशबाट राणाशाही फ्याँकियो, पञ्चायती राज फालियो र गणतन्त्र, संघीयता, धर्मनिरेक्षता, समावेशीतासहितको गणतन्त्रात्मक शासन प्रणाली स्थापना भएको छ ।
देश र जनताको निम्ति पुर्याएको यस्तो योगदान असाध्यै ठूलो हो र उक्त योगदानको देश र जनताले सदैव सम्झना र सम्मान गरि नै रहनेछन् । तर सिक्काको दुई पाटा भएजस्तै मानिसका पनि एकभन्दा बढी चरित्र हुन सक्छन् भनेर मान्नुपर्छ र उसको मूल्यांकन तदनुसार नै गरिनुपर्छ । ओली, देउवा, प्रचण्डजीहरू अर्को दलको सदस्य भएको कारणले नेकपा(एस) को महाधिवेशनलाई लिएर हुने बहस र छलफलमा उहाँहरूलाई तानिरहनु आवश्यक छैन । अहिले हामीले छलफल गर्ने भनेको नेकपा (एस) को नेतृत्व कस्तो हुनुपर्छ, यसको आर्थिक, सामाजिक, साँस्कृतिक तथा राजनीतिक नीति र आगामी कार्यक्रम कस्तो बनाउने भन्ने विषयमा हो । यसो भन्नुको अर्थ हो– यो महाधिवेशन सकिने दिनसम्म उल्लिखित विषयमा वस्तुपरक तर अत्यन्तै निर्मम भएर, कठोरभन्दा कठोर आलोचना गर्दै तर एकदमै हार्दिकतापूर्वक छलफल गर्ने, निश्कर्ष निकाल्ने र त्यसअनुसार अघि बढ्ने ।
पार्टीले राम्ररी आकार ग्रहण गरिसकेकाे छैन तर गुटबन्दी उस्तै देखिन्छ, शीर्ष तहमा काटमारकै अवस्था छ, पानी बारबारकै स्थिति छ भन्छन् ।
नेकपा (एमाले) भित्र विद्रोह गरेर बनेको पार्टी हो नेकपा (एस) । पार्टीलाई विधानअनुसार चलाइएन, अध्यक्षले मनोमानी गर्नुभयो, सरकार पनि संविधानको स्पिरिटअनुसार चलाइएन, पटक–पटक संविधान मिच्ने काम भयो, पार्टीको आन्तरिक लोकतन्त्र थप फराकिलो होला भन्दा झन्भन्दा झन् साँघुरिँदै गयो, फरक विचार राख्नेहरूको निम्ति पार्टीभित्र स्पेस नै भएन अर्थात लेबल प्लेइङ फिल्ड रहेन भनेर नै होइन त विद्रोहको झण्डा उठाएको ? त्यो बेला गरेको विद्रोहको औचित्य अहिले पुष्टि हुने अवस्थामा छ कि छैन ? छ भने ठीकै भयो । यदि छैन भने किन भएन भनेर कारण खोज्नु र विद्रोहको औचित्यलाई पुष्टि गर्नुपर्छ ।
कस्तो पार्टी बनाउने ?
हामीले बनाउने भनेको पार्टी सैद्धान्तिक, वैचारिक तथा राजनीतिक हिसाबले स्पष्ट पार्टी हो । यो भनेको सबै सदस्य श्रम गरेर कमाउने, कमाएको धनअनुसार हुने कर राज्यलाई तिर्ने, कुनै पनि प्रकारको घुस/उपहार नखाने/नलिनेहरूको पार्टी बनाउने भनेको हो । विद्रोह गर्दाको हाम्रो संकल्प पनि हो यो । पार्टी बनाउने कुरामा यदि प्रष्टता रहेन भने क्रान्तिकारी पार्टीको त कुरै रहेन, कस्तैखाले पार्टी पनि बनाउन सक्नेछैनौं, त्यस्तो पार्टी बन्दा पनि बन्दैन । पार्टी जोर कि बिजोर गरेर त चल्दैन नि ! यो पार्टीलाई जनताको पार्टी बनाउने हो । जनताको पार्टी बनाउन पहिला हामी को हौं र किन अर्को क्रान्तिकारी पार्टी चाहियो भनेर आम जनतालाई बुझाउन सक्नुपर्छ । किनभने कार्यकर्ता निर्माण हुने पनि जनताबाटै हो ।
हामीले आफूमा स्पष्टता ल्यायौं र त्यो कुरा जनतामा प्रवाह गर्न सक्यौं भने त्यसले कार्यकर्ता, समर्थक र जनतामा अभूतपूर्व उत्साह र ऊर्जा पैदा गराउन सकिनेछ । जनता र कार्यकर्तामा पैदा हुने ऊर्जाले नै पार्टी निर्माण हुन्छ र त्यसैले नै पार्टीलाई अघि बढाउने हो । किनभने जनतामा पैदा हुने ऊर्जा रेलको इञ्जिनजस्तै हो । वामपन्थी आन्दोलनलाई बलियो बनाउन र अघि बढाउन जनताको भावनालाई बुझ्ने र त्यसको नेतृत्व गर्न सक्ने पार्टी बनाउनुको विकल्प छैन । तर, पार्टी पुनर्गठनदेखि आजको मितिसम्म आइपुग्दा यस प्रकारको प्रष्टता, त्यस किसिमको सोँच र तदनुसार लगनशीलताको धेरै ठूलो अभाव देखिएको छ । यही कारणले हो सायद कि सदस्यहरूले अन्यत्र ज्वाइन गरिरहेका छन् । पार्टीले राम्ररी आकार ग्रहण गरिसकेको छैन तर गुटबन्दी उस्तै देखिन्छ, शीर्ष तहमा काटमारकै अवस्था छ, पानी बाराबारकै स्थिति छ भन्छन् ।
कस्तो नेतृत्व ?
हाम्रो पार्टीमा नेताहरूको चरित्र र विचारधारा फरक–फरक छन् भन्दा फरक नपर्ला । अध्यक्ष कमरेडको भनाइमा जबज नै हो पार्टीको सिद्धान्त र कार्यक्रम । सम्मानित नेता र महासचिवको कुरा भिन्दै छ । हामीलाई चाहिएको सामाजिक न्याय, समानता, राष्ट्रिय एकता, अन्तर्राष्ट्रिय भाइचाराजस्ता मुद्दामा ध्यानकेन्द्रित गर्न सक्ने नेतृत्व हो । आम तौरमा समाजमा हुने अन्याय, असमानता, र भ्रष्टाचारविरुद्ध संघर्ष गर्ने, त्यसविरुद्ध लड्न सक्ने नेतृत्व बनाउने हो । समयअनुसारको विचार निर्माण गर्न सक्ने, आजको ज्ञान–टेक्नोलोजीको, वैस्विक अर्थतन्त्रको, वातावरणको, पुँजी निर्माण र बितरणको आदि आदि भएको र अरुलाई पनि अध्ययन र अभिप्रेरित गर्नसक्ने नेतृत्व चुन्ने हो । चुरोट र रक्सी खाए कारबाही गर्छु भन्नु वास्तवमा सामन्ती सोच हो, यस्तो नेतृत्वको जरुरत क्रान्तिकारी पार्टीको निर्माणनिम्ति आवश्यक छैन ।
कस्तो नीति ?
हामीले भनेको कुरा हो समाजवाद । अब समाजवादको दिशामा हिँड्न कस्तो नीति र कार्यक्रम चाहिन्छ होला ? जनतालाई आर्थिक न्याय दिनुपर्छ । शैक्षिक न्याय चाहिन्छ । सामाजिक न्याय चाहिन्छ । युवालाई रोजगारी चाहिन्छ । महङ्गाइबाट छुटकारा चाहिन्छ । गतिलो आवास चाहिन्छ । राम्रो अस्पताल चाहिन्छ । कहिल्यै नकाटिने बिजुलीको सप्लाई चाहिन्छ । बाँझो जमिनमा मात्रै होइन निरन्तर खेती गर्न सिञ्चाइको सुविधा चाहिन्छ । किसानको उत्पादनको उचित मूल्य चाहिन्छ । सुरक्षित र भरपर्दो यातायात चाहिन्छ । अनुसन्धानको निम्ति प्रयोगशालाहरू चाहिन्छ । उद्योगहरू चाहिन्छ । राम्रा शिक्षक, प्रोफेसर, डाक्टर, इञ्जिनियर, प्रशासक, प्रहरी, सेना चाहिन्छ ।
हामीले समाजवादको आधार तयार पार्न काम गर्ने हो भनेर भनेको हुनाले त्यस लक्ष्यलाई हासिल गर्न यी माथि उल्लिखित विषयलाई ध्यानमा राखेर नीति तथा कार्यक्रम बनाउनुपर्छ । जनताले पत्याउनुभन्दा पहिले कार्यकर्ता कन्भिन्स हुनुपर्छ कि यो पार्टीले वास्तवमै जनताको हितमा काम गर्दै समाजवाद निर्माणको बाटोमा देशलाई हिँडाउनेछ भनेर । ‘जब जागा तब सबेरा’ भनेजस्तो यो महाधिवेशनको मञ्चबाट नयाँ, जनताको हित गर्ने, क्रान्तिकारी नीति तथा कार्यक्रम बनाउने हो भने यसलाई ढिलो भएको भन्न मिल्नेछैन । तर, बनाउनुपर्यो बस् !
(साभार:जनआस्था साप्ताहिकबाट)
टिप्पणीहरू