पत्रकार महासंघको चुनाव गराउन संघको माग

पत्रकार महासंघको चुनाव गराउन संघको माग

श्रमजीवी पत्रकार संघले नेपाल पत्रकार महासंघको स्थगित निर्वाचन कार्यक्रम अघि बढाउन आग्रह गरेको छ । 

पत्रकार महासंघलाई प्रभावशाली बनाउन नयाँ नेतृत्व आवश्यक पर्ने जनाउँदै संघले चुनाव नरोक्न भनेको हो । पत्रकारिता क्षेत्रमै लागेर जीविकोपार्जन गर्ने श्रमजीवी पत्रकारलाई आफ्नो नेतृत्व आफैँ छान्ने सहजीकरणको वातावरण संघले माग गरेको छ । 

‘श्रमजीवी पत्रकारहरुको साझा र प्रभावशाली संगठन बनाउने प्रक्रिया तत्काल खोल्न हामी जोडदार माग गर्दछौं । पत्रकारिता क्षेत्रबाट नै जीविकोपार्जन गर्ने, यसलाई नै सम्मानित पेशा बनाउनेहरुलाई नै आफ्नो नेतृत्व छान्न सहजीकरण गरियोस्', संघले विज्ञप्ति सार्वजनिक गर्दै भनेको छ, 'वर्षौं अघिदेखि पत्रकारिता छाडेका, पत्रकारिताका नाममा राजकीय लाभको पत्र, एनजीओ, आईएनजीओमार्फत विदेश यात्रा, आर्थिक लाभ लिइरहेकाहरु होइनन्, श्रमजीवी पत्रकारहरु नै वास्तवमा सार्वभौम हुने अवस्थाको सिर्जना गरियोस् ।’ 

चुनाव नहुँदा महासंघ बेवारिसे हुने खतरा बढेको उल्लेख गर्दै विज्ञप्तिमा निर्वाचनको विषयमा महासंघका अध्यक्ष विपुल पोखरेलले महाधिवेशन मण्डलतर्फ जिम्मेवारी देखाउने गरेको गुनासो पोखिएको छ । 

भनिएको छ,‘श्रमजीवी पत्रकारहरुको साझा संस्था नेपाल पत्रकार महासंघको महाधिवेशनको उद्घाटन भएर तय भएको निर्वाचनको तिथि स्थगित भएपछि एउटा अन्यौलको वातावरण बन्यो । महासंघका अध्यक्ष विपुल पोखरेलले महाधिवेशनमा अध्यक्ष मण्डल बनिसकेपछि कार्यसमिति अधिकारविहिन भएर तदर्थ समितिमा बदलिएकाले अध्यक्ष मण्डलतिर जिम्मेवारी देखाउने, महाधिवेशन सम्पन्न गर्न बनेको तीन सदस्यीय अध्यक्ष मण्डलले निर्वाचन नभएको जिम्मेवारी नलिने अवस्था रह्यो । वास्तवमा इतिहासमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता तथा कहिलेंकाहीँ श्रमजीवी पत्रकारहरुको मुद्दामा सकारात्मक भूमिका खेलेर स्थापित पत्रकार महासंघ बेवारिसे बन्ने खतरा बढ्यो ।’

संघले श्रमजीवी पत्रकारहरुको हकहित, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका लागि लड्ने साझा संगठनको रुपमा महासंघलाई थप सुदृढ बनाउन पनि अनुरोध गरेको छ । 

महासंघले गत जेठ २६ गतेका लागि निर्वाचन तोकेको थियो । तर, सदस्यता शुद्धीकरणलाई लिएर विवाद भएपछि अन्तिम समयमा निर्वाचन स्थगित गरिएको हो ।

संघले निर्वाचन प्रक्रिया अघि बढाउन दबाब दिनका लागि गत असार ५ र ६ गते हस्ताक्षर अभियानसमेत चलाएको थियो ।

टिप्पणीहरू