चिनियाँ पुरुषलाई नेपाली केटी खोज्दिने सुन्दरी पक्राउ

चिनियाँ पुरुषलाई नेपाली केटी खोज्दिने सुन्दरी पक्राउ

बिबाहको प्रलोभनमा पारेर युवतीलाई चीन पुर्याएर बेच्ने एक महिला पक्राउ परेकी छन् । उदयपुर त्रियुगा नगरपालिका- १ जोगीदहकी ३१ वर्षीया सुन्दरी राई पक्राउ परेकी हुन् ।

फेसबुकमार्फत सम्पर्कमा आएकी एक युवतीलाई उनले चिनियाँ नागरिकसँग बिहे गरेमा सुख पाइने लोभ देखाएकी थिइन् । सुन्दरीले ती युवतीलाई आफू पनि चिनिया पुरुषसँग बिहे गरेर १० वर्षदेखि चीनमा बस्दै आएको बताएकी थिइन् ।

त्यसपछि ती युवतीलाई विहे गर्ने पुरुषसँग भेट्न भन्दै ठमेल पुर्याएको प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोको अनुसन्धानबाट खुलेको छ । सुन्दरीले युवतीलाई सुनियोजित रुपमा गत वर्ष फागुन १० गते चीन पुर्‍याएको ब्युरोका एसपी गौतम मिश्रले जानकारी दिए । उनका अनुसार युवतीको भिजिट भिसाको लागि दूतावासमा चिनियाँ पुरुषले नै सहयोग गरेका थिए । 

ती युवतीले चीन पुगेपछि मात्र आफू डेढ लाखमा बेचिएको थाहा पाएकी थिइन् । त्यहाँ उनी लगातार शारिरीक र मानसिक यातनासहित यौन शोषणमा परेपछि नेपाली दूतावासलाई सम्पर्क गरेको एसपी मिश्रले जानकारी दिए । त्यसपश्चात उनी गत असार ९ गते नेपाल फर्कन सफल भएकी थिइन् । 

ब्यूरोले सुन्दरीलाई मानव बेचविखन तथा ओसारपोसार मुद्धामा काठमाडौँ जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी अनुसन्धान गरिरहेको छ । युवतीलाई बिबाह गर्ने भनिएका चिनियाँ पुरुष र यसमा संलग्न अन्य व्वक्तिहरुको खोजी भइरहेको ब्यूरोले जानकारी दिएको छ ।

टिप्पणीहरू