थालियो लामखुट्टेको ‘लार्भा नष्ट’ अभियान

थालियो लामखुट्टेको ‘लार्भा नष्ट’ अभियान

काठमाडौं महानगरपालिकाले डेंगी फैलाउने लामखुट्टेको ‘लार्भा नष्ट’ अभियान शुरु गरेको छ । महानगर क्षेत्रभित्र डेंगी फैलिन नदिन अभियानको थालनी गरिएको बताइएको छ ।

महानगरको स्वास्थ्य विभागले डेंगी रोग फैलाउने लामखुट्टेको बासस्थान र लार्भा नष्ट गर्ने तथा रोगबाट बच्न समुदायको सचेतना बढाउन अभियान शुरु गरिएको जनाएको छ । 

फोकल पर्सन ऋषि भुसालका अनुसार यो अभियानमा ६४ जना स्वास्थ्यकर्मी र पाँच सय ५८ जना महिला स्वास्थ्य स्वयम्सेविका परिचालन गरिएको छ ।

 

अभियानमा सडकमा पानी जमेका खाल्टा पुर्ने, पानीका भाँडा, टायर तथा अन्य स्थानमा जमेको पानी हटाउने, लामखुट्टेको प्रजनन प्रणाली र रोग फैलिन सक्ने अवस्थाका बारेमा जानकारी गराउनेजस्ता काम भइरहेको जनाइएको छ । 

फोकल पर्सन भुसालले डेंगी रोगको लक्षण देखिएका बिरामीहरुको परीक्षण र औषधोपचारका लागि स्वास्थ्य प्रवद्र्धन केन्द्रमा व्यवस्था मिलाइएको पनि जानकारी दिए । 

महानगरले सडक किनाराका खाल्टाखुल्टीमा जम्मा भएका पानीमा लामखुट्टेले फूल पार्नसक्ने भएकोले लार्भा नष्ट गर्न लार्भिसाइड औषधिको समेत प्रयोग गरेको जनाएको छ ।

 

महानगरका अनुसार यो जैविक औषधि हो । यसले लामखुट्टे र त्यसका लार्भाबाहेक कसैलाई पनि हानी पुर्याउँदैन । यसलाई पानीको माथिल्लो भागमा छर्किन्छ । यो औषधिले लार्भाको पेटमा विष उत्पन्न गरी उसको पाचन प्रक्रिया नष्ट गर्दछ । 

जसले लामखुट्टेको पूर्ण रुपमा विकसित हुन नपाउँदै उसको लार्भा मर्छ । औषधीले डेंगुसहित फिलारिया, औलो (मलेरिया) जस्ता रोग फैलाउने सबै प्रजातिका लामखुट्टेको लार्भा र प्युपा नष्ट गर्ने महानगरले जनाएको छ । 

महानगरले डेंगीको बारेमा परामर्श लिन निःशुल्क हटलाइन टेलिफोन नम्बर ११८० चौबिसे घण्टा सञ्चालनमा रहेको पनि जानकारी दिएको छ । साथै, अस्पताल जानु परेमा १०२ नम्बरमा सम्पर्क गरेर निःशुल्क एम्बुलेन्स प्रयोग गर्न सकिने व्यवस्था मिलाइएको छ ।

 

स्वास्थ्य प्रवद्र्धन केन्द्रहरुमा डेंगी रोगको उपचारका लागि चाहिने सिटामोल, जीवनजललगायत आवश्यक औषधिको वितरणको व्यवस्था पनि गरिएको महानगरले बताएको छ ।

टिप्पणीहरू