पर्खालभित्र र बाहिरको पीडा

पर्खालभित्र र बाहिरको पीडा

स्व. कवि वासु शशीको एउटा कविता छ– पर्खाल लगाएपछि धेरै थोक बाहिर पर्छ । कविले ‘पर्खाल’लाई केको बिम्ब बनाए, त्यो उनै जानुन् । तर, नेपाली सेनाका पूर्वसुवेदार मोहन थापाका दुई पुस्तक पढेपछि पर्खालका केही नयाँ आयामबारे नयाँ कुरा अवगत भयो ।

सेना र प्रहरीको ब्यारेकमा बाहिरबाट पर्खाल वा बार लगाइएको हुन्छ । यसको सामान्य कारणको रूपमा सुरक्षालाई लिन सकिन्छ । तर, थापाका पुस्तक ‘जंगी अड्डा विगत र वर्तमान’ र ‘ती सैनिकः मृत्युदण्ड दिइएका, हत्या गरिएका र आत्महत्या गर्न बाध्य पारिएका सैनिक’ ले सेना र प्रहरीको ब्यारेकमा ‘पर्खाल’ लगाइनुको अप्रत्यक्ष कारणबारे अनेकौं विषय बोलेको छ । सिन्धुलीमा जन्मे÷हुर्केका थापाले १७ वर्ष नेपाली सेनाको जिम्मेवारी सम्हाले । पहिलो पुस्तकमा जागिरे जीवनकालमा उनी आफ्नो कर्तव्यप्रति इमान्दार रहे र इतिहासप्रति कुन हदसम्म जिम्मेवार हुन सके भन्ने विषय समेटिएको छ । दोस्रो पुस्तकले सैनिक इतिहासको बेलिविस्तार लगाएको छ । सामान्य गल्ती र आरोपमा पनि सैनिक योद्धाहरूले ज्यान दिनुपरेको वास्तविकता पुस्तकले उजागर गरेको छ ।

तत्कालीन शाही नेपाली सैनिक रेडियो कार्यक्रम होस् वा सिपाही मासिक र वार्षिक पत्रिका प्रकाशन– पूर्वसुवेदार थापाले दिलोज्यान दिएर काम गरे । उनले लेखेका गीतिकथा, रूपक, नाटकले अहिले पनि सैन्य क्षेत्रमा काम गर्नेहरूलाई उर्जा प्रदान गर्छ । दशैँ, तिहार, पृथ्वीजयन्ती, महाशिवरात्रि र सेनादिवसजस्तो विशेष दिनमा समेत थापाका सिर्जना गुञ्जिएको पाइन्छ । उनका नाटकहरू ‘कर्तव्य’, ‘राष्ट्रमाथि’, ‘प्रतिक्षा’ र ‘सुहागरात’ले त्यतिबेला राम्रै प्रभाव पार्‍यो । त्यस्तै उनको ‘मर्म’, ‘तृष्णा’, ‘समर्पण’, ‘आतंकित मन’, ‘स्मृति’, ‘हारजीत’, ‘पल्टने दाइलाई बैनीको पत्र’, ‘सारासँगको त्यो रात’ जस्ता गीतीकथाले पनि राम्रो चर्चा पाएका थिए ।

टिप्पणीहरू