गृहमन्त्रीलाई कांग्रेसको प्रश्न - जिबी राईलाई समात्ने कि माइकमा फुक्दै हिँड्ने ?
नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सहकारी ठगी प्रकरणमा मुछिएका जिबी राईलाई किन पक्राउ नगरेको ? भनी गृहमन्त्री तथा जिबी राइका तत्कालीन पार्टनर रवि लामिछानेलाई सोधेका छन् ।
अस्ति बिहीबार गृहमन्त्री रविले एक सार्वजनिक कार्यक्रममा जिबीको लोकेशन पत्ता लागेको बताएका थिए । त्यसप्रति चासो राख्दै आज प्रतिनिधि सभा बैठकमा कांग्रेस महामन्त्रीले लोकेशन पत्ता लागेको भए किन नसमातेको भनेर प्रश्न गरेका हुन् ।
फरार आरोपितको लोकेशन थाहा भयो भन्दै सूचना सार्वजनिक गर्नुले भगाउने नियत हुनसक्ने शर्माको आशंका छ । गृहमन्त्रीले लोकेशन पत्ता लागेको जानकारी दिएको ४ दिन बितिसकेको बताउँदै उनले जिबिलाई कहिले हाजिर गराउने हो स्पष्ट पार्न मागसमेत गरे ।
देशलाई जिबी राईको लोकेशन नभइ जिबी राई नै चाहिएको महामन्त्री शर्माले स्पस्ट पारे । मलेसियाबाट कसैलाई पक्रिएर नेपाल ल्याउन दुई देशका बीचमा सुपूर्दगी सन्धी नचाहिने पनि उनको दाबी छ । जबकि गृहमन्त्री रविले भने सुपूर्दगी सन्धी नभएकै कारण जिबीलाई समात्न नसकेको भन्दै आएका छन् ।
विश्वप्रकाशको भनाई
सहकारी ठगिमा फरार भएको व्यवसायिक साथीलाई सहकारी ठगिमै अनुसन्धानको दायरामा रहेका गृहमन्त्रीजीले गिरफ्तार गर्नुछ । त्यसैले लोकेशन पत्ता लागिसक्यो भनेर माइकबाटै फुक्नुको अर्थ के हुन्छ ? अभियुक्त पक्रिने यो नयाँ शैली हो ? केटाकेटीपन हो ? या भगाउने नियत हो ? देशलाई जिबिको लोकेशन चाहिएको होइन । देशलाई जिबी राई चाहिएको हो ।
अब त्यो लोकेशनमा गेट बनाएर, कार्पेट ओछ्याएर अनि बल्ल द्विपक्षीय वार्ता हुने हो ? यो प्रश्न गर्न चाहान्छु । गृहमन्त्रीले लोकेशन पत्ता लागिसक्यो भनेको ४ दिन भयो । लोकेशन पत्ता लागिसकेपछि पनि ४ दिन किन लाग्छ ? लोकेशन पत्ता लागिसकेको भनेको जिबि राईलाई के भगाउनलाई हो माइकबाट फुकेर लोकेशन पत्ता लाग्यो रे भनेर स्टन्टबाजी गर्ने ? कि सरकार चाँडै नै जिबि राईलाई हाजिर गराउँदैछ ? देशलाई जिबिको लोकेशन चाहिएको होइन । जिबि राई चाहिएको हो ।
टिप्पणीहरू