संसदका कर्मचारीको तलबसहित शैक्षिक भत्ता र खाजा खर्च बढ्दै

संसदका कर्मचारीको तलबसहित शैक्षिक भत्ता र खाजा खर्च बढ्दै

तलब सुविधा बढाउनुपर्ने माग गर्दै आन्दोलनमा उत्रिएका संसद सचिवालयका कर्मचारीको माग सरकारले सम्बोधन गर्ने भएको छ । ११ बुँदे मागसहित केही समयदेखि आन्दोलनरत कर्मचारी युनियनका प्रतिनिधि र सरकारका प्रतिनिधिबीच आज भएको वार्तामा सात बुँदे सहमति भएको छ । 

जसअनुसार संसद सचिवालयका कर्मचारीको आवास भत्ता,शैक्षिक भत्ता र खाजा खर्च बढ्ने भएको छ । सहमतिपत्रमा राजपत्राङ्कित कर्मचारीको लागि मासिक तीन हजार पाँच सय र राजपत्र अनङ्कित कर्मचारीको लागि तीन हजार रुपैयाँ आवास भत्ता वृद्धि गर्ने उल्लेख छ । 

त्यस्तै,शैक्षिक भत्तामा तीन सय रुपैयाँसहित खाजा खर्चमा दैनिक सय रुपैयाँ वृद्धि गर्ने र सो रकम मासिक रुपमा प्रदान गर्ने सहमति पनि भएको छ । यता,राजपत्र अनङ्कित पाँचौ श्रेणी श्रेणीविहीन पदमा कार्यरत कर्मचारीहरु सेवाबाट अनिवार्य अवकाश हुँदा तृतीय श्रेणीमा बढुवा हुने कानूनी प्रावधानबमोजिम बढुवा भएका कर्मचारीहरुलाई खाइपाइ आएको तलबमान नघट्ने गरी अवकाशपश्चात् सेवासुविधा प्रदान गर्ने पनि सहमतिपत्रमा उल्लेख छ ।

 

साथै, हलुका सवारी चालकको छैठौंस्तरको तलबमान निर्धारण गर्ने, संघीय संसद विकास कोष, कर्मचारी कल्याण कोषलगायत कोषहरु सञ्चालन गर्न वा संसद सचिवालयको तर्फबाट सम्बोधन हुनुपर्ने मागहरुका सम्बन्धमा सरकारले आवश्यक सहजीकरण गर्ने समेत भनिएको छ । 

सहमतिपत्रमा कानून, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरी, संसद सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयसहित कर्मचारी युनियनका तर्फबाट अध्यक्ष गोविन्दप्रसाद बेल्वासे, सदस्य सदन राई र विनोद न्यौपानले हस्ताक्षर गरेका छन् ।

टिप्पणीहरू