पत्रकार निष्कासनविरुद्ध गम्भीर चेतावनी

पत्रकार निष्कासनविरुद्ध गम्भीर चेतावनी

एभिन्यूज टेलिभिजनले पत्रकारहरुलाई निष्कासन गरेपछि श्रमजीवी पत्रकार संघ, नेपालले विरोध जनाएको छ । ७७ जिल्लाका पत्रकार र ब्यूरो प्रमुखहरुलाई बिना कारण कामबाट निकालिएपछि संघले गम्भीर आपत्ति जनाएको छ ।

ऐनविपरीतको कार्य तत्काल नरोकेमा दबाबमूलक आन्दोलन, व्यवस्थापकको निवास घेराउ, भण्डाफोरलगायत कार्यक्रम गर्ने चेतावनी दिइएको छ । ‘एभिन्यूज टेलिभिजनको व्यवस्थापन पक्षले एक्कासी देशभरका एभिन्यूज पत्रकारहरुलाई बिना जानकारी, बिना कारण निष्काशन गरेकोमा गम्भीर ध्यानाकर्षण भएको छ । ७७ जिल्लाका पत्रकार र ब्यूरो प्रमुखहरुलाई अनाहकले निष्काशन गर्ने व्यवस्थापन पक्षको गैरकानुनी कदमको संगठन घोर भत्र्सना गर्दछ’, संघले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 

टेलिभिजनले जिल्ला संवाददाताहरुलाई ऐनले तोकेबमोजिम सेवासुविधा नदिएको, अवकाश लिनेहरुले पनि ऐनअनुरुप सेवासुविधा नपाएको, श्रम अदालतको फैसला कार्यान्वयन नगरेको, पारिश्रमिक रोकेर राखेकोलगायतका गुनासो आएको संघले बताएको छ । त्यस्तै, संघले त्यस्ता कार्य स्वीकार्य नहुने भन्दै व्यवस्थापन पक्षको ध्यानाकर्षण गराएको छ । 

भनिएको छ, ‘ऐनले तोकेबमोजिम एभिन्यूजमा कार्यरत जिल्लाका पत्रकारहरुको वर्षौंदेखिको सेवासुविधा नदिएको, यसअघि अवकाश लिनेहरुलाई ऐनअनुरुप तोकेको सेवासुविधा भुक्तानी नगरेको, कोभिडको बेला जबरजस्ती निष्काशन गरेका साथीहरुलाई लामो समयसम्मको बाँकी बक्यौता भुक्तानी नदिएको, सम्मानित श्रम अदालतको फैसला कार्यान्वयन नगरेको, ६ महिना काम गरिसकेकालाई स्थायी नगरेको, २० वर्ष काम गरिसकेका श्रमजीवीलाई एकमुष्ट उपदान नदिएको, उपचार खर्च, संचित बिदाको हिसाब नगरेको विषयलाई लिएर एभिन्यूज टेलिभिजनमा कार्यरत श्रमजीवी पत्रकारहरुले यस संस्थामा गुनासो गर्नुभएको छ । त्यस टेलिभिजनले आफ्नो काम इमान्दारितापूर्वक गरिरहनुभएका श्रमजीवीहरुलाई पारिश्रमिक रोकेर राख्ने, श्रमजीवी पत्रकारसम्बन्धी ऐनमा उल्लेखित सेवासुविधा नदिने र ऐनविपरीतका कदम हामीलाई स्वीकार्य छैन ।’

संघले ऐनमा भएका प्रावधान निःशर्त कार्यान्वयन गर्न, श्रमजीवीहरुको बाँकी पारिश्रमिक अविलम्ब दिन र श्रमजीवीहरुले उठाएका मुद्दा तत्काल सम्बोधन गर्न पनि माग गरेको छ ।

टिप्पणीहरू