आधी वर्षमै सरकार उल्टिने हो र !
सरकारले आगामी आर्थिक वर्षको बजेट असार ७ गते संसद्बाट पारित गर्ने तयारी छ । अहिले मन्त्रालयगत छलफल भइरहेको छ । सामान्यतया बजेटलाई सत्तारुढले धुवाँदार समर्थन र विपक्षीले विरोध गर्ने पुरानै चलन हो तर यो पटक अलि फरक देखिएको छ । सत्तारुढ दलकै सांसदहरूले विरोध गरिहेका छन् । प्रमुख प्रतिपक्षी दल बरु नरम देखिन्छ । हुन त गठबन्धन सरकार भएकाले सबै दलको चित्त बुझ्दैन ।
पक्ष र विपक्षमा आएका सबै धारणाको चिरफार गर्न त सम्भव नहोला तर पनि केही प्रतिनिधि धारणा उल्लेख गर्न प्रयास गरिएको छ । शुरुमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसद एवं महामन्त्री गगनकुमार थापाले जेठ २३ गते राखेको धारणा सुनौं । उनले बजेट ल्याए पनि कुनै दलले स्वामित्व नलिएको टिप्पणी गरे ।सैद्धान्तिक छलफलमा भाग लिँदै थापाले बजेटको आलोचना गर्दा आफ्नै बोली गलपासो बन्ने खतरा औंल्याए । गत वर्ष कांग्रेस अर्थमन्त्री डा. प्रकाशशरण महतले ल्याएको बजेट प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उत्कृष्ट रहेको टिप्पणी गरेको स्मरण गर्दै बजेटको माइबाप शुरुमै नहुने देखिएको बताए । ‘२०८०/०८१ को माइबाप कोही नरहेको धेरै पछि आएर मात्र थाहा भयो तर २०८१/०८२ को माइबाप कोही नहुने त शुरुमै पत्तो पाइयो,’ थापाले भने । ‘यो बजेटमाथि बोल्ने कसरी भनेर अल्मलिएको छु । यो बजेटमा केही मिल्दैन भनेर बोल्नुपर्ने हो । त्यसरी बोलौं, यतिधेरै उथलपुथल भएको छ, ६—८ महिनापछि हामीले नै काँध हाल्नुपर्ने हो कि ? आफ्नै बोली गल्पासो हुने हो कि ? त्यसैले मैले अर्थमन्त्रीलाई सामान्य प्रश्नमात्रै सोध्छु ।’
उनै थापाले शनिबार काठमाडौंमा आयोजित एउटा कार्यक्रममा एमाले र अध्यक्ष केपी शर्मा ओलीले सरकारको कामको स्वामित्व लिन नखोजेको आरोप लगाए । बजेट माओवादी पार्टीको जस्तो भएको बताएका ओली र एमाले सर्लक्कै पन्छिन खोजेकाले पनि आफ्नो आरोप पुष्टि हुने थापाको दाबी छ ।
यो दाबी सही सावित हुने बाटोमा छ । जेठ १९ गते संसदीय दलको बैठक बोलाएर केपी शर्मा ओलीले २०८१/८२ को बजेटप्रति असन्तुष्टि मात्र जनाएनन्, बजेट अर्थमन्त्री र माओवादीतिर ढल्किएको आरोपसमेत लगाए । त्यसपछि जेठ २० गते सञ्चारकर्मीसँग बजेटमा पर्याप्त छलफल नै नभएको गुनासो गरे । शनिबार पनि संसदीय दलको बैठकमा असन्तुष्टि रोकिएन । शनिबार त उनले बजेट कति ठीक, कति बेठीक त्यसमा छलफल गर्नुपर्ने हुन्छ भन्दै एक/दुईजनाको मुख हेरेर सरकारमा छौं भन्दै देश गरिबीतिर गए पनि के भयो र भन्न नहुने तर्क गरे ।
अनि आफैंले गोजीबाट मन्त्री बनाएकाहरूलाई प्रश्न गरे–‘आफ्नो पार्टीले चलाइरहेका मन्त्रालयको स्थिति, मन्त्रालयमा बजेट विनियोजन कस्तो छ ?’ ओलीले यसको समीक्षा गर्न जरुरी रहेकोमा समेत जोड दिए । अनि आफ्ना सांसदहरूलाई मन्त्रालयगत बजेट विनियोजनबारे खुलेर छलफल गर्न निर्देशन दिए । अर्थात बजेटको आलोचना गर्न बाटो खुला गरिदिए । त्यसो त अहिले एमालेले ८ वटा मन्त्रालय चलाइरहेको छ । आर्थिक वर्ष २०८१/०८२ मा एमालेले सम्हालेका मन्त्रालयमा मन्त्रालयगत बजेट कति विनियोजन भएको छ त ? त्यो अंकमा हेरौं । बजेटको मर्ममा जान त सकिन्न ।
भौतिक पूर्वाधार तथा यातायात – १ खर्ब ५० अर्ब ५३ करोड रूपैयाँ
कृषि तथा पशुपक्षी विकास– ५७ अर्ब २९ करोड रूपैयाँ
खानेपानी– २६ अर्ब ६३ करोड रूपैयाँ
उद्योग, वाणिज्य तथा आपूर्ति– ९ अर्ब २८ करोड रूपैयाँ
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण– ६ अर्ब ८२ करोड रूपैयाँ
महिला, बालबालिका तथा ज्येष्ठ नागरिक– १ अर्ब ६० करोड रूपैयाँ
कानून, न्याय तथा संसदीय मामिला– ५४ करोड ५३ लाख रूपैयाँ
मन्त्रालयगत आधारमा कम बजेट विनियोजन भएकोमा अध्यक्ष ओलीको असन्तुष्टि देखिन्छ । यही देखाएर कांग्रेस महामन्त्री थापाले भनेझैं ओली बजेटमा स्वामित्व नलिने दाउमा पुगेका हुन् कि !
बजेटमा एमाले असन्तुष्ट हुनुका पछाडि सत्ता–राजनीति र अर्थ–राजनीति दुबै स्वार्थ जोडिएको छ । एमाले नेताहरूको अभिव्यक्तिबाटै प्रष्ट हुन्छ– यो बजेटमा एमाले अध्यक्ष ओलीको व्यक्तिगत र केही पार्टीगत पपुलिष्ट कार्यक्रम समावेश गर्न चाहन्थ्यो । तर त्यो नभएपछि एमाले अर्थमन्त्री वर्षमान पुनसँग बिच्किएको देखिन्छ । यतिमात्र होइन बजेटमा जनयुद्ध शब्द लेखिएको तर सुखानीका शहीद, मदन भण्डारी लगायतका विषयलाई संबोधन नगरिएकोमा पनि एमाले असन्तुष्ट छ ।
सरकारले जेठ १५ गते चालु आर्थिक वर्षको तुलनामा ६ दशमलव २ प्रतिशतले बढाएर १८ खर्ब ६० अर्ब ३० रूपैयाँको बजेट ल्याएको हो । चालुतर्फ ११ खर्ब ४० अर्ब ६६ करोड, पुँजीगततर्फ ३ खर्ब ५२ अर्ब ३५ करोड र वित्तीय व्यवस्थापनतर्फ ३ खर्ब ६७ अर्ब १८ करोड रूपैयाँ विनियोजन गरिएको छ । आगामी आर्थिक वर्षका लागि विनियोजित रकम चालु वर्षको संशोधित अनुमानभन्दा २१ दशमलव ५६ प्रतिशत बढी हो । बजेटमा १२ खर्ब ६० अर्ब ३० करोड रूपैयाँ राजश्व संकलनको लक्ष्य लिइएको छ । यस्तै वैदेशिक अनुदान ५२ अर्ब ३३ करोड, वैदेशिक ऋण २ खर्ब १७ अर्ब ६७ करोड र आन्तरिक ऋण ३ खर्ब ३० अर्ब रूपैयाँ उठाउने लक्ष्य लिइएको छ । आगामी आर्थिक वर्ष ६ प्रतिशत आर्थिक वृद्धि हुने र मुद्रा स्फीति ५.५ प्रतिशतमा सीमित रहने अनुमान छ ।
यस्तै, सरकारले आगामी आर्थिक वर्षमा समानीकरण अनुदान, समपूरक अनुदान, सशर्त अनुदान र विशेष अनुदानका साथै राजश्व बाँडफाँटबाट प्रदेश र स्थानीय तहलाई ५ खर्ब ६७ अर्ब रूपैयाँ दिने घोषणा गरेको छ । आगामी वर्ष समानीकरणबाट प्रदेशलाई ६० अर्ब रूपैयाँ र स्थानीय तहलाई ८८ अर्ब रूपैयाँ विनियोजन गरिएको छ । विशेष अनुदानको रूपमा प्रदेशलाई ४ अर्ब रूपैयाँ र स्थानीय तहलाई ८ अर्ब रूपैयाँ छुट्याइएको छ । यस्तै प्रदेश र स्थानीय तहलाई राजश्व बाँडफाँडबाट १ खर्ब ५९ अर्ब रूपैयाँ हस्तान्तरण हुनेछ । सशर्त अनुदानअन्तर्गत प्रदेशलाई २५ अर्ब ८४ करोड रूपैयाँ र स्थानीय तहलाई २ खर्ब ८ अर्ब ८८ करोड रूपैयाँ विनियोजन गरिएको छ । समपूरकअन्तर्गत प्रदेशलाई ६ अर्ब तथा स्थानीय तहलाई ७ अर्ब रूपैयाँ दिन लागिएको छ । सरकारले हरेक वर्ष ल्याउने बजेट ऋणं कृत्वां घृतम् पिवेत शैलीकै हुन्छ । यो पटक पनि त्यसले नै निरन्तरता पाएको हो ।
संघको बजेटमा मात्रै हैन, प्रदेशमा पनि गठबन्धन सरकार छ । सातै प्रदेशले असार १ गते बजेट प्रस्तुत गरिसकेका छन् । प्रदेशहरूमा पनि सत्तारुढ दलबाटै बजेटको आलोचना भइरहेको छ । बागमती प्रदेशको बजेटप्रति त मुख्यमन्त्री शालिकराम जम्कट्टेलले नै असन्तुष्टि जनाएका छन् । यसलाई के भन्ने ? संघमा एमालेले बजेटको विपक्षमा मतदान गरेर असफल पार्छ त ? त्यो सम्भावना देखिन्न । किनकि एमाले अहिलेको गठबन्धन आफ्नै बलबुतामा बनेकाले यसलाई जसरी पनि जोगाउनु पर्छ भनिरहेछ । त्यसो हो भने बजेटको आलोचना किन त ? आफैं धामी आफैं ... हो त ? होइन भने बजेट ल्याउने, कार्यान्वयन गर्न नसक्ने प्रवृत्तिको चाहिँ अन्त्य गर्न लाग्नुपर्यो नि !
(साभार:जनआस्था साप्ताहिकबाट)
टिप्पणीहरू