पूर्वमन्त्री जोशीविरुद्धको मुद्दा दुई दशकपछि बल्ल ‘वारपार’

पूर्वमन्त्री जोशीविरुद्धको मुद्दा दुई दशकपछि बल्ल ‘वारपार’

पूर्वमन्त्री गोविन्दराज जोशीविरुद्ध दायर भएको भ्रष्टाचार मुद्दामा सर्वोच्च अदालतले असार १३ गते बिहीबार फैसला सुनाउने भएको छ ।

२१ वर्ष पुरानो यो मुद्दाको सुनुवाइ सकिएपछि न्यायाधीशहरु विनोद शर्मा र बालकृष्ण ढकालको संयुक्त इजलासले फैसला सुनाउने दिन तय गरेको हो । ‘भिआइपी’ प्रतिवादी रहेको यो मुद्दामा गत १ जेठदेखि निरन्तर सुनुवाइ चलिरहेको थियो । 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जोशीविरुद्ध २०६० साल पुस १८ गते गैरकानूनी सम्पत्ति (अकुत) आर्जन गरेको अभियोगमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो । उनले ३ करोड ९३ लाख ६२ हजार ५७६ रुपैयाँ भ्रष्टाचार गरेको अभियोग लागेको छ । 

विशेष अदालतका अध्यक्ष गौरीबहादुर कार्की, सदस्यहरु ओमप्रकाश मिश्र र केदारप्रसाद चालिसेको इजलासले २०६९ सालमा जोशीलाई भ्रष्टाचारी ठहर गरेको थियो । विशेषको फैसलाविरुद्ध जोशीले २०६९ मै सर्वोच्चमा पुनरावेदन दिएका थिए ।

"बाह्र वर्षमा आठ प्रधानन्यायाधीश फेरिइसकेका छन् । कतिपयको मृत्युसमेत भइसकेको छ । मुद्दाको पेशी सूची हेर्दा अहिलेसम्म ७२ जना न्यायाधीशको इजलासमा सुनुवाईका लागि तोकिएको देखिन्छ ।"

जोशीको गैरकानुनी सम्पत्ति आर्जनको मुद्दा सर्वोच्चमा आएपछि बाह्र वर्षमा आठ प्रधानन्यायाधीश फेरिइसकेका छन् । कतिपयको मृत्युसमेत भइसकेको छ । मुद्दाको पेशी सूची हेर्दा अहिलेसम्म ७२ जना न्यायाधीशको इजलासमा सुनुवाईका लागि तोकिएको देखिन्छ । जसमध्ये ३६ पल्ट दुई न्यायाधीश संलग्न संयुक्त इजलासमा मुद्दा पेसी चढे पनि विभिन्न कारण दर्शाउँदै सुनुवाइ हट्दै आएको थियो ।  

मुद्दा स्थगित हुने,कानुन व्यवसायीले पेशी हटाउने, अख्तियारले फाइल नपठाउने,पालो नआउने भएर गिजोलिँदै अन्तिम पटक २०७६ कात्तिक १७ गते सुनुवाइका लागि पेशी तय भएको थियो । अहिले पाँच वर्षपछि आएर बल्ल पेशी तोकिएर ‘हेर्दाहेर्दै’ को अवस्थामा सुनुवाई सकेर फैसलाको मिति तय भएको हो । 

रेकर्ड हेर्दा १० पटकसम्म सरकार पक्षले नै पेसी सारेको देखिएको छ । जोशीका कानुन व्यवसायीले चार पटक सारेको र १५ पटकसम्म हेर्न नमिल्ने न्यायाधीशको इजलासमा परेको देखिन्छ । ९ पल्ट ‘हेर्न नभ्याइने’ सूचीमा परेको थियो । 

स्मरणीय छ, तत्कालीन कांग्रेसका नेता जोशीसँगै मुद्दा चलाइएका जेपी गुप्ता, खुमबहादुर खड्का र अन्य प्रतिवादीहरूको फैसला भई कैद भुक्तानसमेत गरिसकेका छन् । कांग्रेस नेता तथा पूर्वमन्त्री खड्काको मृत्यु भैसकेको छ ।

टिप्पणीहरू