अदालतले समात् भन्ने, पुलिसले गाह्रो मान्ने

अदालतले समात् भन्ने, पुलिसले गाह्रो मान्ने

नेपाली कांग्रेस, रामेछापका डेढ दर्जन नेता–कार्यकर्ताविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । रामेछाप जिल्ला अदालतले गत शुक्रबार पुर्जी काटेको हो । यससँगै जिल्लामा नेताहरूको भागदौड मच्चिएको छ । केही भने बागमती प्रदेशका डिआइजी विष्णुकुमार केसीको शरणमा पुगेका छन् । अदालतको पक्राउ पुर्जी प्रहरीले रोकिदिएपछि जिल्लामा हल्लाखल्ला मच्चिएको छ । घटना जेठ ५ गतेको हो । काँग्रेसको भातृ संगठन आदिवासी जनजाति महासंघको प्रथम जिल्ला अधिवेशन आयोजना गरिएको थियो । सुनापति र खाँडादेवी गाउँपालिकाको संगमस्थल ग्याल्बा बजारमा आयोजित कार्यक्रममा काँग्रेसको दुवै खेमा पुगेका थिए ।

उद्घाटन सत्रका क्रममा विवाद हुँदा कुटाकुट र भागदौड मच्चियो । महाधिवेशन प्रतिनिधिसमेत रहेका नेता भरतप्रसाद चौलागाईं र वरिष्ठ नेता वीरबहादुर तामाङको समूहबीच हात हालाहाल भएपछि प्रहरी नै बोलाउनुपरेको थियो । त्यतिबेला आसन ग्रहणको विषयलाई लिएर विवाद भएको बताइन्छ । चौलागाईंको समूहले पहिले आसन ग्रहण गर्नुपर्ने, आफूहरूले मन्तव्य राखिसकेपछि मात्र अरुले बोल्न पाउनेलगायतका कुरा निकालेपछि अर्को समूहले आपत्ति जनाएको थियो । त्यसपछि चौलागाईंको समूहले २८–२९ जना बाहुबली बोलाएको स्रोत बताउँछ । कार्यक्रमकै बीच ठूलो झडप हुँदा केही नेता कुटिए भने केहीलाई कार्यकर्ताले लखेटेका र केही गम्भीर घाइते भएका थिए । चौलागाईं समूहले घटनाको भिडियो पनि बनाएको थियो । सो भिडियो काटकुट पारेर सामाजिक सञ्जालमा शेयर गरिएको तामाङ समूहको दाबी छ । घटनालगत्तै चौलागाईं समूह ज्यान मार्ने उद्योगसम्बन्धी जाहेरी लिएर जिल्ला प्रहरी कार्यालय, रामेछाप पुग्यो ।

वीरबहादुर तामाङसहित १० जनालाई प्रतिवादी बनाइएको जाहेरी प्रहरीले दर्ता गर्यो । यता, तामाङ समूह पनि चौलागाईंसहित आठ जनालाई विपक्षी बनाएको जाहेरी लिएर प्रहरीकहाँ गयो । तर, प्रहरीले दर्ता गर्न नमानेपछि उनीहरूले हुलाकमार्फत र आफैं उपस्थित भएर जिल्ला सरकारी वकिल कार्यालयमा उजुरी दर्ता गराए । उजुरीमा चौलागाईंसहित काँग्रेस महासमिति सदस्य जितेन्द्रकुमार मोक्तान, जिल्ला उपसभापति नवराज थोकर, जिल्ला सचिव विनोद कार्की, बागमती प्रदेश सदस्य जितबहादुर मगर, रामेछाप प्रदेश ‘ख’ क्षेत्रीय सचिव बेनबहादुर थापामगर, पूर्व जिल्ला सचिव विष्णु बस्नेत, नेविसंघ केन्द्रीय सदस्य चन्द्रबहादुर थापा मगरलाई प्रतिवादी बनाइएको छ ।

उनीहरूलाई मुलुकी अपराध संहिता २०७४, परिच्छेद १२ को दफा १८३ उपदफा (१) बमोजिम ज्यान मार्ने उद्योगसम्बन्धी कसूरमा हदैसम्म कारबाहीको माग गरिएको छ । त्यस्तै, उनीहरूले श्यामलाल योन्जनको साथमा भएको ९० हजार रूपैयाँ र हातमा लगाएको सात तोला सुनको ब्रास्लेटसमेत चोरी गरेको तामाङ समूहको आरोप छ ।

उजुरी दर्ता भएका दुई समूहको सबैविरुद्ध पक्राउ पुर्जी जारी भइसकेको छ । तर, एक जना मात्र पक्राउ परेका छन् । वीरबहादुरलाई गत जेठ २६ गते प्रहरीले नियन्त्रणमा लिएको छ । अन्यलाई पक्राउ गर्न आलटाल गरिरहेको छ । आफ्नो समूहको नेतालाई मात्र पक्राउ गरेको भन्दै राजकुमार मोक्तानले आपत्ति जनाएका छन् । डिआइजी केसीको आदेशले चौलागाईं समूहका एक जनालाई पनि पक्राउ नगरिएको उनको आरोप छ ।

‘वीरबहादुर तामाङ जनजातिको नेता हुनुहुन्छ । सो दिन जनजातिको कार्यक्रम थियो । सबै जना उपस्थित भयौँ । उहाँहरूले पहिले आफ्नो समूहले आसन ग्रहण गर्न पाउनुपर्ने, आफ्नो समूहले बोल्न पाउनुपर्ने भन्नुभएपछि विवाद भएको हो । सो क्रममा हातपात पनि भयो । उहाँहरूले गुण्डा पनि बोलाउनुभएको थियो । दुवै समूहको घाइते भएका थिए । तैपनि, हामी चुप लागेर बस्यौं । उहाँहरू नै प्रहरीकहाँ पहिले जानुभयो, अनि हामी पनि गएका हौं । हाम्रो समूहबाट एक जना समातिनुभएको छ । उहाँहरूको समूहबाट कोही पनि समातिएको छैन । चौलागाईंले डिआइजीलाई फोन गरेर पक्राउ पुर्जी रोकिदिनु भनेको जानकारी पाएको छु’, उनले भने ।

यता, जिल्ला प्रहरी कार्यालय, रामेछापले सो विषय अनुसन्धानको क्रममा रहेको जनाएको छ । सूचना अधिकारी कौशल न्यौपानेले पक्राउ पुर्जीको विषयमा केही पनि बोल्न नमिल्ने बताए । ‘पक्राउ पुर्जीको विषयमा म केही भन्न सक्दिन । अहिले अनुसन्धान भइरहेको छ । एक जना पक्राउ पर्नुभएको छ’, उनले भने । चौलागाईंले भने पक्राउ पुर्जी जारी भएको विषयमा केही जानकारी नभएको दाबी गरे । आफू कार्यक्रममै नगएको उनले बताए । कार्यक्रममा जाँदै गर्दा बीच बाटोमा झडप भएको थाहा पाएपछि आफू फर्किएको उनी बताउँछन् । आफ्नो राजनीति सकाउनका लागि प्रतिशोध साँधिएको उनको भनाइ छ ।

‘म कार्यक्रममा गएकै छैन । हामी बीच बाटोमा थियौं, त्यहाँ झडप भएको खबर आयो । त्यसपछि फर्कियौं । धमिलो पानीमा माछा मार्ने काम रामेछापमा धेरै हुन्छ । मेरो राजनीतिक करियर सकाउन खोजिएको हो, अरु केही होइन । मलाई उजुरी परेको, पक्राउ पुर्जी जारी भएको केही थाहा छैन,’ उनले भने ।

एकपछि अर्को विवाद

चौलागाईंविरुद्ध यसअघि पनि उजुरी परेको थियो । चौलागाईंले करोडौं रूपैयाँ ठगी गरेको भन्दै ललितपुरको महालक्ष्मी नगरपालिका–८ का सानुभाइ थापाले प्रहरी गुहारेका थिए । उनले दिएको ८० लाख रूपैयाँको चेक बाउन्स भएपछि थापा प्रहरीकहाँ पुगेका हुन् । जग्गा कारोबारका लागि चौलागाईंले थापासँग तीन करोड ९२ लाख रूपैयाँ लिएका थिए । उनले अर्को तीन करोड १२ लाख रूपैयाँको पनि चेक दिएका थिए । तर, त्यो पनि साटिएन । उनीमाथि अन्यले पनि बैंकिङ कसूरको आरोप लगाएका छन् ।

टिप्पणीहरू