अदालतमा यस्तो खेलाँची अचाक्ली

अदालतमा यस्तो खेलाँची अचाक्ली

अन्यायमा परेकालाई न्याय दिनुपर्ने अदालतले नै अनेक नाममा दुःख दिन थालेपछि पीडित न्याय खोज्न कहाँ जाने ? न्याय माग्दै अदालतको ढोका ढक्ढकाउँदा ढक्ढकाउँदै थकित भइसकेकी आस्था बस्नेतको प्रश्न हो यो । 

सरकारको कर्मचारीबाट यौन हिंसा पीडित उनलाई अदालतले पनि धुरुक्कै बनाएको छ । लगातार पेशी स्थगित हुँदा  साह्रै तनाव छ । बलात्कारजस्तो संवेदनशील मुध्दालाई अदालतले हलुका रुपमा लिएको आस्थाको गुनासो छ । 

मध्यपहाडी लोकमार्ग आयोजनाका निर्देशक इञ्जिनियर हरिकुमार पोखरेलको घरमा काम गर्न बसेकी आस्थामाथि उनै पोखरेलले यौन शोषण गरेका थिए । काठमाडौं जिल्ला अदालतका न्यायाधीश भोलानाथ ढकालको इजलासले गत भदौमा पोखरेललाई जबरजस्ती करणीको अभियोगमा पुर्पक्षका लागि जेल चलान गर्न आदेश दिएको छ ।

 

पोखरेल हाल सुन्धारास्थित केन्द्रीय कारागारमा छन् । उनले बाहिर बसेर मुध्दा लड्न पाऊँ भन्दै उच्च अदालत, पाटनमा रिट निवेदन दिएका थिए । तर, उच्चले जिल्लाकै आदेशलाई सदर गरिदिएको अवस्था छ । यता,जिल्ला अदालतले मुद्दाको अन्तिम फैसला गर्न ढिलासुस्ती गरिरहेको आस्था बताउँछिन् । हालसम्म दुई दर्जनभन्दा बढीपटक उक्त मुध्दाको पेशी चढिसकेको छ ।

‘उतापट्टी १७–१८ जना अधिवक्ता हुनुहुन्छ । सँधै एक–एक जना बिरामी भइरहनुहुन्छ अनि पेशी स्थगित गराइन्छ । त्यत्रो हुलका एक जना बिरामी हुँदैमा पेशी स्थगित गराउनुपर्ने हो ? पीडितलाई कति पीडा दिन जानेका हुन् । दिनकै अदालत धाउँदाधाउँदै म थकित भइसकेँ’,उनले दुःखेसो पोखिन् । 

तर,प्रतिवादीतर्फको आग्रहमा सँधै पेशी स्थगित हुँदै आएको छ । गत असार ४ गतेका लागि तोकिएको पेशी प्रतिवादीतर्फको अधिवक्ता अकस्मात "बिरामी" परेपछि स्थगित गरिएको थियो । हिजो पनि सोही बहाना बनाएर पेशी स्थगित गरिएको छ । 

‘उतापट्टी १७–१८ जना अधिवक्ता हुनुहुन्छ । सँधै एक–एक जना बिरामी भइरहनुहुन्छ अनि पेशी स्थगित गराइन्छ । त्यत्रो हुलका एक जना बिरामी हुँदैमा पेशी स्थगित गराउनुपर्ने हो ? पीडितलाई कति पीडा दिन जानेका हुन् । दिनकै अदालत धाउँदाधाउँदै म थकित भइसकेँ’,उनले दुःखेसो पोखिन् ।

 

अघिल्लो दुईपटकको पेशी न्यायाधीश दुर्गा खड्काको इजलासमा परेको थियो । प्रतिवादीको तर्फबाट अधिवक्ता राधिका खतिवडाको नेतृत्वमा डेढ दर्जन अधिवक्ताको टोली खडा छ । वादीको तर्फबाट अधिवक्ता बद्री भुसाल र इन्द्र अर्याललगायत भिड्दैछन् । 

मुध्दा लम्बिँदा आफूलाई गरिखान पनि गाह्रो भएको आस्था बताउँछिन् । त्यस्तै, पोखरेलका परिवारले फोन गरेर धम्काउने,तर्साउने गरेको उनले बताइन् । भन्छिन्,‘मुध्दा लम्बिदाँ मलाई धेरै समस्या भएको छ । न गरिखान पाएकी छु । पहिला वकिल स्वयं बिचौलिया बनेर आएका थिए । अहिले पनि नयाँ–नयाँ नम्बरबाट फोन आउँछ,धम्काउँछन्,तर्साउँछन् । मेरो जीऊज्यानको सुरक्षा कसले लिने ? मलाई कतै जान पनि डरमर्दो छ ।’

पोखरेललाई छुट्याउन उनका दाजु फणिन्द्रमणि पोखरेल जोडतोडका साथ लागेको बताइन्छ । फणिन्द्र गृह मन्त्रालयको प्रवक्तासमेत रहिसकेका छन् ।

टिप्पणीहरू