घण्टीमा खरो उत्रने महामन्त्रीलाई सह्राउँदै रास्वपाका थप नेता

घण्टीमा खरो उत्रने महामन्त्रीलाई सह्राउँदै रास्वपाका थप नेता

सभापति रवि लामिछानेको एकछत्र चल्दै आएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा महामन्त्री डा. मुकुल ढकालको प्रतिवेदनले हलचल ल्याएको छ । ढकालले पार्टीको अवस्था निकै कमजोर रहेको विश्लेषणसहितको प्रतिवेदन ल्याएपछि रास्वपाको आन्तरिक किचलोसमेत क्रमश: प्रकट हुन थालेको छ । 

यसैबीच केन्द्रीय सदस्य गणेश कार्कीले महामन्त्री ढकाल आफ्नै लाइनमा आएको प्रतिक्रिया दिएका छन् । पार्टीभित्र मौलाउँदै गरेको सत्तामुखी प्रवृत्तिमाथि निर्मम टिप्पणी गर्दै आएका उनले ढिलै भए पनि महामन्त्रीले उक्त कुरा बुझेको बताए । 

इलाम-२ को उपचुनावमा अनपेक्षित नतिजा ल्याएको रास्वपाले देशभरको अवस्था बुझ्न महामन्त्री ढकाललाई खटाएको थियो । ३८ जिल्लाका नेता-कार्यकर्ता,समर्थक,शुभचिन्तक र स्थानीय जनतासँग अन्तरक्रिया गरी काठमाडौँ फर्किएका ढकालले हिजो साँझ सभापति लामिछानेलाई 'समीक्षा प्रतिवेदन' बुझाएका छन् । 

'सँगसँगै प्रश्न छन्,यो अवस्थामा पुग्यो कसरी ? संगठन अस्थिर र जथाभावी कसले बनायो ? आफ्नालाई अवसर दिन विधि मिचिमिचि पार्टी कार्यालयमा नै आन्दोलन समेत गर्न उक्सायो कसले ?'

प्रतिवदेनमा ढकालले पार्टीको अवस्था अत्यन्त खराब रहेको र यही अवस्था रहे आगामी निर्वाचनमा अस्तित्व जोगाउनसमेत कठिन हुने कठोर विश्लेषणसहितको तथ्य प्रस्तुत गरेका छन् । प्रतिवेदन बुझाउनुअघि उनले पार्टी दुर्घटनामा पर्दैछ भन्दा आफ्नो महामन्त्री पदको हत्या हुनसक्ने चिन्तासमेत गरेका थिए । 

उक्त प्रसंगमा केन्द्रीय सदस्य कार्कीले आलोचनात्मक हुँदैमा पार्टीले कारवाही गर्दैन भन्ने उदाहरण आफैँ भएकाले नआत्तिन सुझाएका छन् । 'पार्टी कोही व्यक्तिको अस्तित्व र गल्तीको भारीमा थिचिएर सकिँदैन । अनि,प्रश्न गर्दैमा, आलोचना गर्दैमा रास्वपामा पददेखि घोक्र्याइँदैन भन्ने सबुत प्रमाण म छु । नाजायज काम गरेकाहरू मात्र हुन् विचारसँग डराउने !', उनले सामाजिक सञ्जाल फेसबुकमा टिप्पणी लेख्दै भनेका छन् ।

त्यस्तै,कार्कीले महामन्त्रीको समझदारीपनलाई स्वागत पनि गरे ।  'पार्टीको विधि,चरित्र र बाटोको बारेमा मैले उठाइरहेको विषयमा आइपुग्नु भएकोमा स्वागत छ', उनले भनेका छन्, 'सँगसँगै प्रश्न छन्,यो अवस्थामा पुग्यो कसरी ? संगठन अस्थिर र जथाभावी कसले बनायो ? आफ्नालाई अवसर दिन विधि मिचिमिचि पार्टी कार्यालयमा नै आन्दोलन समेत गर्न उक्सायो कसले ?'

टिप्पणीहरू