भक्तपुरमा अचम्मको हेलिप्याड,जर्किनमा फ्युल ओसारपसार

भक्तपुरमा अचम्मको हेलिप्याड,जर्किनमा फ्युल ओसारपसार

नागरिक उड्डयन प्राधिकरणले बनाएर उद्घाटनसमेत गरिसकिएको  भक्तपुरको नलिन्चोकस्थित हेलिप्याडमा फ्युल सेन्टर नभएपछि हेलिकोप्टर कम्पनीहरु मर्कामा परेका छन् । अर्कोतर्फ जर्किनमा हवाई इन्धन भरेर लैजाँदा इन्धनको गुणस्तर, हेलिकोप्टरको सुरक्षा र महँगो लागत बढिरहेको छ ।

यता नेपाल आयल निगमले सुरक्षाका कारण तत्काल फ्युल सेन्टर स्थापना गर्न नसकिने बताएको छ । हेलिप्याडमा फ्युल सेन्टर नभएको,त्रिभुवन विमानस्थलमा अवतरण गर्न नपाइने,अवतरण गरे पनि आउजाउमा इन्धन खर्च हुने भएपछि हेलिकोप्टरहरुका निम्ति इन्धन ग्यालनमा भरेर लैजानुपर्ने अवस्था उत्पन्न भएको छ ।

नागरिक उड्डयन प्राधिकरणले हेलिप्याड उद्घाटन हुनु केही घण्टा अगाडि मात्रै निगमलाई पत्र पठाएको थियो । प्राधिकरणका महानिर्देशकको सन्की निर्माण र अविवेकी निर्णयका कारण नलिञ्चोकमा अवतरण तथा पार्किङ गरिने डेढ दर्जन हेलिकोप्टरलाई इन्धनको जोहो मुश्किलले हुने गरेको अवस्था छ ।

अर्कोतर्फ नलिन्चोकका स्थानीयको विरोध र हेलिकोप्टर कम्पनी तथा पाइलटको असन्तुष्टिका कारण महानिर्देशक अधिकारीले हेलिप्याड सञ्चालनमा ल्याएका थए । हेलिप्याडमा टर्मिनल भवन बनाइएको छैन । वरिपर नजिकै घरहरू रहेकाले सुरक्षाको दृष्टिकोणले उक्त ठाउँ उपयुक्त नरहेको निश्कर्ष निकालिएको छ ।

महानिर्देशक प्रदीप अधिकारीले असार ७ गते हतारमा हेलिप्याड उद्घाटन गराएका थिए । त्यो दिन संस्कृति,पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङलगायतका सरकारी अधिकारीहरु त्रिभुवन विमानस्थलबाट हेलिकोप्टर चढेर भक्तपुरको नलिञ्चोक गएका थिए । त्यसपछिदेखि सबै हेलिकोप्टरलाई त्यहाँ सारिएको हो ।

टिप्पणीहरू