निजामती कर्मचारीलाई सम्पत्ति विवरण बुझाउन निर्देशन

निजामती कर्मचारीलाई सम्पत्ति विवरण बुझाउन निर्देशन
सुन्नुहोस्

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले निजामती कर्मचारीहरुलाई सम्पत्ति विवरण बुझाउन निर्देशन दिएको छ । 

मन्त्रालयअन्तर्गत राष्ट्रिय किताबखाना (निजामती) ले आज सार्वजनिक सूचना निकाल्दै आर्थिक वर्ष २०८०-०८१ को सम्पत्ति विवरण पेश गर्न भनेको हो । 

भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ५० को उपदफा (१) तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा ३१ (क) को उपदफा (१) र निजामती सेवा नियमावली, २०५० को नियम ११८ (१) मा प्रत्येक निजामती कर्मचारीले आर्थिक वर्ष समाप्त भएको मितिले ६० दिनभित्र आफ्नो सम्पत्ति विवरण सम्बन्धित कार्यालयमार्फत किताबखानामा दर्ता गराउनुपर्ने व्यवस्था छ । 

सोहीअनुरुप किताबखानाले आव २०८०-०८१ मा सेवा निवृत्त भएका कर्मचारीलाई समेत तोकिएको सीमाभित्र सम्पत्ति विवरण पेश गर्न भनेको छ । 

त्यस्तै, कर्मचारी समायोजन ऐन, २०७५ बमोजिम संघ, प्रदेश र स्थानीय तहमा समायोजन भएका सरकारी कर्मचारीहरुले किताबखानामा नै यस्तो विवरण बुझाउनुपर्नेछ । 

अध्ययन, असाधारण र अन्य बिदा, तालिम, काज वा निलम्बनमा रहेका कर्मचारी पनि सार्वजनिक पद धारण गरेकै अवस्था हुने भएकोले सम्पत्ति विवरण पेश गर्नुपर्ने सूचनामा उल्लेख छ ।

टिप्पणीहरू