राष्ट्रपतिका छोरा जंगलमा नांगै फेला
कसको कमजोरीले विदेशमा नेपालको यति ठूलो बेइज्जति ?
त्यसै त व्यवस्था फेरिँदा पनि अवस्था फेरिएन । त्यसमाथि हिजो राजा–महाराजाका सन्तानका अनेकन अस्वाभाविक गतिविधिबाट आजित जनताले फेरि पनि देशका उच्चपदस्थ पदाधिकारीका सन्तानद्वारा विदेशीका अगाडि देखाइएको लाजलाग्दो गतिविधिको समाचार सुन्नुपर्ने भएको छ ।
अन्तर्राष्ट्रिय श्रम संगठनको ११२ औं अधिवेशनमा भाग लिन जेठ ३० गते स्विट्जरल्याण्ड पुग्नुभएका राष्ट्रपति रामचन्द्र पौडेल असार १ गतेदेखि त्यताबाटै जर्मनीको औपचारिक भ्रमणमा जानुभयो । राष्ट्रप्रमुखको हैसियतमा सन् १९८६ मा राजा वीरेन्द्रले गरेको जर्मनी भ्रमणपछि राष्ट्रपति पौडेल ३८ वर्षपछि त्यहाँ पुग्नुभएको हो । त्यहाँको बसाई, भेटघाट र खानपान सबै राम्रा भए । तर, भ्रमणका सम्पूर्ण तालिकालाई बिर्साउने गरी उहाँ फर्किने दिन बर्लिन विमानस्थलमा छोरा चिन्तन पौडेलले देखाएको अस्वाभाविक गतिविधि देखेर नेपाली त लज्जित भए नै, जर्मनी सरकारका प्रतिनिधि र सुरक्षाकर्मी पनि जिब्रो टोक्ने अवस्थामा पुगे ।
राति राजदूत रामकाजी खड्काको निवासमै बसेका राष्ट्रपतिपुत्र चिन्तनले त्यहाँ राति के खाए वा के–के भयो भन्ने कुरा त अहिलेसम्म बाहिर आएको छैन । तर, अघिल्लो दिनसम्म राम्रो व्यवहार, बोलिसहित पेश भएका उनी बुबा रामचन्द्रसहित फर्किनुपर्नेमा शरीरका कपडा, मोबाइल, पर्स र विभिन्न कार्डहरू फ्याँक्दै अर्धचेतस्थितिको व्यवहारमा उत्रिए । बर्लिनको जंगलमा पुगेर नांगै उफ्रिए । बुबाकै राजकीय भ्रमण टोलीको सदस्यका रूपमा गएका उनी फर्किनुअघि यसरी पेश हुँदा प्रहरीको फन्दामा परे र अस्पतालमा भर्ना गराइए ।
राष्ट्रपति स्वदेश फर्किनुअघि उहाँको सम्मानार्थ दूतावासले आयोजना गरेको खानपिनकै क्रममा केही अस्वभाविक रूपमा प्रस्तुत भइरहेका थिए । नेपाल फर्किने टोलीसँगै विमानस्थलका लागि निस्किए । अरु जहाज चढे, उनीचाहिँ विमानस्थलमै हराए । यसपछि उनको खोजीमा राजदूत रामकाजी, उनकी बहिनी अवज्ञा, राजदूत पत्नी र खानपिनको व्यवस्थापन गर्ने रेष्टुरेण्ट व्यवसायी दिल गुरुङसम्मले पाउनुसम्मको दुःख पाए ।
स्विट्जरल्याण्डबाट जर्मनी पुग्दासम्म, अर्थात् पाँच दिन राष्ट्रपतिका हैसियतले बुबाको भ्रमण एकदमै राम्रो भएको बताउने चिन्तन आफैंचाहिँ फर्किनुपर्ने दिन होश गुमाउने स्थितिको कारण अझै खुलिसकेको छैन । उनको हालत खराब भएकैले लण्डनस्थित पत्नी नविता हत्तपत्त जर्मनी पुग्नुपरेको थियो । नविता पूर्वसचिव युवराज भुसालकी एकमात्र छोरी हुन् । चिन्तन र नविता इञ्जिनियरिङ अध्ययनका क्रममा पहिलादेखि नै लण्डन बस्दै आएका छन् । चिन्तनचाहिँ बुबा शक्तिमा रहेकै कारण कहिले वैकल्पिक उर्जा प्रवद्र्धन केन्द्रको कार्यकारी निर्देशक त कहिले गरिव घरपरिवार पहिचान परिचयपत्र वितरण समन्वय बोर्डको कार्यकारी प्रमुखमा नियुक्ति पाउँदै आएका व्यक्ति हुन् ।
राष्ट्रपतिसँगै नेपाल फर्किनका निम्ति विमानस्थल पुगेको, तर जहाजमा नचढेको सूचना पाएलगत्तै अतिथि सत्कारमा संलग्न दिल गुरुङले प्रहरीमा अनुसन्धान माग गर्दै एफआरआई दर्ता गरे । त्यसपछि चिन्तनलाई खोज्न विमानस्थल पुग्दा त्यहाँ उनको गाडीको चाबी, पासपोर्ट, कार्ड र सबै पैसा सबै फालिएको बुझियो । तर, मान्छे भेटिएनन् ।
नेपाल फर्किनुअघि दूतावासमै दिइएको भोजको अघिल्लो दिन उनलाई दिल गुरुङले आफ्नै होटेलमा बस्न आग्रहसहित त्यहीँ खानाका लागि अनुरोध गरे । भनेका थिए, ‘फुटबल हेरम्, यतै बसम् न !’ उनले मानेनन्, राजदूतसँगै जान्छु भने । त्यसबेला ठूलो पानी परिरहेको थियो । एनआरएन नेताहरू कुल आचार्य, विश्व पण्डितहरू पनि सँगै थिए । उनीहरू त्यसै दिन लण्डन फर्किने कार्यक्रम थियो । पानी परेकै कारण साँझ ७–८ बजेतिर ट्याक्सी बोलाएर विमानस्थलतिर लागे । जहाजचाहिँ राति दश–साढे दशतिर उडेको खबर आयो ।
चिन्तन पनि हिँडेपछि दिलसँग तत्काल सम्पर्क भएन । उनी चार–पाँच दिनदेखि राष्ट्रपतिको खानपिन व्यवस्थापनमा निकै व्यस्त थिए । अन्तिम दिन पनि भोजमा सय जनाका लागि अर्डर गरिएको थियो । तर, मान्छे थपिने अनुमानपछि १५ युरोमा एक सय २० जनाका लागि दश प्रकारको खाना बनाइयो । राष्ट्रपतिका निम्ति उहाँ बसेकै होटेलमा खाना ल्याइदिनु भनिएपछि उहाँसँगै सुरक्षाकर्मी र चिकित्सकका निम्ति खाना पुर्याइयो । उक्त भोजका निम्ति सबैलाई फोन गर्ने क्रममा राजदूत पत्नीले जर्मनीमै रहेकी राष्ट्रपति पुत्री तथा चिन्तनकी बहिनी अवज्ञालाई पनि खबर गरेकी थिइन् । तर, त्यसरी चिन्तनले भोजकै क्रममा गरेको व्यवहार ठीक नभएको उनैले स्थानीय नेपालीसँग भन्ने गरेकी छन् । नोकरजस्तो व्यवहार गर्ने, जथाभावी बोल्नेजस्ता काम चिन्तनबाट भएको उनको गुनासो थियो । त्यसपछि दिललाई अवज्ञाले फोन गरेर भनिन्, ‘दाजु हाइटेम्परको भएका कारण यस्तो भएको हुनुपर्छ ।’ यति कुरा भइसक्दा राजदूतसहितको टोली पाहुनालाई बिदा गर्न विमानस्थल पुगिसकेको थियो ।
चिन्तनले प्रयोग गरेको मोबाइल अफ थियो । दिलले राजदूतको नम्बरमा फोन गरेर चिन्तनसँग कुरा गर्न खोजे । फोन लिएपछि उल्टै निहुँ खोज्न थाले । बेलुकीको भोजका क्रममा रिजर्भ टेबुल कसले राख्न लगाएको भनी झर्किंदै प्रश्न गरे र, फोन फुत्त फ्याँकिदिए । त्यसपछि भोजका क्रममा लगिएका आफ्ना सामान फिर्ता ल्याउने कामका लागि दिल दूतावासतिर लागे । दूतावास पुग्न नपाउँदै फोन आयो, चिन्तन हराएको भनेर । नेपाल जाने दुई जहाजमध्ये उनी दुबैमा फेला नपरेको खबर थियो । एउटा उडान साढे एक बजेको र अर्को साढे तीन बजेको थियो । तर, दुबै प्लेनमा उनी नउडेको भन्ने खबरपछि फोनका घण्टी बज्ने क्रम पनि बढ्यो । निकटस्थ विश्व, कुल आचार्य, उनकै पत्नीसहित नगेन्द्र श्रेष्ठ र जर्मनीबाट दिल गुरुङ खोजीमा जुटे । शुरुमा विमानस्थलमै बुझ्ने काम भयो । केही न केही भएको कुरा त राजदूतको भनाइबाटै थाहा पाइसकेका थिए । राजदूतले आफ्नो कूटनीतिक अधिकार प्रयोग गरेर भित्रसम्मै खोज्नसक्ने कारण खोजीका निम्ति उनलाई पनि त्यहाँ आउन अनुरोध गरियो ।
तर, उनी ढिला पुगे । साँझ साढे सात बजे ‘अन द वे’ भन्दै थिए, अरुचाहिँ पुगिसकेका थिए । उनी पुग्दा रातको साढे दश बज्यो । विमानस्थल छिर्दा रातिको ११ भन्दा बढी समय भइसकेको थियो । शुरुमा उनीहरूले टर्मिनल टु मा खोजे, भेटिएनन् । त्यसपछि टर्मिनल वनमा गए । प्रहरीले चिन्तन त्यहाँबाट दिउँसो ३ : ४५ मै निस्किएको बताए । त्यो सूचना गलत थियो । किनभने, उनलाई उक्त समयभन्दा अघि १५ देखि २० मीनेट खोजिएको थियो । यसपछि विमानस्थलमै खोजौं भन्ने दिलको प्रस्ताव रह्यो । राजदूत रामकाजीले भने, ‘अब कहाँ यहाँ भेटिन्छ र’ भन्दै आफू पन्छिए । दिलहरू फेरि टर्मिनल टुमा गएर २०–२५ मीनेट खोजीमा जुटे । नभेटिएपछि फर्किए । राजदूत घरतिर लागे, अरु त्यतै खोज्न भनेर हिँडे ।
यसपछि रातिको साढे दुई बजेतिर फेरि चिन्तनकी पत्नीको फोन आयो । एउटा बक्सभित्र चिप राखिएको रहेछ । त्यही आधारमा लोकेशन ट्र्याक गरियो । त्यसमा उनी बर्लिनभन्दा टाढा भएको देखियो । यसपछि एउटा ट्याक्सी लिएर दिल रातिको बिहान, अर्थात् ३–४ बजेको आसपास ट्रयाक भएको ठाउँमै पुगे । उक्त ट्रयाक बक्स पुलिस स्टेशनमा रहेछ । त्यहाँ पुगेपछि थाहा भयो, चिन्तनलाई अस्पतालमा राखिएको रहेछ, हत्कडीसहित । केही बेरमै पत्नी नविना पनि पुगिन् । बुबालाई विमानस्थलमा छोडेर चिन्तन राजदूत निवासमा बस्न भनी गएका थिए । उनका सामानचाहिँ दूतावासको गाडीमा थियो ।
उनलाई फेला पारिएको अस्पतालमा भेटिँदा स्वास्थ्यमा सुधार आइसकेको थियो । त्यसपछि एउटा ह्वील चेयरमा राखेर निकाल्न खोजियो । तर, प्रहरी आएर रोके । उनीहरूले भनेअनुसार, उनले चार–पाँच दिन पहिला पनि यस्तै हर्कत गरेका रहेछन् । त्यसदिन राति साढे ११ बजेसम्म विमानस्थलको टर्मिनल टुमै रहेछन् । त्यहाँ चिन्तनले विभिन्न नाटक गरेपछि प्रहरीले नै डाक्टर बोलाए । प्रहरी पुगेपछि झनै लफडा गरे । त्यसबेलासम्म उनको साथमा झोलादेखि सबै सामान थियो । पछि घडी हरायो, प्यान्ट छैन र राति ३ बजे प्रहरीले जंगलमा नांगै भेट्यो । उनले यस्तो अस्वभाविक काम किन गरे ? राजदूत निवासमा बस्दा के खाएका थिए ? भनेर सोधखोज शुरु भयो । राजदूतले जम्मा एक ग्लास वाइन पिएको सुनाए । तर, एउटै ग्लासको वाइनले त्यत्रो तमाशा कसरी गरायो ? प्रश्न अझै अनुत्तरित छ ।
चिन्तनसँग होश हुँदा दश हजार पाउण्ड थियो । सबै पैसा हरायो । दुईदिनपछि प्रहरीमा लिखित निवेदन दिइयो । त्यसपछि प्रहरीले उनी भेटिएको ठाउँमा गएर हेर्यो । त्यहाँ नजिकै रेष्टुरेण्ट छ । उनले आफ्नो नेपाली राहदानी त्यहीँ छाडेका थिए । उक्त राहदानी फिर्ता लिइयो । सँगै गाडीको चाबी, आइफोन पनि भेटियो । चिन्तन आफैंले रेष्टुरेण्टमा दुई हजार पाउण्ड टिप्स दिएको भनेपछि अरु पैसाको खोजी भएन ।
विमानस्थलमा देखाएको अस्वभाविक व्यवहारका कारण विमानस्थल प्रशासनले उनलाई अब टिकटबिना भित्र छिर्न नदिने गरी एउटा चिट थमाएको छ । त्यसपछि उनी भेटिएको जंगलमा ट्रेन चढेर पुगेका रहेछन् । सामानजति विमानस्थलमै अलपत्र थिए । त्यसअघि उनीसँग विमानस्थलको ट्रान्जिटसम्म पुग्ने कार्ड भएको कुरा दूतावासका सवारी चालकले बताएका थिए । अस्पतालबाट डिस्चार्ज गरेपछि उनलाई लिन पुगेकी पत्नी नविताले आफूसँगै लण्डन लिएर गएकी छन् ।
काठमाडौंस्थित परराष्ट्र मन्त्रालयका एक सहसचिवले बताएअनुसार, जर्मनमा ४४ वर्षदेखि बस्दै आएका दिल गुरुङले दुःख पाउन तयार नभएको भए चिन्तन तत्काल नभेटिनसक्थे । उनले रात र दिन नभनी गरेको मेहेनतका कारण मात्र सजिलै फेला परेका हुन् । नेपालको मनाङ स्थायी ठेगाना भएका दिल नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री पाल्तेन गुरुङका भाइ हुन् ।
(सम्माननीय रास्ट्रपतिज्यूको सचिवालयलाई तथ्यको वस्तुनिस्ठ खण्डन र प्रकाशित समाचार असत्य सावित हुने प्रमाणहरु पेश गर्न विनम्र अनुरोध छ )
– विश्वमणि सुवेदी
टिप्पणीहरू