सत्ता फेर्ने मध्यरातको त्यो गोप्य सल्लाह

प्रचण्डलाई हटाउने छलफलमा ‘छक्का पञ्जा’ र ‘फटाहा’को प्रवेश

सत्ता फेर्ने मध्यरातको त्यो गोप्य सल्लाह
सुन्नुहोस्

‘चक्मा राजनीति’ को चतुर खेलाडी मानिँदै आउनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पहिलोपटक देउवा–ओलीको तर्फबाट संयुक्त चक्मा खानुपरेको छ । यस्तो घटनाले बूढानीलकण्ठस्थित चपली हाइटबाट जेठ २८ गते शुरु भई अस्ति (असार १७ मा) मूर्तता पाएको हो ।

विभिन्न जटिलतालाई फुकाउने सन्दर्भमा संविधान संशोधनसम्मका उद्देश्यसहित राष्ट्रिय राजनीतिले नयाँ बाटो पक्डिएको स्रोतहरूले जनाएका छन् । यस्तो अभ्यास ६ महिनादेखि नै गरिँदै आएको थियो । यद्यपि, मुख्य दल कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीको हिच्किचाहटका कारण परिपक्व हुन पाएको थिएन । नत्र, एमाले–माओवादी समीकरण बन्ने बेलादेखि नै एकथरि नेताहरू यस्तो अभ्यासमा जुटिरहेका थिए । 

त्यसो त मुख्य दुई प्रतिस्पर्धी दलबीच सत्ता गठबन्धनका निम्ति सहकार्य हुनुलाई संसदीय राजनीतिको नैतिकताका दृष्टिले पनि उचित मानिँदैन । यस्तोखाले दुर्लभ राजनीतिक अभ्यासले मुलुकका केही साझा कार्यभार भने अन्यौलमा पर्ने संकेत देखिन्छ । वर्षाैंदेखि हलो अड्काएर राखिएको विषय हो, सशस्त्र द्वन्द्वकालीन घटनाको व्यवस्थापन र शान्ति प्रक्रियाका बाँकी कामलाई सम्पन्न गर्ने टिआरसी विधेयक । तत्कालका लागि उक्त विषय पेचिलो त बन्यो । तर, ०४७ सालमा न्यायाधीश विश्वनाथ उपाध्यायलाई संविधान सुझाव आयोगको अध्यक्ष बनाइएजस्तै अहिले कल्याण श्रेष्ठलाई अगाडि सारेर संविधान संशोधन गरिने सहमति जुटेको छ । 

अर्कातिर, दुई पार्टी मिलेर सुविधाजनक बहुमत प्राप्त हुने स्थितिमा बाँकी सम्पूर्ण राजनीतिक दल प्रतिपक्षी बेञ्चमा पुग्ने भएका छन् । वा, अब बन्ने सरकारमा कांग्रेस र एमालेले ‘माया गरिदिएर’ कुनै दललाई सामेल गरे अर्कै कुरा, नत्र सरकार गठन गर्न चाहिने संख्याको पर्याप्तता दुई दलसँग प्रष्टै छ । यसले प्रदेशपिच्छे दुई दलीय समीकरणलाई सहज बनाएको छ। 

यसबीच विकसित विभिन्न घटनाक्रमका अर्थ पनि विभिन्न ढंगले लगाइँदै आएको थियो । यसक्रममा प्रचण्ड कांग्रेस सभापति शेरबहादुर देउवासँग संवादमै हुनुहुन्थ्यो । यही कुरा बुझेर एमाले अध्यक्ष केपी ओलीले पनि कुराकानीको सिलसिला शुरु गर्नुभयो । भनिन्छ, प्रतीक थापा र बेचन झालाई भारतबाट समातेर ल्याइसकेपछि देउवासँग प्रचण्डको प्रस्ताव थियो, ‘एमालेलाई बाहिर राखेर फेरि कांग्रेससहितको गठबन्धन बनाउने !’ राजनीतिक परिदृश्यमा प्रचण्डको चलाखीबाट नेपाली कांग्रेसले एकचोटि हैन, दुई वर्षका बीचमा दुई–दुईपटक धोका खाइसकेको थियो । ०७९ को निर्वाचनमा कांग्रेससँगको गठबन्धनबाट हासिल परिणामलाई बोकेर प्रचण्ड मंसिरमा एमालेको समर्थनसहित प्रधानमन्त्री हुन जानुभयो । र, करिव दुई महिनाको राजनीति कांग्रेसबिना नै चलाउने प्रयास सफल भएन ।

फेरि सरकारबाट एमाले बाहिरिने र कांग्रेस भित्रिने काम भयो । यो समीकरण एक वर्ष कायम रह्यो र फेरि बीचैमा प्रचण्डले एकाएक कांग्रेससँगको सहयात्राबाट विश्राम लिनुभयो । एमालेसँग सत्तासाझेदारी जारी नै हुँदा घरी कांग्रेससँग एमालेलाई हटाएर जाने प्रस्ताव, घरी ओलीलाई आफू नेतृत्वको गठबन्धनबाटै प्रधानमन्त्री बन्न प्रस्ताव गरिरहनुभयो । कांग्रेसले उहाँको कुरा पत्याएन र प्रयास गरिएको एक महिना पनि नपुग्दै प्रचण्ड–ओलीबीचको सहयात्रा टुटेको छ ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा फरार अभियुक्त बेचन झालाई पक्राउ गरिएको कुरा १५ गते पुष्टि गरियो । त्यसअघि उनी भारतबाट नेपाल ल्याइएका थिए । भनिन्छ, देउवापत्नी डा.आरजुदेखि नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौला र ओलीका स्वकीय सचिव राजेश बज्राचार्यसँग सघन सम्पर्कमा रहेका बेचन पक्राउको झड्का स्वयं प्रचण्डका निम्ति महँगो परेको छ । बेचन पक्राउपूर्व कैलालीको टीकापुरस्थित ६ सय कठ्ठा सरकारी जमिन आरजुको समूहले हत्याउन खोजेको भन्दै प्रहरीको टोली त्यता पठाएर एउटा मुद्दा तयार पारिँदै थियो । उता प्रचण्ड र रविले विभिन्न मुद्दा र घटनालाई देखाउँदै कांग्रेस र एमालेसँग बराबरी संवाद गरिरहनु, अर्कातिर प्रचण्डलाई पत्तो नदिई देउवा र ओली चपलीतिर भेटिरहनुका बीचमा अहिले विकसित राजनीतिक घटनाक्रमको पटाक्षेप भएको हो । 

गत शुक्रबार, अर्थात् १४ गते भारतबाट बेचनलाई ल्याइएलगत्तै प्रचण्डले देउवासँग सत्तासमीकरण फेरेर जाने प्रस्ताव राख्नुभयो । तर, त्यसबारे कुनै जवाफ नदिनुभएका देउवाले खबर गरेबमोजिम भोलिपल्टै, अर्थात् असार १५ का दिन ओलीले बालकोटमा बोलाएरै निर्णायक वार्ता थाल्नुभयो । यसका निम्ति रोजिएको ठाउँ थियो, बूढानीलकण्ठस्थित गणेश चोक (चपली) बाट भंगालतर्फ जाने बाटोमा रहेको क्याप्टेन रामेश्वर थापाको घर । त्यहाँ जेठ २८ देखि शुरु भएको देउवा–ओली संवादको तेस्रो श्रृंखलापछि अस्ति १७ गते अन्तिम छलफल भएको हो । सोमबार रातिको अन्तिम छलफल चपलीमै चल्यो । र, दुबै दलका नेताहरू सवा १ बजे त्यहाँबाट निस्किएपछि राष्ट्रिय राजनीति तरंगित भयो । मध्यराति एमाले र कांग्रेसबीच सरकार साझेदारीका आधारभूत विषयमा हस्ताक्षर भयो । 

पछिल्लो छलफलको शुरुमा ओलीले देउवालाई प्रधानमन्त्री बन्न आग्रह गर्नुभयो । देउवाले पहिलो कार्यकाल ओली र त्यसपछि आफू हुने बताउनुभयो । र, त्यही निश्कर्षसहित नेताहरू आ–आफ्नो बाटो लागे । त्यसो त ओलीलाई ६ महिनापछि प्रचण्डले नै प्रधानमन्त्री छाडिदिने पूर्वसहमति थियो नै । सोमबारको सहमतिमा नेपाली कांग्रेसबाट रमेश लेखक र एमालेबाट शंकर पोखरेल साक्षी बसेका थिए । घरधनी क्याप्टेन रामेश्वर थापा पनि त्यसका साक्षी हुन् । कुराकानीका क्रममा पहिला एमाले उपाध्यक्ष विष्णु पौडेल एकैछिनलाई पुगेका थिए तर उनी केही समय बसेर निस्किए । त्यसपछि एमालेकै रमेश बडाल वार्तामा सामेल भए । 

रविः छक्कापञ्जा
चपली बसाइका सिलसिलामा ओली र देउवाले वर्तमान सत्तासाझेदार दलका नेताबारे मज्जैले चर्चा गर्नुभयो । यसक्रममा गृहमन्त्री रवि लामिछानेको नाम आउँदा ओलीले भन्नुभयो, ‘त्यो त छक्कापञ्जा हो ! ’ ओलीको कुरा सुनेपछि देउवाले ‘फटाहा हो फटाहा’ भन्दा गलल हाँसो छुटेको थियो । 

बजेटदेखि व्यवहारसम्म 
प्रचण्डको व्यवहारमात्रै हैन, बजेटसम्मका विमतिसहित उहाँको सरकार समस्यामा परेको कांग्रेस–एमाले नेताको बुझाई छ । अहिले बजेटमार्फत नै एनसेलको राजस्व मिनाहा गरी एक–डेढ अर्ब तिरे पुग्ने व्यवस्था गरिएको छ । बरु, देउवासँग भेटे त्यतै ठिक्क, ओली भेटे त्यतै लपक्क हुने दोहोरो चालाको मारमा प्रचण्ड पर्नुभएको केही नेताको भनाइ छ ।

(साभार:जनआस्था साप्ताहिकबाट)

टिप्पणीहरू