मध्यरातको उथलपुथलमा को कुहिराको काग ?

मध्यरातको उथलपुथलमा को कुहिराको काग ?
सुन्नुहोस्

असार १७ गते सोमबार मध्यरात नेपाली काँग्रेस र एमालेबीच नयाँ राजनीतिक समीकरण बनाएर सरकार गठन गर्ने सहमति भएपछि विभिन्न दल र तिनका नेताले उत्पन्न परिस्थितिवारे आफ्नै खाले व्याख्या र विश्लेषण गरेका छन् ।

सोमबार बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई बालुवाटारमा भेटेलगत्तै नयाँ दिल्ली गएपछि माओवादी नेतृ पम्फा भुसाललाई भारतीय संस्थापन पक्षसँग कुरा गर्न बालुवाटारले खटाएको चर्चा एमाले र काँग्रेस वृत्तमा राम्रैसँग चलाइएको थियो ।

तर,जनआस्थासँगको कुराकानीमा भुसालले आफू नितान्त निजी स्वास्थ्य परीक्षण र उपचारको क्रममा उता पुगेर शुक्रबार राती फर्केको जानकारी दिएकी छन् । ‘म आफ्नै स्वास्थ्य उपचारको कामले उता गएँ,तर यता हुँदो नहुँदो हल्ला गरिएछ । मैले चिन्दै नचिनेको अमेरिकी नागरिक चार्ल्स मेण्डिजसमेतलाई जोडेर नयाँ दिल्ली यात्राबारे एमालेनिकट मिडियाले भयानक हल्ला गरेछन्,’ उनले भनिन् । मेन्डिज विगतमा क्रिश्चियन धर्म प्रचार गरेको आरोपमा पटक पटक पक्राउ परेका थिए ।

माओवादी अर्का एक नेताका अनुसार यसवीच राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री डा.मुकुल ढकालको यात्रा रिपोर्ट र असार १५ गते बालकोटमा भएको काँग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीचको आकस्मिक भेटघाटबारे चनाखोपूर्वक विश्लेषण गर्दै त्यसबारे नेताहरुले शनिबार रातिदेखि नै प्रधानमन्त्री तथा माओवादी अध्यक्ष प्रचण्डसँग सोधनी गरेका थिए ।

माओवादी नेताहरु पछिल्लो राजनीतिक समीकरणमा काँग्रेस र एमालेलाई एकै ठाउँमा ल्याउन दक्षिणको हात रहेको आशंका गर्दै भन्छन्, ‘हामीलाई उताको निकटस्थ बन्न खोजेको आरोप लगाउँदै ओली र देउवा आफू नजिकिने प्रतिस्पर्धामा लागेको भान हुन्छ । ठूलै दबाब वा स्वार्थ बिना रातारात बालकोट र बूढानीलकण्ठको हात्तिगौँडामा मिलन सम्भव भएकै हैन । यो त्यही ठाउँ हो जहाँको मुलीले "र"प्रमुख सामन्त गोयललाई मध्यराती बालुवाटार लगेर केपी ओलीसङ्ग ४ घण्टा वार्ता गराएका थिए ।’

प्रधानमन्त्री तथा पार्टी अध्यक्ष प्रचण्डले राजनीतिक दल र तिनका नेताहरुबीच खेल्ने र खेलाउने क्रमलाई अलि बढी महत्व दिनुभएकाले पनि परिस्थिति बिग्रेको माओवादी एक थरी नेताहरु बताउँछन् । प्रधानमन्त्रीले अलि बढी चलखल नगरेको भए र कहिले देउवा, कहिले ओलीतिर नलागेको भए सम्भवतः पछिल्लो घटना यति छिटो विकसित नहुने उनीहरुको ठहर छ । 

प्रधानमन्त्रीले अलि बढी चलखल नगरेको भए र कहिले देउवा,कहिले ओलीतिर नलागेको भए सम्भवतः पछिल्लो घटना यति छिटो विकसित नहुने उनीहरुको ठहर छ ।

 

पहिलेको फरक समीकरणको अनुभवबारे विश्लेषण गर्दै माओवादी एक जना पदाधिकारीले भने, ‘सरकार चलाउन काँग्रेससँग कम्फर्टेबल हुन्छ भने चुनाव मिलेर लड्न एमालेसँग सजिलो छ । एमालेको समर्थनमा सरकार चलाउन फलामको चिउरा चपाएजस्तो भएको हुनुपर्छ प्रधानमन्त्रीलाई ।’

सत्ता गठबन्धनमा दरार उत्पन्न भएपछि माओवादी र एकीकृत समाजवादीहरुले पुनः समाजवादी मोर्चाको औचित्य देख्न थालेका छन् । अहिलेको अवस्थामा यो मोर्चाको पनि कुनै प्रभावकारिता नदेखिएको तर विपक्षी मोर्चामा उभिँदा यदाकदा काम लाग्ने विश्लेषण आवद्ध दलका नेताले गर्न थालेका छन् । 

एक जनाले यथार्थ विश्लेषण भन्दै बताए, ‘सच्चा कम्युनिष्ट भए पो वाम गठबन्धन हुनु ! व्यवहारमा समाजवादी भए पो समाजवादी मोर्चाको औचित्य देखिनु ! भन्ने एउटा,गर्ने अर्को भएपछि यी सबै अविश्वासी औजारको के काम ?’

संविधान संशोधनको क्रम नटुंगिएसम्म केपी ओलीको नेतृत्वमा गठन हुने सरकार कायम रहनेमा पनि धेरैले आशंका गरेका छन् । हिन्दु धर्म, संघीयता,मधेश,जनजाति,संसदीय निर्वाचन क्षेत्रमा जनसंख्याको प्रतिनिधित्व,सांसद र स्थानीय तहको संख्यालाई मिलाउन राजनीतिक दलहरुबीचको सहमति भ्यागुताको धार्नी हुने निश्चित छ । त्यसैले संविधान संशोधनको विषयलाई पण्डोराको बक्स खुलेको रुपमा लिन थालिएको छ । 

एकातिर ओलीलाई प्रधानमन्त्री बन्ने रहर जागेको र अर्कोतिर एकथरि छिमेकीलाई दुई ठूला दल मिलाइदिँदा केही फाइदा हुने अवस्था सिर्जना भएकोले सोमबार रातिको सहमति निश्कर्षमा पुगेको माओवादी नेताहरुको बुझाइ छ  । ‘विद्यालाई अध्यक्ष,आगामी केही वर्ष सत्तामा प्रचण्ड,२०८४ को चुनावपछि पूरै अवधि केपी भनेर विदेशी शुभचिन्तकहरुलाई मख्ख पारिएको रहेछ,’ माओवादी उच्च स्रोतले भन्यो, ‘तर,सोमबारदेखि आगामी दिनका लागि प्रधान शत्रु त एमाले र माओवादी पो भएको पाइयो !’ 

अघिल्लो चुनावमा एमाले महासचिव शंकर पोखरेल वामपन्थी सहकार्यबाट लुम्बिनीको मुख्यमन्त्री बन्न सफल भए पनि अहिले धरातल बिर्सेकोमा स्रोतले चित्त दुःखाएको छ । भन्छन्, ‘दुई राजनीतिक ध्रुविकरणको व्याख्या गर्दै अहिलेको समीकरणलाई निश्कर्षमा पुर्याए पनि आगामी निर्वाचनमा अरु नेताहरु विजयी हुँदा पोखरेललाई आफ्नो क्षेत्रबाट सांसद बन्न निकै कठिन पर्ने छ ।’

टिप्पणीहरू